रैथाने जातको कोदो लोप हुँदै

मीना बुढाथोकी, सल्यान । कुनै समयमा यस जिल्लाको अधिकांश स्थानमा प्रशस्त मात्रामा पाइने रैथाने जातको कोदो पछिल्लो समय लोप हुन थालेपछि कृषक चिन्तित हुन थालेका छन् । सहरीकरण, बढ्दो आधुनिकीकरण तथा खानपानमा परिवर्तन आउँदा जिल्लामा रैथाने जातको कोदो लोप हुदैं जान थालेको हो । कोदोमा प्रसस्त मात्रामा पौष्टिक तत्व आइरन अत्यधिक मात्रामा पाइने भए पनि यसको महत्व नबुझ्दा कोदो लोप हुन थालेको हो ।

कुनै समय सल्यानका अधिकांश किसानको खेतबारीमा कोदो खेती हुन्थ्यो तर पछिल्लो समयमा यसको महत्व नबुझ्दा कोदो लोप हुंदै गइरहेको बनगाड कुपिन्डे नगरपालिका–४ का किसान हिरालाल रानाले बताए । उनले भने, ‘अन्नहरूमध्ये स्वास्थ्यका लागि निकै फाइदाजनक मानिने कोदो हिजोआज मुस्किलले पाउने गरिएको छ । बुढापाकाले भनेअनुसार ०२९ सालमा भएको भोकमरी टार्न कोदो निकै प्रभावकारी मानिएको थियो तर आजभोलि त्यही भोकमरी टार्ने कोदो पाउनै मुस्किल छ ।’

पुराना अन्नबालीमा पोषक तत्वका विषयमा ज्ञान नहुँदा रैथाने जातका कोदो लोप हुन थालेको स्थानीय ठगेन्द्र पुनले बताए । परम्परागत तरिकाले खेती हुनु, दक्ष जनशक्ति विदेश पलायन हुनु, तथा सडकको विस्तारसँगै चामल, गहँु बाहिरबाट नै आउन थालेपछि कोदो खेती हराउँदै गएको पुनको भनाइ रहेको छ । उनले भने, ‘कृषि गर्ने तरिका परिवर्तन भयो, खेती गरिने बालीनाली पनि परिवर्तन हुदै जाँदा रैथाने जातका कालो कोदो, च्यु¥याल कोदोको बिउसमेत पाउन छाडेको छ । ‘जिल्लाको बन्गाड कुपिन्डे नगरपालिका र कुमाख गाउँपालिकामा सीमित मात्रमा मात्रै कोदो खेती हँुदै आइरहेको छ ।

पछिल्लो समय डल्ले कोदो, सानो कोदो, साउ कोदो, झाप्राक जातका विकासी कोदो लाउने गरेको भए पनि निकै कम मात्रामा लगाउने गरेका छन् । यता स्थानीय जनप्रतिनिधिहरूले स्थानीय जातलाई संरक्षण गर्ने प्रतिवद्धता व्यक्त गरी रहे पनि रैथाने जातहरू भने लोप हुँदै गएको भन्दै किसान चिन्तित बन्दै गएका छन् ।

प्रतिक्रिया