११ महिनामा १७ मानवअधिकार उल्लंघन

ताप्लेजुङ । जिल्लामा ११ महिनामा १७ ओटा मानवअधिकार विरुद्धका घटना भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले प्रस्तुत गरेको तथ्यांकअनुसार सन् २०१८ जनवरी १ देखि नोभेम्बर १५ सम्ममा १७ ओटा मानवअधिकार विरुद्धका घटना भएका हुन् । जसमध्ये सबैभन्दा बढी बलात्कारका घटना रहेका ताप्लेजुङ इन्सेक प्रतिनिधि देवराज गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार मानवअधिकार विरुद्धका घटना गत वर्षको भन्दा बढी पाइएको हो । महिला तथा बालबालिका बलात्कारको सिकार बनेको घटनाले छोरीचेली असुरक्षित बन्दै गएकाले यसतर्फ ध्यान केन्द्रित हुनुपर्ने प्रतिवेदनले औँल्याएको छ । १८ वर्षमुनिका ६ जना बालिका र १८ वर्षमाथिका ६ जना महिला बलात्कारमा परेका छन् । १ जना १८ वर्षमुनिका र ३ जना महिला बलात्कार प्रयासमा परेका छन् । बालविज्याँइमा परेका दुई जना बालक र गोबध हत्यामा एक जना गरी तीन जना बालकलाई मकवानपुर बालसुधार गृह पठाएको जिल्ला कारागारलाई उदृत गर्दै इन्सेकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

हाडनाता र चिनेजानेकाबाट नै बालिका÷महिला बलात्कृत भएको इन्सेक प्रतिनिधि गुरुङले बताए । यसैबीच बलात्कारका घटना बढ्नुमा मुख्य भूमिका सामाजिक सञ्जाल भएको सरोकारवालाले वताएका छन् । विषेश गरी बलात्कारका घटना किशोरावस्थामा हुने भएकाले त्यसमा सामाजिक सञ्जानको विशेष असर रहेको बताएका हुन् ।

जिल्ला सदरमुकाम फुङलिङमा आयोजना गरिएको जिल्लामा भएका मानवअधिकार विषयक वार्षिक समीक्षा कार्यक्रममा मानवअधिकारकर्मी, सुरक्षाकर्मी, पत्रकार लगायतको उपस्थिति रहेको थियो । नेपाल मानवअधिकार वर्ष पुस्तकमार्फत इन्सेकले सन् १९९२ देखि देशका सबै जिल्लामा भएका मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटना अभिलेखीकरण गर्ने गरेको छ ।

इन्सेकका ७७ जिल्लामा रहेका इन्सेक प्रतिनिधि वर्ष पुस्तकका आधारस्रोत हुन् । जिल्लामा भएका मानवअधिकारका घटनाको प्राथमिक सूचना संकलनपश्चात त्यस्ता घटनाको पुष्टि तथा पुनर्पुष्टिका लागि जनप्रतिनिधि प्रशासन, प्रहरी, दल, पत्रकार, मानवअधिकारकर्मी तथा संघसंस्थाको उपस्थितिमा वार्षिक समीक्षा गर्ने गरेको छ ।

मानवअधिकारसम्बन्धी विषयबस्तुका समाचार तथा तस्बिर इन्सेकको अनलाइनमा नेपाली र अगे्रजीमा समेत प्रकाशित हुँदै आएको छ । नागरिक तथा राजनीतिक अधिकार एवं आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका विषयमा केन्द्रित हुँदै स्वास्थ्य, शिक्षा, बालविवाह, बालमजदुर, घरेलु हिंसा, हत्या, जातीय भेदभाव इत्यादि विषयमा समीक्षा केन्द्रित बनेको थियो ।

प्रतिक्रिया