लिग नखेल्ने एनआरटीको चेतावनी

काठमाडौं । न्युरोड टिम एनआरटीले पल्सर सहिद स्मारक ’ए’ डिभिजन लिग नखेल्ने चेतावनी दिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले फिफा रेफ्री सुदिस पाण्डेलाई कारबाही नगरेको भन्दै एनआरटीले लिग नखेल्ने बताएको हो ।

एनआरटीले रेफ्री पाण्डेको गलत निर्णयका कारण लिगको पहिलो खेलमा बराबरी खेल्नुपरेको एनआरटीको दाबी छ । रेफ्रीलाई कारबाहीको मागसहित एनआरटीले एन्फामा निवेदन दिएको थियो । करिब महिना दिन बितिसक्दा समेत एन्फाले निवेदनको वेवास्ता गरेको एनआरटीको आरोप छ ।

गत असोज १३ गते सुरु भएको लिगको उद्घाटन खेलमा एनआरटी र विभागीय टिम त्रिभुवन आर्मी क्लबले २–२ गोलको बराबरी खेलेको थियो । अन्तिम समयमा गोलकिपरले धेरै समय बल होल्ड गरेको भन्दै रेफ्री पाण्डेले आर्मीलाई डिबक्स भित्र फ्रि किक दिएका थिए ।

त्यस्तै, पहिलो हाफमा आर्मीलाई दिइएको पेनाल्टीको निर्णय गलत भएको एनआरटीको जिकिर छ ।
क्लबले रेफ्रीको दुवै निर्णय एनआरटीलाई हराउने नियतले गरिएको भन्दै उचित छानबिन र कारबाहीको माग गर्दै एन्फामा उजुरी गरेको थियो ।

एनआरटी अध्यक्ष दिपकहर्ष बज्राचार्यले एन्फालाई कारबाही पत्रको विषयमा ध्यानाकर्षण गराए पनि उचित सम्बोधन नभएको बताए ।

‘हामीले अगाडिबाटै एन्फालाई भन्दै आएका छौं । तर, हाम्रो निर्णय एन्फाले सुनेको छैन,’ उनले खेलपाटीसँग भने, ‘एन्फाले निर्णय नलिए आगामी लिगमा हाम्रो सहभागिता रहने छैन ।’
अध्यक्ष बज्राचार्यले एन्फाले आफ्नो विषयलाई वेवास्ता गरेको बताउँदै आवश्यक निर्णय नभए लिग बहिष्कार गर्ने चेतावनी दिए ।

एन्फाले ’ए’ डिभिजन लिगका बाँकी खेल मंसिर १ गतेबाट सुरु गर्दैछ । लिग सुरु हुन ३ दिन मात्र बाँकी रहे पनि सो विषयमा अहिलेसम्म सहमति बनेको छैन ।

एन्फा महासचिव इन्द्रमान तुलाधरले एनआरटीको पत्रमा आन्तरिक छलफल भइरहेको बताउँदै चाँडै विवाद समाधान गरिने बताए ।

‘रेफ्रीको कारबाहीको विषय निकै संवेदनशील हो । छलफल अघि बढिरहेको छ । हामी सहमतिमा पुग्छौं,’ उनले भने ।
घटनाको विषयमा अनुसन्धान गर्न एन्फाले अनुशासन समितिलाई निर्देशन दिएको छ । निर्णयमा त्रुटि भेटिए आन्तरिक रूपमा कारबाही गर्ने एन्फाको तयारी छ ।

‘निर्णयको विषयमा पुनरावलोकन हुने कुनै सम्भावना रहँदैन । खेल दौरान गरिएको निर्णय फेरबदल हुदैनन् । तर, रेफ्रीको निर्णयमा त्रुटि एन्फाले आन्तरिक कारबाही गर्छ,’ एन्फाका एक पदाधिकारीले भने ।

‘कारबाही भनेर सार्वजनिक हुंदैन । तर, घटनामा त्रुटि भेटिए रेफ्रीलाई खेलाउन दिईने म्याच संख्या भने घट्न सक्छ,’ उनले थपे ।

प्रतिक्रिया