नेपाल आर्थिक विकास र समृद्धिको बाटोमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आर्थिक विकास र समृद्धिको बाटोमा लागेको बताएका छन् । चीनका पर्यटन तथा सँस्कृति मन्त्री लु सुगाङसँग भएको भेटमा उनले आर्थिक विकास र समृद्धिको बाटोमा लागेको बताएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपालले हिड्न थालेको समृद्धिको बाटोमा मित्र राष्ट्रहरूबाट उदारतापूर्वक सहयोगको अपेक्षा गरिएको बताए ।

‘समृद्धिको लक्ष्य हासिल गर्नका लागि मित्र राष्ट्रहरूबाट सहयोग अपेक्षा गरिएको छ त्यसमा पनि नजिकका छिमेकीहरूबाट थप सहयोगको अपेक्षा गरेका छौं’, प्रधानमन्त्री ओलीको भनार्य उद्धृत गर्दै उनका परराष्ट्र सल्लाहाकार डा. राजन भट्टराईले भने ।

प्रधानमन्त्री ओलीले नेपाल र चीन सदियौं देखिको सम्बन्ध रहेको स्मरण समेत भेटमा गरेका थिए । ‘हामी एउटै हिमालको वारी पारी बसेका, एउटै हिमालको मुलको पानी खाएका छिमेकी हौं’, प्रधानमन्त्रीले भने,‘हामी भूगोल, संस्कृति, रहनसहन र जनस्तरबाट पनि नजिक छौं ।’

भेटमा चीनिया मन्त्री सुगाङले नेपाल भ्रमण बर्ष २०२० मा अधिकत्तम संख्यामा नेपालमा पर्यटक भित्र्याउने चीनको तयारी भएको बताए । गतबर्षको तुलनामा यस बर्ष नेपाल भ्रमण गर्ने पर्यटक ४८ प्रतिशतले वृद्धि भएको मन्त्री सुगाङले छलफलमा जानकारी गराएको भट्टराईले बताए ।

‘नेपालको परम्परागत र साँस्कृतिक सम्पदाको अवलोकनका लागि चीनियाहरू बढी आकर्षित छन्’, मन्त्री सुगाङको भनाइ उद्धृत गर्दै डा.भट्टराईले भने,भूकम्पपछिको पुनर्निर्माणको क्रममा रहेका यस्ता संरचनाको मौलिकपनलाई कायम राख्न उपयुक्त हुन्छ । यसले नेपालको पर्यटन क्षेत्रमा दीर्घकालीन फाइदा पुग्नेछ ।’

प्रतिक्रिया