पर्यटन प्रवर्धनमा चीनको चासो

काठमाडौं । नेपालको पर्यटन प्रवर्धनमा चीन सरकारले धेरैभन्दा धेरै आफ्ना नागरिकलाई नेपालको भ्रमण गर्न अभिप्रेरित गरेको छ ।

नेपाललाई प्रमुख गन्तव्यको सूचीमा समावेश गरेर चीनले वर्षौं अघिदेखि सघाउँदै आएको छ । सरकारीस्तरमा मात्र नभई जनस्तरमा समेत सुमधुर रहेको नेपाल-चीन सम्बन्धलाई अझ प्रगाढ तुल्याउने उद्देश्यले नेपालको चार दिवसीय भ्रमणमा रहेका चीनका संस्कृति तथा पर्यटनमन्त्री लु सुंगेले पर्यटकीय पूर्वाधार बनाएर सघाउने बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीसँग मंगलबार पर्यटन मन्त्रालयमा भएको छलफलमा चिनियाँ पर्यटनमन्त्री लुले नेपालको पर्यटन प्रवर्धनमा चिनियाँ सहयोगको अभिवृद्धिबारे चासो व्यक्त राखेका थिए । छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै पर्यटनमन्त्री अधिकारीले नेपालको पर्यटन प्प्रवर्धनमा चीनले कसरी सहयोग गर्न सक्छ र त्यसका लागि आवश्यक वातावरण सिर्जना गर्न दुवै पक्षले अपनाउने रणनीतिबारे छलफल भएको बताए ।

नेपाल पर्यटन बोर्डको विवरणअनुसार सन् २०१८ को नौ महिनामा १ लाख २१ हजार ३ सय ७८ चिनियाँ पर्यटक आएका छन् । सोही अवधिमा सन् २०१७ मा १० लाखको हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । पछिल्लो समय नेपालमा चिनियाँ पर्यटकको संख्या वृद्धि हुँदै गएको छ । पर्यटन मन्त्रालको ‘नेपाल टुरिजम स्टाटिटिक्स २०१७’ का अनुसार १ लाख ४६ हजार ६४ चिनियाँ पर्यटक नेपाल भ्रमणमा आएका छन् । सन २०१६ मा १ लाख ४ हजार, सन् २०१५ मा ७७ हजार ९ सय ८४, सन् २०१४ मा १ लाख २३ हजार ८ सय ५ र सन् २०१३ मा १ लाख १३ हजार १ सय ७३ चिनियाँ पर्यटक नेपाल आएका छन् ।

नेपाल पर्यटन बोर्डको विवरणअनुसार सन् २०१८ को नौ महिनामा १ लाख २१ हजार ३ सय ७८ चिनियाँ पर्यटक आएका छन् । सोही अवधिमा सन् २०१७ मा १० लाखको हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । पर्यटन बोर्डले पनि चिनियाँ भाषामा वेबसाइट बनाएर प्रवद्र्धनात्मक गतिविधिलाई तीव्रता दिएको छ । बोर्डको अभियानलाई मन्त्री लुले प्रशंसासमेत गरे ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले चीनलाई पर्यटनको मुख्य स्रोत बजारका रूपमा प्रवद्र्धनात्मक गतिविधिलाई तीव्रता दिइएको बताए । नेपाल भ्रमण वर्ष २०२० लाई प्रभावकारी बनाउने र चिनियाँ पर्यटन बढीभन्दा बढी आउने वातावरण सिर्जना गर्ने सन्दर्भमा आवश्यक चिनियाँ भाषा र अरू प्रवर्धनका कामलाई प्रभावकारी रूपमा अघि बढाउनेबारे सहमति भएको पर्यटनमन्त्री अधिकारीले जानकारी दिए । ‘पर्यटन प्रवद्र्धनमा खास काम गर्ने, भ्रमण वर्षलाई सफल बनाउने सँगसँगै सन् २०३० सम्म एक दशकसम्म प्रवद्र्धनका गतिविधिलाई निरन्तरता दिनेबारे छलफल भएको छ’, उनले भने ।

विश्व सम्पदामा सूचीकृत वसन्तपुरको नौतले दरबारको पुनर्निर्माणमा चिनियाँ सहयोग अभिवृद्धि तथा दुई देशका प्रधानमन्त्रीबीच भएको सहमतिअनुसार नुवाकोट दरबार निर्माणको कामलाई अघि बढाउने प्रतिबद्धता जनाएको छ । भूकम्पबाट क्षति पुगेका सम्पदाको पुनर्निर्माणले गति लिई सातवटै सम्पदा क्षेत्र खुला भएकामा खुशी व्यक्त गर्दै मन्त्री अधिकारीले एक वर्षभित्र बाँकी पुनर्निर्माणको काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

चीनमा नेपाली जहाज

भेटका क्रममा नेपाली वायुसेवालाई चिनियाँ भूमिका सहजरूपमा प्रवेशका लागि सहजीकरण गर्ने सम्बन्धमा पनि दुई पक्षीय सकारात्मक कुराकानी भएको छ । पर्यटनमन्त्री अधिकारीका अनुसार नेपाली जहाज चिनियाँ भूमिमा जाने सन्दर्भमा आफ्नो विभागीय मन्त्रालय नभए पनि सहजीकरणका लागि जोडदार कुरा उठाउने चिनियाँ पर्यटनमन्त्रीले वचन दिए ।

उडड्यन क्षेत्रलाई प्रभावकारी बनाउन निर्माणाधीन पूर्वाधारको काम छिटोभन्दा छिटो सम्पन्न गर्न पनि चिनियाँ पर्यटनमन्त्रीले चासो देखाए । भ्रमणले दुई देशको सम्बन्धलाई प्रगाढ तुल्याउनुका साथै दुइवटा मन्त्रालयबीचको सम्बन्धलाई अझ प्रभावकारी बनाएर परिणाममुखी काम गर्न आपसी सहकार्यका साथ पारस्परिक लाभका विषयलाई अघि बढाउने समझदारी बनेको मन्त्री अधिकारीको भनाइ छ ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले हालै भित्र्याएको दुई नयाँ वाइड बडी विमानले चीनका विभिन्न सहरमा उडान गर्न पाउने आशा गरिएको छ । यसले नेपालमा चिनियाँ पर्यटकको संख्यामा वृद्धि हुनुका साथै चीन र नेपालको आवागमनलाई थप सहज र प्रभावकारी बनाउने विश्वास लिइएको मन्त्री अधिकारीले उल्लेख गरे ।

प्रतिक्रिया