खुर्सानीमा रमाउँदै प्रकाश

पर्वत । ‘गरे के हुँदैन, निरन्तर मिहिनेत र परिश्रम गर्न सक्ने हो भने नेपालमा नै सुन फलाउन सकिन्छ’ यो भनाइ हो पर्वतका एक युवा प्रकाश क्षेत्रीको ।

स्वदेशमैै आफनो पसिना बगाएर खुर्र्सानी बारीमा रमाइरहेका पर्वत माहाशिला गाउँपालिकाका क्षेत्रीले वैदेशिक रोजगारीमा जाने खर्चको लगानी गाउँमै गर्दा धेरै आम्दानी गर्न सकिने दाबी गरेका छन् । क्षेत्रीले आफ्नो व्यावसायिक खुर्सानी खेतीले वैदेशिक रोजगारीमा जान इच्छुकलाई रोकेर गाउँमै लगानीका लागि बाटो देखाउने बताएका छन् ।

खुर्सानी व्यवसायी क्षेत्रीले विगत केही वर्षदेखि अकबरे खुर्सानी बेचेरै विदेशमा भन्दा राम्रो कमाइ गरेका छन् । जिल्लाको महाशिला गाउँपालिका–५ लुंखुका क्षेत्रीले व्यावसायिक रूपमै अकबरे खुर्सानी खेती गर्दै गाउँमै बसेर राम्रो आम्दानी गरेका छन् ।

आठ रोपनी जमिनमा खुर्सानी लगाएका क्षेत्रीले एकपटकको उत्पादनबाट मात्र दुई लाख रुपैयाँ कमाउन सफल भएका छन् । परीक्षणको क्रममै राम्रो उत्पादन दिएका कारण खुर्सानी खेतीलाई अझै बिस्तार गर्ने उनको योजना छ ।

क्षेत्रीले अहिलेसम्म १२ क्विन्टल खुर्सानी उत्पादन भएको र अब यही वर्षमै सोही परिमाणकै खुर्सानी फल्ने अनुमान गरेका छन् । महाशिला गाउँपालिकाका अधिकांश वडामा विगतमा तरकारी बाहिरबाट आउने गरेको छ । पछिल्लो समयमा गाउँपालिकाको अभियान र स्थानीयवासीले पनि घरमै तरकारी उत्पादन गर्नुपर्छ भन्ने प्रतिबद्धताले गर्दा बाहिरबाट आयात हुन कम भएको छ ।

खुर्सानीसमेत ठूलो परिमाणमा महाशिलामा भित्रिँदै आएको सन्दर्भमा क्षेत्रीले त्यसलाई रोकेरै छाड्ने दाबी गरेका छन् । अहिले अकबरे खुर्सानी मात्र लगाएका क्षेत्रीले यही वर्षबाट रागे खुर्सानीको उत्पादन पनि सुरु गर्दै गर्ने बताएका छन् । यसका लागि उनले भारतको सिलोङ पुगेर रागे खुर्सानीको बिउ ल्याइसकेका छन् ।

तेलमा डुबाएर राखेमा एउटा खुर्सानीको दानाले वर्षभरी पुग्ने उनको दाबी छ । क्षेत्रीले आफ्नै जमिनमा माछापालन र व्यावसायिक तरकारी उत्पादनसमेत सुरु गर्ने तयारी स्वरूप १५ वटा प्लास्टिक टनेलको निर्माण गर्न लागेका छन् ।

प्रतिक्रिया