सम्पदा नमासियोस्

भूकम्पको चार वर्ष बित्न लाग्दा पनि क्षति भएका सम्पदा पुनर्निर्माण हुन सकेका छैनन् । परापूर्वकालदेखि रहेका र कतिपय विश्व सम्पदा सूचीमा समेत परेका सम्पदाहरू पुनर्निर्माणको कुरा भए पनि काम हुन भने सकेको छैन । धरहरा, रानीपोखरी, काष्ठमण्डप, वसन्तपुरको नौतले दरबार, हरिहरभवन जस्ता सम्पदा केही भर्खर सुरु गरिएका छन् भने अधिकांशको अनेक विवाद झिकेर पुनर्निर्माण हुन सकेका छैनन् । यसरी सम्पदाहरूको पुनर्निर्माणमा विवाद ढिलासुस्ती देखिएपछि नासिने खतरा बढ्दै गएको छ ।

पुनर्निर्माणमा कहिले राजनीतिक त, कहिले कसले र कुन शैलीमा निर्माण गर्ने भन्ने कुरामा विवाद हुने गरेको छ । विज्ञको एकथरी मत, स्थानीयको आफ्नै माग, जनप्रतिनिधिको अडान, जिम्मेवार निकायको समन्वय अभावले सांस्कृतिक सम्पदा पुनर्निर्माण तथा संरक्षणको काम ओझेलमा परेको बताइन्छ । सबैभन्दा बढी विवाद रानीपोखरी र त्यसको मध्यभागमा रहेको बालगोपालेश्वर मन्दिर निर्माणमा देखिएको छ । रानीपोखरी कसरी र कुन तरिकाले बनाउने भन्नेबारे काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरबीच त पानी बाराबारकै अवस्थासमेत आयो । रानीपोखरीमा कंक्रिटको प्रयोग गर्ने कि नगर्ने र मन्दिर कुन शैलीमा बनाउने भनेर अझै पनि निक्र्योल हुन नसक्दा पुनर्निर्माणको काम अघि बढ्न सकेको छैन । यसबीचमा धरहरा बनाउने टेन्डर लागिसकेको छ भने केही दिनमै यसको औपचारिक उद्घाटन गर्ने तयारी भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ । काठमाडौं उपत्यकामा जीवित देवीको रूपमा मानिने कुमारी बस्ने घरसमेत पुनर्निर्माणको प्रक्रिया अगाडि बढेको छैन । पुनर्निर्माण गर्ने जिम्मेवारी पाएको निकायले यसविषयमा अहिलेसम्म कुनै ठोस कदम चालेको देखि“दैन । यसैगरी, ऐतिहासिक बाघदरबार (हरिभवन) को पनि काम अझै सुरु भएको छैन । दरबार भत्काएर नया“ बनाउने तयारी भइरहेको भए पनि यसमा विवाद सिर्जना हु“दै आएको छ । राजनीतिक दलहरू पुनर्निर्माणभन्दा प्राधिकरणमा आफ्ना मान्छे भर्ना गर्नेमा व्यस्त देखिएका छन् । त्यसैकारण गत चार वर्षमा प्राधिकरणमा तीनजना सिइओ नियुक्त भएका छन् ।

प्राधिकरणका अनुसार भूकम्प गएको चार वर्षको अवधिमा १ सय ८५ वटा सांस्कृतिक सम्पदा मात्र पुनर्निर्माण भएको छ । ७ सय ५३ वटा पुनर्निर्माण गर्ने लक्ष्यअनुसार हाल ३ सय ९ वटा निर्माणाधीन अवस्था छन् । नेपाल सम्पदाहरूको धनी देश हो । यही सम्पदा हेर्न पनि वर्षमा लाखौ“ पर्यटकहरू नेपाल आउने गर्दछन् । आधुनिक शैली र ढंगका संरचनाहरू त विश्वका सम्पन्न देशमा अनगिन्ती छन् । उनीहरूभन्दा पृथक् ढंगको आधुनिक संरचना बनाउने हाम्रो सामथ्र्य पनि छैन । हामीले जोगाउने भनेको उही पुर्खाको नासो हो । यही हाम्रो पुर्खाका नासो हेर्न र त्यसको रसस्वादन गर्न पर्यटक आउने हुन् । पुर्खाको नासो जोगाउन नसक्नु हाम्रो लाचारीपन मात्र होइन यो राष्ट्रिय लज्जाको विषय पनि हो । पुर्खाको नासो जस्ताकोतस्तै जोगाउनुको विकल्प छैन । यसमा अनावश्यक विवाद वा राजनीति नगरी सम्पदा पुनर्निर्माणमा सबै पक्षको चासो आवश्यक छ ।

प्रतिक्रिया