नेपालको मौलिक संवत्

पञ्चायतकालमा तिहार पर्व आरम्भ हुनासाथ राजधानी काठमाडौंमा धरपकड सुरु हुने गर्दथ्यो । धरपकडको कारण थियो, ‘नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिनुपर्छ भन्दै काठमाडौंको रैथाने नेवार समुदायले निकाल्ने जुलुस ।’ त्यतिवेलाको शासनसत्ताले नेपाल संवत्का गतिविधिलाई साम्प्रदायिक सद्भाव खलबल्याउने गतिविधिका रूपमा लिने गर्दथ्यो । यस्ता गतिविधिलाई सकेसम्म दमन गर्ने सरकारी नीति हुन्थ्यो । सरकारको यो नीतिलाई गैरनेवार समुदायको पनि साथ, सहयोग हुन्थ्यो । यति हुँदाहुँदै पनि भाइटीकाको अघिल्लो दिन अर्थात् कार्तिक शुक्ल प्रतिपदाको दिन काठमाडौंका रैथाने नेवारहरूले गोप्य रूपमा नेपाल संवत्को नयाँ वर्ष मनाएरै छाड्थे। सहरका भित्री गल्लीमा आकस्मिक रूपमा जुलुस निस्कन्थे, कोणसभाहरू हुन्थे । सरकारका सुराकीहरूले जुलुस तथा कोणसभाका अगुवाहरूलाई पक्राउ गर्थे । पञ्चायको उत्तरार्धतिर नेपाल संवत्को गतिविधि ह्वात्तै बढेर गयो । ०४३ सालमा सम्पन्न राष्ट्रिय पञ्चायतको निर्वाचनमा यो अभियानका अगुवा पद्मरत्न तुलाधरले भारी बहुमत ल्याएर चुनाव जिते । तुलाधरले चुनाव जितेपछि नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिनुपर्ने आवाज अझै संगठित हुँदै गयो । ०४६ सालको जनआन्दोलनमा काठमाडौंका रैथानेहरूको निर्णायक भूमिका रहनुको एउटा कारण नेपाल संवत् तथा नेवारी भाषाप्रतिको जागरण पनि हो ।

०४६ सालको जनआन्दोलन सफल हुनासाथ रेडियो नेपालबाट नेवारी (नेपाल भाषा) मा पनि समाचार प्रसारण हुन थाल्यो । तर, नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिनुपर्ने माग भने पूरा भएन । फरक के रह्यो भने पञ्चायतकालमा नेपाल संवत् मनाउनेमाथि धरपकड हुन्थ्यो भने बहुदल आएपछि प्रधानमन्त्रीबाटै नेपाल संवत्को नयाँ वर्षका अवसरमा शुभकामना दिने र समारोहमा सहभागी हुने परिपाटी सुरु भयो । तर, मुलुकको अन्य समुदायले भने नेपाल संवत् भनेको केवल काठमाडौंका रैथाने नेवारहरूको मात्रै हो जस्तो ठान्ने परम्पराले निरन्तरता पायो । नेपाल संवत् के हो ? किन र कसरी सुरु भयो ? भन्नेतर्फ व्यापक चेतनाको कमी रह्यो । यसै सिलसिलामा ०५५ सालमा सरकारले नेपाल संवत्का पवर्तक शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा ग¥यो । यो घोषणापछि नेवार समुदाय खुसी भयो भने प्रतिक्रियावादी समूह सरकारको यो घोषणाको विरोधमा उत्रियो । हरेक जातजातिका अगुवाहरूलाई राष्ट्रिय विभूति घोषणा गरेर साध्य हुन्छ ? भन्ने प्रश्न प्रतिक्रियावादी समूहको थियो । खासगरी सक्रिय राजतन्त्र हुनुपर्छ भन्नेहरू नेपाल संवत्का पवर्तक शंखधर साख्लाई राष्ट्रिय विभूति घोषणा गरिएकोमा अप्रशन्न थिए । यता, नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिनुपर्छ भन्ने आन्दोलन पनि जारी थियो । जनआन्दोलन ०६२-६३ को सफलतापछि बनेको सरकारले नेपाल संवत्को विषयमा अध्ययन गर्न एउटा कार्यदल बनायो । कार्यदलले व्यापक अध्ययन तथा अनुसन्धान गरेपछि एउटा तथ्य फेलाप¥यो । त्यो तथ्य थियो, ‘नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिनुपर्ने आन्दोलनको अगुवाइ काठमाडौंका रेथाने नेवारहरूले गरे पनि नेपालको खस–आर्य समुदायले परम्परादेखि नै अपनाउ“दै आएका धार्मिक तथा सांस्कृतिक चाडपर्वहरू समेत नेपाल संवत् अनुसारकै रहेछन्, नाम मात्रै फरक रहेछ, तिथिहरू एउटै रहेछन् । फरक कति रहेछ भने नेपाल संवत्का तिथिहरू नेवारी (नेपाल भाषा) मा रहेछन् भने खस–आर्यहरूले अपनाउ“दै आएका तिथिका नाम संस्कृत भाषामा रहेछन् ।’ यो तथ्यले नेपाल संवत् नेवारहरूले मात्रै नभएर मुलकको करिब ४० प्रतिशत आवादी ओगेट्ने खस–आर्य समुदायले समेत धार्मिक तथा सांस्कृतिक रूपमा अपनाउ“दै आएका रहेछन् भन्ने कुरा उजागर भयो ।

आफ्नै देशको नाममा रहेको, आफ्नै देशमा उत्पत्ति भएको र धार्मिक तथा सांस्कृतिक रूपमा जरो गाडेर बसिरहेको नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिन गाह्रो भएन । ०६५ सालमा सरकारले नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दियो । धर्मिक तथा संस्कृतिक रूपमा मुलुकको ५० प्रतिशतभन्दा बढी जनतामा जरो गाडेर बसेको नेपाल संवत्लाई सरकारी कामकाजका रूपमा अपनाउन छाडेर भारतबाट आयत गरिएको विक्रम संवत्लाई किन अपनाइरहने ? भन्ने प्रश्न नउठेको होइन । तर, विश्वव्यापीकरणको यो युगमा प्रायः सबै देशमा मितिअनुसारकै संवत् प्रयोगमा अइसकेको छ । तर, नेपाल संवत् तिथिमा आधारित छ । मिति सधै“ एकनासले अघि बढ्छ, तर तिथिहरू घटबढ हुन्छन् । कहिलेकही“ एउटै तिथि दुई दिन पर्छ भने कहिलेकही“ एकै दिन दुई वटा तिथि पर्छन् । जसका कारण सरकारी कामकाज गर्न एवं सरकारी अभिलेख राख्न अप्ठेरो पर्ने भयो । त्यसैले, नेपालको मौलिक संवत्लाई नेपालमै सरकारी कामकाजमा प्रयोग गर्न सकिने अवस्था रहेन ।

प्रतिक्रिया