सेयर बजार अनलाइन प्रणालीमा

काठमाडौं । घर, कार्यालय वा इन्टरनेटको पहुँच पुगेका जुनसुकै स्थानबाट पनि अब सहज रूपमा धितोपत्र कारोबार गर्न सकिने भएको छ ।
नेपाल स्टक एक्सचेन्जले आजदेखि पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली सञ्चालनमा ल्याएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार यहाँ आयोजित कार्यक्रममा पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको शुभारम्भ गरे ।

सेयर कारोबार गर्न चाहने लगानीकर्ताले धितोपत्र दलाल व्यवसायीकहाँ गएर कारोबारसम्बन्धी व्यक्तिगत विवरण खुल्ने खाता खोलेपछि घर, कार्यालय वा जुनसुकै स्थानबाट पनि सहजै कारोबार गर्न सक्नेछन् ।

स्टकले गत साउन १ गतेदेखि परीक्षण गरिरहेको पूर्ण स्वचालित अनलाइन प्रणालीमा धितोपत्र दलाल व्यवसायी सबै जोडिएका छन् । उनीहरूले आवश्यक भौतिक तयारीसमेत सबै गरिसकेका छन् । सेयर कारोबारलाई अन्तर्राष्ट्रियस्तरको बनाउने लक्ष्यसाथ नयाँ प्रविधि जडान गरिएको हो ।

यसअघि सेयर कारोबार गर्न चाहनेले धितोपत्र दलाल व्यवसायीको कार्यालय अनिवार्य रूपमा नै जानुपर्ने बाध्यता थियो । नयाँ प्रणालीको जडानसँगै कारोबार गर्दै आएकाले दलालमार्फत ‘युजरनेम र ‘पासवर्ड’ प्राप्त गर्नेछन् । त्यसका लागि व्यक्तिगत विवरण उपलब्ध गराउनुपर्ने स्टकका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए ।

व्यक्तिगत विवरणका लागि इमेल ठेगाना र मोबाइल नम्बर अनिवार्य गरिएको छ । पूर्ण स्वचालित अनलाइन प्रणालीको कार्यान्वयनसँगै सेयर बजारमा सर्वसाधारणको पहुँच क्रमिक रूपमा बढ्दै जाने र सो प्रणाली नेपालको पूँजी बजारको कोसेढुंगा सावित हुने विश्वास स्टकले लिएको छ । गत १ साउनदेखि परीक्षणको रूपमा रहेको उक्त प्रणालीको सञ्चालनपछि बजार विस्तार हुने, कारोबारमा वृद्धि हुने तथा सेयरमा लगानीकर्ताको समेत बढावा हुने बताइन्छ ।

अर्थमन्त्री डा. खतिवडाले संस्थागत लगानीकर्तालाई समेत धितोपत्र बजारमा प्रवेश गराउने प्रयासमा सरकार लागि परेको बताए । बजारको विविधिकरणका लागि कमोडिटी मार्केट, म्युचअल फन्डको विस्तारलाई समेत जोड दिइएको स्पष्ट पार्दै डा. खतिवडाले भौतिक पूर्वाधारको विकासका लागिसमेत जोड दिइएको उल्लेख गरे । विगत तीन वर्षदेखि देशको आर्थिक वृद्धि ६ प्रतिशत बढी भइरहेको भन्दै उनले सरकारले चालु आवमा आठ प्रतिशतको वृद्धि हुने लक्ष्य राखेकामा त्यो प्राप्त हुने बताए ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले गैरआवासीय नेपाली र विदेशमा रहेका नेपालीलाईसमेत सेयर कारोबारको सहजीकरणका लागि पूर्ण स्वचालित अनलाइन प्रणाली प्रभावकारी हुने विश्वास व्यक्त गरे । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले घर, कार्यालय, वा जुनसुकै स्थानबाट पनि सेयर कारोबार गर्न पाउने प्रणालीले वित्तीय पहुँच र साक्षरताको वृद्धिमा सहयोग पुग्ने बताए ।

स्टकका अध्यक्ष लक्ष्मण न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं, स्टक ब्रोकर एसोसियसनका अध्यक्ष भरत रानाभाटले लगानीकर्तालाई सुविधा दिने लक्ष्यसाथ सुरु गरिएको अनलाइन प्रणालीमा देखिने कमजोरी हटाएर लगानीकर्ताको विश्वास बढाउनुपर्ने बताए । इन्टरनेटको माध्यमबाट कारोबार गर्न सकिने, पूर्ण स्वचालित प्रणालीको उपयुक्त व्यवस्था, ब्रोकर व्यवस्थापन, सुपरिवेक्षण, धितो तथा भुक्तानी प्रणाली समेत उपलब्ध भएकाले बजार विस्तारमा सहयोग पुग्ने देखिन्छ ।

५० मा नियमित बजार सञ्चालनका लागि सदस्य दलालले चिच्याएर आदेश दर्ता गर्न लगाउने र नेप्सेका कर्मचारीले सेतोपाटीमा उक्त आदेश लेख्ने गरी कारोबार हुने गरेको थियो । ०६४ सालमा ‘सेमी अटोमेटेड ट्रेडिङ’ प्रणाली सुरु भएको थियो ।

यस्तै, ०७२ देखि कागजी सेयर प्रमाणपत्रलाई विद्युतीय स्वरूपमा ढालेर कागजरहित कारोबार, राफसाफ, फछ्र्याैट गर्न थालियो । नेप्सेले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीलाई कार्यान्वयनमा ल्याएर विश्वस्तरको दोस्रो बजार सेवा प्रदान गर्न लागिएको स्टकले जनाएको छ ।

प्रतिक्रिया