विदेशी कामदारलाई दुईथरी भिसा !

टोकियो । जापानका प्रधानमन्त्री सिन्जो आबेले शुक्रबार विदेशी कामदारहरूको संख्या बढाउन नयाँ किसिमको भिसा प्रदान गर्नेसम्बन्धी प्रस्तावित विधेयक स्वीकार गरेका छन् । आप्रवासनको विषयमा कठोर नियमकै कारण पछिल्लो समय जापानमा तल्लो स्तरका कामदार अभावको समस्या गम्भीर बन्न थालेपछि यो विधेयक प्रस्ताव गरिएको थियो ।

जापानमा सामाजिक सुरक्षाका कारण आप्रवासनलाई लामो समयदेखि नकारात्मक रूपमा लिने जातीय एकरूपतामा बढी विश्वास राख्ने हुनाले नै जापानमा विदेशीहरूलाई नरुचाइने गरिएको बताइन्छ । तर, वृद्ध समूहको जनसंख्या हावी हुँदै जाँदा कम्पनीहरूमा कामदारको अभावले जापानको अर्थतन्त्रमा समेत ठूलो असर पार्न सक्ने देखिएपछि नयाँ नीति लागू गर्ने भएको हो ।

यस्तोमा अबबाट विदेशीहरूलाई दुईतहका भिसा प्रदान गरिने बताइएको हो । पहिलो भिसाको तह जापानी भाषाको पूर्ण ज्ञान र निश्चित स्तरको सीप आवश्यक रहेको बताइएको छ । यसमा कामदारहरू पाँचवर्षसम्म जापानमा बस्न पाउने तर कुनै परिवार ल्याउन नपाइने नियम छ ।

त्यसैगरी, दोस्रो तहमा भने उच्च सिपयुक्त विदेशी नागरिकहरूले स्थायी बसोवासका लागि आफ्नो परिवारलाई साथमा ल्याउन पाउने बन्दोबस्त रहेको सञ्चार एजेन्सी रोयटर्सले जनाएको छ ।

यो नियमअन्तर्गत कृषि क्षेत्रदेखि, होटल र निर्माण कार्य, नर्सिङ लगायत एक दर्जन पेसामा कामदारहरू भित्र्याउन केन्द्रित रहने बताइएको हो । यसरी, अहिलेको भन्दा थप पाँच लाख श्रमिकहरूलाई काम गर्न स्वीकृति दिइने बताइएको हो । वास्तवमा २०२० ओलम्पिक नजिकिँदै गएको हुँदा पर्यटन व्यवसाय अघि बढाउनका निम्ति पनि सरकारी पक्ष दबाबमा रहँदै आएको थियो ।

प्रतिक्रिया