दृश्यचित्रमा पुरातात्विक महत्वको ‘गुहेश्वरी’

काठमाण्डौ । पशुपति क्षेत्र विकास समितिअन्तर्गत रहेको धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्य गुहेश्वरी पुगेर यसपालि चित्रकारले यहाँका पुरातात्विक महत्वका दृश्य चित्रमा उतारेका छन् ।

कला कार्यशालाको नवौँ गन्तव्य कलाकारले विश्व सम्पदासूचीमा सुचीकृत गुहेश्वरी र गौरीघाटलाई रोजेर चित्रमा उतारेका हुन् । विगत १५ वर्षदेखि मेरुदण्डको पक्षघात भएका चित्रकार लक्ष्मीभक्त भासिमाले पनि गुहेश्वरी नजिक डिलमा बसेर चित्र कोरे । भासिमाले भने, “चित्रमा गुहेश्वरी वरिपरिका दृश्यलाई राखेँ, ऐतिहासिक दृश्य कोर्न पाउनु गर्वको कुरा हो ।”

यसपालिको चित्रकला कार्यशालामा छ जना महिला, अपाङ्ग र विदेशी चित्रकार पनि सहभागी थिए । अर्का कलाकार सुष्मा श्रेष्ठ र छोरी श्रेयाले पानी रङ्गले गुहेश्वरीबाट देखिने क्षितिज र पानीका दृश्य उतार्दै थिइन् । उपत्यकाका कलाकारले हरेक हप्ता यस्तै अभियान चलाएर विभिन्न क्षेत्रका दृश्य उतारिरहेका छन् । फेसबुकबाट भएको मतदानका आधारमा यसपालिको शनिबार उनीहरुले गुहेश्वरी रोजे ।

पुरातत्व विभागका पुरातत्व अधिकृत प्रकाश आचार्य धार्मिक मान्यताअनुसार सतीदेवीको गोप्य अङ्ग पतन भएकाले यहाँ महत्वपूर्ण शक्तिपिठको रूपमा चिनिन्छ । यहाँ लिच्छवीकालदेखिकै संरचनाहरु रहेको र मुख्य मन्दिरहरू प्रताप मल्लको पालामा बनेको उनले जानकारी दिइन् । वास्तुकलाका नियमअनुसार बनाइएको ऐतिहासिक महत्वका मठमन्दिरलाई कलाका माध्यमबाट विश्वभर पहिचान गराउन चित्रले सहयोग गर्ने विश्वास छ आचार्यको । चित्रले पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने उनको भनाइ छ ।

कलाकार रामकृष्ण थापाको मास्टर पिस आर्ट ग्यालरी ठमेल घुम्ने क्रममा एक जना अष्ट्रेलियाका कलाकार रे मार्सडेनसँग भेट भयो । आध्यात्मिक क्षेत्रका अमूर्त कलामा रमाउने ‘रे’ ले नेपाली चित्रकारको अभियान थाहा पाएपछि आफू पनि सहभागी हुने इच्छा प्रकट गरेपछि सहभागी गराइएको चित्रकार थापाले बताएका छन् ।

‘रे’ ले सातपटक नेपाल आएको बताउँदै गुहेश्वरी क्षेत्र आफैँमा सुन्दर लागेको प्रतिक्रिया दिए । नेपालको कला संस्कृति सुन्दर भएकाले यसको संरक्षण गर्नुपर्ने बताउँदै उनले नेपाली कलाकारसँगै बसेर शनिबार मृगस्थली क्षेत्रको चित्र उतारे । दुई महीनाअघि दिवेश प्रधान र राकेशचन्द्र श्रेष्ठले हरेक हप्ता कुनै न कुनै नयाँ स्थानमा चित्र कोर्र्ने अभियानको थालनी गरेका हुन् ।

अहिले अभियानमा स्वतस्फूर्त रूपमा कलाकारहरु चित्र उतार्न आउने गरेका छन् । जुन ठाउँमा पुगिन्छ, त्यही ठाउँका विज्ञहरुलाई ल्याएर वस्तुस्थिति जानकारी लिएपछि चित्र कोर्ने गरेको प्रधानले बताए । अर्काे दशौँ हप्तामा भने एक चरणको कार्यक्रम समापन गरी अर्काे चरणको अभियानको सुरुवात गर्ने योजना अभियन्ताहरुको छ ।

दशौँ कार्यशालामा भने अहिलेसम्म कोरिएका चित्रहरु प्रदर्शन गरिने चित्रकार दिवेश प्रधानले बताए । अन्तर्राष्ट्रिय जलरङ सोसाइटीका महासचिव दीपेन्द्र बनेपालीले खोला पारीबाट पानीमा मन्दिरको छायाँ उतारे । चित्रकार केशवराज खनाल, डि राम पाल्पाली, नरबहादुर विकेले रुखको छायाँमा बसेर गुहेश्वरी मन्दिर र छेउछाउका दृश्यलाई उतारे ।

पुराना तथा अनुभवी चित्रकार केके कर्माचार्य विभिन्न ठाउँमा पुगेर दृश्यावलोकन गरेर चित्र उतार्दा एक त कलाकारले प्रकृतिबाट सिक्ने मौका मिल्ने र अर्काे सम्बन्धित स्थानलाई विश्वभर चिनाउन सहयोग पुग्ने प्रतिक्रिया दिन्छन् ।

“अभियान चलाउन सजिलो छैन”, कर्माचार्यले भने, “यसले ठाउँको विकास गर्छ अनि कलाको प्रदर्शन पनि हुन्छ ।” कलाकारहरुको स्वतस्फूर्त रुपमा शुरु भएको फेसबुक अभियान अहिले प्रभावकारी बन्दै गएको छ ।
यसअघि उनीहरुले खोकना, ठिमी, टेकु, पाटन, हनुमानढोका, चाँगुनारायण, भक्तपुरलगायत क्षेत्रमा पुगेर कार्यशाला गरिसकेका छन् ।

प्रतिक्रिया