दलाल मोटाउने फूल व्यवसाय

गत वर्षको तिहारमा किसानहरूले २० रुपैयाँमा बिक्री गरेको फूलको माला उपभोक्ताले १ सय १० रुपैयाँमा खरिद गरे । बीचको ९० रुपैयाँ दलालका हातमा पुग्यो । त्यो अवस्था यसपटक नदोहोरियोस् भन्नेतर्फ सरकारले ध्यान दिनु जरुरी छ । दसैँमा जमरा अपरिहार्य भएजस्तै तिहारमा सयपत्री र मखमली फूल अनिवार्यजस्तै हुन्छ । तर, जमरा उत्पादन गर्न जति सजिलो र सस्तो छ, सयपत्री र मखमली उत्पादन त्यति सजिलो छैन । गाउँघरमा त आफ्नै करेसाबारीमा उम्रिएको फूलले पुग्छ तर सहरी क्षेत्रमा भने फूल किन्नुपर्छ । तिहारको तेस्रो दिन लक्ष्मीपूजा र पाँचौ दिन भाइटीकामा फूलको माग अत्यधिक हुन्छ । यो मागलाई ध्यानमा राख्दै मुलुकका सहरी क्षेत्र तथा राजमार्ग आसपासका गाउँ बस्तीमा व्यावसायिक रूपमा फूलखेती सुरु हुन थालेको छ । पछिल्ला दिनमा फूलखेतीबाट किसानहरूले प्रशस्त आम्दानी लिन थालेका छन् । खासगरी तिहार फूलखेती गर्ने किसानका लागि आम्दानीको ठूलो अवसर हुने गरेको छ । तर, तिहारमा हुने फूल कारोबारको यकिन आर्थिक तथ्यांक भने छैन । राजधानी काठमाडौं उपत्यकाको मोटामोटी तथ्यांक हेर्ने हो भने तिहारको वेला सहरी क्षेत्रबाट करिब २० करोड रुपैयाँ ग्रामीण क्षेत्रमा पुग्छ । फूल व्यवसायीहरूको संस्था नेपाल फ्लोरिकल्चर एसोसिएसनका अनुसार अरू वेला राजधानी काठमाडौंमा सरदर दैनिक १० हजार माला खपत हुन्छ भने तिहारको वेला १३ देखि १५ लाख माला खपत हुन्छ । तर, यो मोटामोटी आँकडा हो । राजधानी काठमाडौं उपत्यकामा करिब ४० लाख मानिस बसोवास गर्छन् । तिहारको वेला प्रायः सबैले माला लगाउने प्रचलन छ । साथै, लक्ष्मीपूजाका दिन पनि प्रत्येक घर तथा कोठामा माला सजाउने प्रचलन छ ।

तिहारको अवसरमा माला आयतबापत करोडौँ रकम बिदेसिने गरेको तितो यथार्थ हामीसामु छ । करिब दुई लाख माला भारतबाट आयात गर्नुपर्ने अवस्था रहेको व्यवसायीहरू बताउँछन् । हम्रोजस्तो कृषिमा आधारित मुलुकमा यसरी फूल आयत गर्नुपर्ने अवस्था आउनुले देशका नीतिनिर्माताहरूको कमजोरी प्रस्ट देखाउँछ । स्वदेशमा फूल उत्पादन कम भएका कारण आयत गर्नुपर्ने बाध्यता भएको होइन । मखमली र सयपत्री फुल्ने मुख्य मौसम भनेकै असोज–कात्तिक हो । मौसमअनुसार फुल्ने फूलका लागि खासै मिहिनेत गर्नुपर्ने अवस्था रहँदैन । गाउँघरतिर यस्ता फूल झारपातजस्तै आफैँ उम्रन्छन् । तर, फूल बिक्रीबाट आम्दानी हुन्छ भन्ने कुरा ग्रामीण क्षेत्रका कतिपय किसानलाई थाहा छैन । यसरी, सयपत्री र मखमली फूल खेर गइरहेका छन् । तिहारमा सहरी क्षेत्रमा राम्रो मूल्यमा फूल बिक्री हुने यर्थाथ ग्रामीण क्षेत्रका किसानहरूलाई अवगत गराउँदै त्यसको बजारीकरणको बाटो देखाइदिने हो भने नेपालमा फूल आयत गर्नुपर्दैन, उल्टै निर्यात गर्न सकिने अवस्था रहन्छ ।

तिहार पर्व कहिले कात्तिकको सुरुमा पर्छ त कहिले अन्त्यतिर । आफैँ उम्रिएका सयपत्री तथा मखमली फुल्ने मुख्य सिजन भनेकै कात्तिकको दोस्रो र तेस्रो साता हो । तसर्थ, कात्तिकको पहिलो साता या अन्तिम साता तिहार परेको अवस्थामा सयपत्री र मखमली फूलको संकट पर्ने गरेको छ । यस वर्ष पनि तिहार कात्तिकको अन्तिम साता परेका कारण सयपत्री फूल बोटमै ओइलाउन थालेका छन् । व्यावसायिक फूलखेती गर्दै आएका किसानलाई मात्रै कुन मितिमा तिहार पर्छ र त्यो मितिमा फुल्ने गरी फूल लगाउन कहिले उचित हुन्छ भन्ने जानकारी हुन्छ । सामान्य किसानलाई त्यो जानकारी हुँदैन । यो जानकारी दिने काम कृषि मन्त्रालय अन्तर्गतका कार्यालयको हो । तर, यी कार्यालयको ध्यान यसतर्फ गएको देखिँदैन । अन्य खेतीजस्तै फूलखेती आम्दानीको राम्रो स्रोत हो भन्ने कुराको प्रचार–प्रसार हुन सकेको छैन । अन्य खेतीका तुलनामा फूलखेती संवेदनशील पनि छ । उदाहरणका लागि, आफूले पालेको खसी दसैँमा बिक्री भएन भने पनि किसानलाई खासै नोक्सान हुँदैन । पालेर राख्यो भने बढ्दै जान्छ र पछि पनि उत्तिकै मूल्यमा बिक्री हुन्छ । तर, फूलचाहिँ तिहारको वेला बिक्री भएन भने फाल्नुबाहेक अर्को विकल्प रहँदैन । त्यसैले, फूलखेती जोखिमपूर्ण छ । यो जोखिमपूर्ण खेतीको बिमा गर्ने व्यवस्था राज्यले नै मिलाइदिनुपर्छ । अर्कोतिर, किसानले अति–कम मूल्य पाउने तर उपभोक्ताले अत्यधिक रकम तिर्नुपर्ने अवस्था छ । यो अवस्थाप्रति सरकार वेलैमा सचेत हुनु जरुरी छ ।

प्रतिक्रिया