अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्वतीय पर्यटनमा आशा जाग्दै

नारायण ढुंगाना , काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० नजिकिँदै गर्दा नेपालको पर्वतीय पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न अपरिहार्य महसुस गरिएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथालगायतका अन्य हिमाल नयाँ पर्यटकीय उत्पादन पर्वतीय पर्यटनका लागि आशालाग्दो क्षेत्र प्रमाणित हुने निर्विवाद छ ।

प्रचारप्रसारको अभावमा अन्तर्राष्ट्रिय जगतमा नेपालका पर्यटकीय सम्भावना भएका पर्वतीय पर्यटनको बजारीकरण एवं प्रवद्र्धन हुन सकेको छैन । पर्यटकलाई नयाँ स्वाद पस्किने उत्पादन नै पर्यटन वर्ष २०२० को विशेषता हुनसक्ने छ । अतिथिदेवो भवः भन्ने भावनालाई साकार तुल्याउँदै सेवाप्रवाह गर्न यस्ता पर्वतीय पर्यटनको प्रचारप्रसार हुनु जरुरी रहेको नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङले बताए ।

देशको शान्ति सुरक्षा, राजनीति स्थिरता, अनुकूल मौसम र तीव्र प्रचारप्रसारका कारण पर्वतीय पर्यटनमा आकर्षण बढ्दो छ तर पर्याप्त प्रयास देखिँदैन । ‘नेपालमा यति धेरै माउन्टेन छन् अहिलेको अवस्थामा आएका पर्यटक उल्लेखनीय होइन, गुरुङले भन्नुभयो, अझै प्रचारप्रसार गर्नु जरुरी छ,’ उनले भने । अघिल्लो वर्षको तुलनामा यो वर्ष पर्वतारोहण गर्ने पर्यटकको संख्या ११ प्रतिशतले वृद्धि भएको भन्दै पर्वतीय पर्यटनको विकासमा फड्को मार्ने उनले विश्वास व्यक्त गरे । नेपाल पर्वतारोहण संघका अनुसार सन २०१६ मा ५ हजार ८ सयदेखि ६ हजार ५ सय मिटर उचाइका हिमचुली आरोहण गर्ने पर्यटकको संख्या ४ हजार ८ सय २३ थियो । सन् २०१७ मा यसको संख्या बढेर ५ हजार ९ सय २९ पुगेको तथ्यांक छ ।

राजश्व भने सन् २०१६ मा सात लाख ५१ हजार ५ सय ३५ अमेरिकी डलर (रु आठ करोड ६४ लाख) थियो । २०१७ मा भने नौ लाख ९७ हजार ८ सय २३ अमेरिकी डलर (११ करोड ४७ लाख) राजश्व सङ्कलन भएको थियो । सन् २०१८ मा भने पर्यटकको आगमनमा वृद्धि भएको सङ्घको दाबी छ । नेपाल पर्वतारोहण सङ्घमार्फत नेपालका २७ हिमचुलीको व्यवस्थापन हुँदै आएको छ । नेपालको हिमालय क्षेत्रमा तीन हजार ३१० हिमचुली छन् । त्यसमध्ये छ हजार मिटर उचाइका एक हजार ३१० हिमचुली छन् । सात हजार मिटरमाथिका १ सय २२ र आठ हजारमाथिका हिमचुली १४ वटा छ । सरकारले अहिलेसम्म ४ सय १४ हिमचुलीमा प्रवेश खुला गरेको छ । जसमध्ये २७ हिमचुली आरोहणको व्यवस्थापन संघले गर्छ ।

हिउँपहिरोमा परेकाका परिवारलाई राहत
नेपाल पर्वतारोहण संघले काठमाडौंमा ४५औँ वार्षिकोत्सव मनाएको छ । धवलागिरि क्षेत्रको गुर्जा हिमाल चढ्ने क्रममा हिउँ पहिरोमा परी ज्यान गुमाएका चार जनाका परिवारलाई आज राहत वितरण गरिएको छ । गएको अक्टोबर १२ उक्त घटना भएको थियो । संघले प्रतिपरिवार ५० हजारका दरले राहत वितरण गरेको हो ।

पाँच जना कोरियन नागरिकसहित हिमाल आरोहणका क्रममा आरोहण सहयोगी संखुवासभाका डेना आङजुक भोटे, फुर्पु भोटे, छिरिङ भोटे र म्याग्दीका नेत्रबहादुर छन्तेलको हिउँपहिरोमा परी निधन भएको थियो । पीडित परिवारलाई काजकिरियाका लागि ५० हजारका दरले दुई लाखको चेक हस्तान्तरण गरिएको संघका अध्यक्ष सन्तवीर लामाले जानकारी दिए ।

प्रतिक्रिया