व्यावसायिक फूल खेती सुरु

बुटवल । रूपन्देहीको तिलोत्तमामा व्यावसायिक पुष्प खेती सुरु गरिएको छ । महिलाहरूले समूह निर्माण गरेर व्यावसायिक रूपमा पुष्प खेती सुरु गरेका हुन् । अहिले पूmलबारीमा ढकमक्क फूलहरू फूलिरहेका छन् । रूपन्देहीको तिलोत्तमा नगरपालिका–१६ जुडा फूलबारी चोकमा महिलाहरूले व्यावसायिक रूपमा पुष्प खेती गरेका छन् ।

तिलोत्तमा सहकदम कृषि समूहले डेढ बिघा क्षेत्रफलमा व्यावसायिक पुष्प खेती सुरु गरेको हो । पाँच लाखको लगानीमा डेढ बघा क्षेत्रफलमा साढे १४ हजार फूलका बेर्ना लगाइएको छ । ६ भदौमा फूलका बेर्ना लगाइएको भए पनि लगातारको वर्षाका कारण अपेक्षाकृत उत्पादन भने नहुने देखिएको छ ।

समूहले २५ हजार माला उत्पादन हुने अपेक्षा गरे पनि वर्षाका कारण जम्मा ३ हजार ५ सयदेखि ४ हजार वटा माला हुने अपेक्षा गरेको समूूहकी अध्यक्ष देवी वाग्लेले बताइन् । प्रतिगोटा सयपत्री मालाको बजार मूल्य अहिले ६० देखि ९० रुपैयाँसम्म छ ।

ढकमक्क फूलेका सयपत्री फूलहरू बुटवल र तिलोत्तमाका बजारमा बिक्री गरिनेछ । पहिलोपटक सुरु गरिएको पुष्प खेतीलाई अझ विस्तार गर्दै जर्बेरा, गलाइडियस र गुलाफको व्यावसायिक खेती गर्ने योजना समूहको छ । तिलोत्तमा नगरपालिकाले नगरपालिकाका कार्यक्रममा खादा तथा विदेशी आयातित फूल प्रयोगमा प्रतिबन्ध लगाएपछि महिलाहरू पुष्प खेतीतर्फ बढी आकर्षित हुन थालेका छन् । त्यसबाहेक घरको आँगनीमा रोपिने फूलले एउटा माला पनि नबन्ने भएपछि समूूह निर्माण गरी पुष्प खेती सुरु गरको समूूहकी सचिव पार्वती गिरीले बताइन् ।

महिला समूूहले गरेको कामलाई स्थानीय र प्रदेश सरकारले समेत प्रोत्साहन गर्ने आश्वासन समूहले पाएको छ । प्रत्येक वडामा महिलाहरूको समूह गठन गरेर हरेक वडामा पुष्प खेती गर्न समूहले व्यवस्थापन गर्दै पाँच बिघा क्षेत्रफलमा पुष्प खेती गर्ने योजना समूूहको छ ।

अग्लो र बलौटे माटोमा हुने पुष्प खेतीलाई १०/१० दिनको अन्तरमा सिँचाइ गर्नुपर्दछ । बढी स्याहार आवश्यक पर्ने पुष्प खेतीलाई शंखेकिराबाट जोगाउनु चुनौतीपूर्ण हुन्छ । चाडपर्वको समयमा विदेशी फूल आयातित हुँदा अर्बौं रुपैयाँ बाहिर जाने भएकाले विदेशी फूलको आयातलाई रोक्न स्थानीय तह तथा प्रदेश सरकारले यस्ता महिला समूहलाई प्रोत्साहन भने गर्न जरुरी छ ।

प्रतिक्रिया