नयाँ भाडादर सार्वजनिक

इलाम । इलाममा नयाँ सवारी भाडादर सार्वजनिक गरिएको छ । यातायात व्यवस्थापन समितिको बैठकले १ सय ४३ रुटको नयाँ भाडादर ताकेर बिहीबार सार्वजनिक गरेको छ । समितिले जिल्लाका सडकको अवस्था, यसअघि तोकिएको भाडादर र विभागले तोकेको मापदण्डलाई आधार बनाएर नयाँ भाडादर निर्धारण भएको जनाएको छ ।

सदरमुकामको बसपार्कमा कार्यक्रम आयोजना गरी सदरमुकाम र विभिन्न स्थानबाट छुट्ने बस तथा जिपको नयाँ भाडादर सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको भाडादर अनुसार सवारी भाडा कतै बढाइएको छ भने कतै घटाइएको छ ।
यातायात व्यवस्था विभागले देशभरका पक्की सडकको भाडादर १० प्रतिशतसम्म बढाउन सक्ने निर्णय गरेपछि इलाममा पनि हेरफेर गरिएको हो ।

नयाँ भाडादरअनुसार अब इलाम सदरमुकामदेखि झापा बिर्तामोडसम्म जिपको भाडादर २ सय ९० रुपैयाँ कायम भएको छ । समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बिर्तामोड–इलामको भाडादर झापाका सवारी साधनले तीन सय रुपैयाँ तोके पनि इलामका व्यवसायीले २ सय ९० लिने सहमति भएको बताए । यसअघि यो रुटको भाडादर २ सय ५० रुपैयाँ मात्र थियो ।

इलामदेखि चार किलोमिटरमा रहेको बिब्ल्याँटे बजार पुग्न अब दुई रुपैयाँ भाडा बढेको छ । २५ रुपैयाँ रहेको यो रुटको भाडा २७ पु¥याइएको छ । मंगलबारे–बिर्तामोड ६९ किलोमिटर कच्ची सडकको बस भाडादर साढे चार सय, राँके–दमक ७८ किलोमिटरको बसको भाडा पाँच सय रुपैयाँ कायम गरिएको छ । ३१ किलोमिटर पक्की सडक रहेको इलाम–मंगलबारेको भाडादर भने १ सय ७० रुपैयाँ कायम गरिएको छ । यसअघि भाडा निर्धारण गर्दा कच्ची सडक रहेकाले दुई सय रुपैयाँ भाडा तोकिएकामा अहिले यो रुट कालोपत्रे भएपछि भाडादर घटाइएको छ ।

यसैबीच अबदेखि तोकेभन्दा बढी भाडा व्यवसायीले नलिने, नयाँ भाडादर अनिवार्य रूपमा सबै सवारी साधनमा यात्रुले देख्नेगरी टाँस्ने, यात्रुलाई टिकट अनिवार्य दिइने, काउन्टरमा बस्ने कर्मचारीले आफ्नो र आफ्नो संस्थाको परिचय खुल्ने परिचयपत्र लगाउने निर्णयसमेत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया