अन्य ठाउँकी भन्दा भक्तपुरकी कुमारी फरक

काठमाडौं । उपत्यकामा प्रचलित परम्पराअनुसार जीवित देवी कुमारीको रूपमा चयन भएर पूजिने कुमारीहरूमध्ये भक्तपुरकी एकान्त कुमारीको जीवनशैली र उनीसँग सम्बन्धित रीतिरिवाज पृथक रहेको संस्कृतिविद्हरू बताउँछन् ।

भक्तपुरमा बज्राचार्य वा शाक्य कुलकी कन्या एकान्त कुमारी छनोट भएपछि दसैँ वा अन्य कुनै विशेष पर्वमा वाहेक परिवारसँग अलग्गिएर कुमारी घरमा बस्नुपर्दैन । उनी साधारण बालिका सरह नियमित विद्यालय जान्छिन्, मावली र आफन्तकहाँ भोजभतेरमा समेत जान पाउँछिन् ।

विमला बज्राचार्य भक्तपुरकी एकान्त कुमारी र नौ वर्षीया जीविका बज्राचार्यकी आमा हुन् । तीन वर्षअघि आफ्नी छोरी कुमारी नियुक्त भएपछि उनको दैनिकीमा विभिन्न परिवर्तन आएको उनी बताउँछिन् ।

‘पहिला त जुठोको केही मतलब हुँदैनथ्यो । कुमारी छनोट भएपछि छोरीले जुठो खान छाडिन् । साथीहरूले स्कुलमा खाजा दिए भने पनि जुठो खादिनँ भन्छिन् । झुक्किएर उसलाई कसैको खुट्टा लागेछ भने पनि ढोग्न लगाउँछिन् ।’

काठमाडौं र ललितपुरमा जस्तो कुमारी चयन भएपछि आफ्नो घर छाड्न नपर्ने, परिवारसँगै बस्न पाउने भएकाले अन्तभन्दा सजिलो भएको उनी बताउँछिन् । भक्तपुर सहरभरिबाट कुमारीको छनोट हुन्छ, छनोट प्रक्रिया पनि सामान्य नै हुन्छ ।

‘उपयुक्त लक्षण’ की बालिकाको शिरमा तलेजुको फूल राखिदिएर चार दिनसम्म उनी बिरामी परिनन् भने कुमारीको रूपमा छनोट हुने परम्परा रहेको भक्तपुरको तलेजुका जोशी नाइके नरेन्द्र जोशी बताउँछन् ।

भक्तपुरकी कुमारीको विशेषताबारे उनी भन्छन, ‘भक्तपुरकी कुमारी परम्परादेखि नै आफ्नै घरमा बस्छिन्, विद्यालय नियमित जान्छिन्, साथीसँग खेल्छिन्, मामाघर जान्छिन् र उनी दसैँमा मात्र कुमारी घरमा बस्छिन् ।’

ललितपुर र काठमाडौंका कुमारी पर्वका वेलामा मात्र घरबाट बाहिर निस्कन पाउँछन् भने भक्तपुरकी कुमारीलाई भने बाहिर निस्किने र विद्यालय जाने स्वतन्त्रता छ । कुमारीको खानपानमा भने विशेष ध्यान दिइन्छ । कुखुराको मासु वा अण्डा खान निषेध हुन्छ ।

भक्तपुरको प्रशन्नशील विहारस्थित कुमारी घरमा विगत २१ वर्षदेखि कुमारीहरूको स्याहार सुसारमा संलग्न कुमारी आमा लुकमणि बज्राचार्य कुमारी घरमा कुमारी नभए पनि दैनिक पूजाआजा गर्ने बताउँछिन् ।

‘जमरा राख्नुभन्दा चार दिन वा एक दिन अगाडि पनि हुनसक्छ कुमारी यहाँ आउँछिन् । पूर्णिमासम्म बस्छिन् ।’ ‘त्यसबाहेक पनि बीचमा कसैले दर्शन गर्छु भन्यो भने म कुमारीकी आमाले कुमारीको घरमा लगेर दर्शन गराउँछिन् ।

तर, काठमाडौंको तलेजु भवानी मन्दिरका मूल पूजारी उद्धव कर्माचार्यको तर्क छ, खुलाभन्दा गोप्य कुराको महत्व बढी हुन्छ । राजधानीको वसन्तपुरस्थित कुमारी घरमा गोप्य रूपमा राखिने भएका कारण नै काठमाडौंकी कुमारीलाई राज्यकै देवीको रूपमा पूजिने उनको भनाइ छ ।

‘उनको तलेजुमा विशेष गोप्य पूजा हुन्छ । सामान्य खाना त उनीले कुमारी घरमै खान्छिन् । तर, उनका लागि विशेष गोप्य भोजन दैनिक तलेजुबाटै पठाउँछौँ । त्यो उनले ग्रहण गर्छिन्, देवीको रूपमा ।’

काठमाडौं उपत्यकामा ठाउँअनुसारका विशिष्ट परिचय, पहिचान र परम्परा अनि आचार, व्यवहार र विश्वासका बीच निरन्तरता पाइरहेको प्रथाअन्तर्गतका देवताहरूका बीच आपसी तुलना हुन नसक्ने मानिसहरूको मत छ । तर, यी सबै परम्पराको महिमा उत्तिकै रहेको संस्कृतिविद्हरू बताउँछन् ।

प्रतिक्रिया