माजुदेगःको पुननिर्माण सुरु

काठमाडौं । महाभूकम्प गएको तीन वर्षपछि ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको वसन्तपुरको माजुदेगःको पुनर्निर्माण कार्य सुरू भएको छ । सोमबार काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले माजुदेगः को पुननिर्माणको शुभारम्भ गरेका हुन् ।

माजुदेगः पुनर्निर्माण कार्य प्राकृतिक सानु सुवाल जेभीले निर्माण गर्ने भएको छ । दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरि ५ कत्तिक ०७५ मा सम्झौता भएअनुसार ५ करोड ४९ लाख ३५ हजार २०६ रूपैयाँ ९७ पैसामा ठेक्का दिइएको हो ।

हनुमानढोका दरबार संरक्षण कार्यक्रमले आयोजना गरेको कार्यक्रममा माजुदेगः को माथिल्लो खण्डस्थित शिवलिंगको विशेष पूजा गरेर पुननिर्माणको औपचारिक सुरुआत गरिएको छ । सो मन्दिरको पुनर्निर्माणमा लाग्ने सम्पूर्ण खर्च काठमाडाैं महानगरपालिकाले व्यहोर्नेछ ।

कार्यक्रलाई सम्बोधन गर्दै प्रमुख शाक्यले ठेकदारले समयमै काम सम्पन्न नगर्दा महानगपालिकाले गाली खानु परेको गुनासो समेत गरेका छन् । समयमै काम सम्पन्न गर्न ठेकदारलाई निर्देशन दिँदै शाक्यले भने, ‘हिजो जे जस्तो अवस्था रहे पनि अब त्यस्तो हुनु हुँदैन,’ ठेकदारप्रति लक्षित गर्दै भने, ‘अबका दिनमा हामीले त्यस्तो सुन्नु नपरोस् ।’

मेयर शाक्यले माजुदेगः, काष्ठमण्डप पुनःनिर्माणको काम सबैको धार्मिक आस्थाको देवल भएकाले निर्धारित समयमा सम्पन्न गर्नुपर्ने दायित्व रहेको बताए । कुमारी घर संरक्षण गर्ने पनि महानगरकै दायित्व भएको बताउदै उनले प्राविधिक प्रतिवेदन आएपछि यसको काम पनि अघि बढाउने जानकारी गराए । अहिले पनि महानगरपालिकाले सम्पदा पुनर्निर्माणसँगै भित्री सहरमा बाटो पिच गर्ने, कतै ढलान गर्ने, ब्लक र ढुंगा छाप्ने जस्ता काम गरिरहेको उनको भनाइ थियो ।

आफ्नो कार्यकालमा हनुमानढोकाका धार्मिक सम्पदाहरू पुनर्निर्माण सम्पन्न गर्ने महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्कीले बताइन् । काठमाडौं उपत्यका सहित ३० जिल्लाका प्राचीन स्मारक एवं पुरातात्विक सम्पदामा भूकम्पले क्षति पु¥याएपछि पुन निर्माणका कार्यहरू भइरहेका छन् ।

प्रतिक्रिया