विपक्षीलाई विस्फोटक पदार्थ पठाउने पक्राउ

वासिंगटन । संयुक्त राज्य अमेरिकामा हुलाकमार्फत विस्फोटक पदार्थ पठाउने घटनासँग सम्बन्ध भएको आरोपमा एक ५६ वर्षीय व्यक्तिलाई फ्लोरिडामा पक्राउ गरिएको छ ।

राष्ट्रपति डोनल्ड ट्रम्पका आलोचकहरूलाई लक्षित गर्दै केही दिनयता विस्फोटक पदार्थ पठाउने गरिएको थियो । अमेरिकी अधिकारीहरूले पक्राउ परेका व्यक्तिको नाम सिजर सेयक भएको बताएका छन् ।

उनीमाथि विस्फोटक पदार्थ पठाएको र पूर्व–राष्ट्रपतिहरूलाई धम्की दिएको लगायत पाँचवटा अभियोग लगाइएको छ । राष्ट्रपति ट्रम्पले ‘ती कार्यहरू घृणित भएको र अमेरिकामा त्यसका लागि कुनै स्थान नरहेको’ बताएका छन् ।

विगत केही दिनयता पूर्व–राष्ट्रपति बाराक ओबामा र अभिनेता रोबर्ट डी निरोसहितका मानिसहरूलाई १४ वटा त्यस्ता शंकास्पद विस्फोटक पदार्थ पठाइएका छन् । फ्लोरिडा र न्युयोर्कमा शुक्रबार बिहान दुइवटा शंकास्पद विस्फोटक पदार्थ फेला पारिएको थियो । त्यसपछि क्यालिफोर्नियामा पनि दुइवटा भेटिएको थियो ।

राजनीतिक रूपमा निकै ध्रुवीकृत भएको अमेरिकामा मध्यावधि चुनाव हुन अब दुई हप्ताभन्दा कम समय बाँकी रहेका वेला यी घटना प्रकाशमा आएका हुन् ।

सञ्चार माध्यमहरूमा जनाइएअनुसार सवारीसाधनका पार्टपुर्जा बिक्री पसलमा सायोकलाई पक्राउ गरिएको हो । अमेरिकी संघीय अनुसन्धान निकाय एफबिआइका निर्देशक क्रिस्टोफर रेका अनुसार शंकास्पद पदार्थ रहेको एउटा प्याकेजमा भएको औँलाका छापका आधारमा सेयकलाई पक्राउ गरिएको हो ।

उनी आपराधिक पृष्ठभूमिका भएको विवरणहरूमा उल्लेखित गरिएको छ । घटनाका सन्दिग्धले ४८ वर्षसम्मका लागि जेलसजाय भोग्नुपर्ने हुनसक्ने अमेरिकी न्याय मन्त्रालयले जनाएको छ ।

एउटा पत्रकार सम्मेलनमा अमेरिकी महान्यायाधिवक्ता जेफ सेसन्सले भने, ‘यस्ता स्वेच्छाचारिता खासगरी राजनीतिक हिंसा हामीलाई मान्य हुने छैन ।’ ‘जुनसुकै राजनीतिक आस्था भएका जो कोहीलाई पनि यो एउटा पाठ होओस् कि हामी त्यस्ताविरुद्ध पूर्ण कानूनी बल प्रयोग गर्नेछौँ ।’

प्रतिक्रिया