‘छाउ’का नाममा अभिषाप कहिलेसम्म ?

नेपाली महिला कहीँ धर्म संस्कृतिका नाममा त कहीँ प्रथाका नाममा प्रताडित हुँदै आएका छन् । प्राकृतिक रूपमा केही यस्ता चिज छन् जसलाई महिलाले मात्रै अनुभूति र उपयोग गर्न पाउँछन् । सन्तान जन्माउनु र महिनावारी हुने कुरा महिलाले मात्रै प्राप्त गर्छन् जुन चाहेर पनि पुरुषले प्राप्त गर्न सक्दैनन् । यस्तै महिनावारी भएको समयलाई पश्चिम नेपालमा ‘छाउ’ भन्ने गरिन्छ । त्यो समयमा महिलालाई अशुभ भएको रूपमा पनि लिने गरिन्छ । महिनावारी हुनु प्राकृतिक नियम भएर पनि त्यस समयमा पश्चिम नेपालका महिलाले निकै कष्टपूर्ण रूपमा समय बिताउन बाध्य हुन्छन् । यसै सन्दर्भमा छाउका समयमा भोगेका महिलाका कष्टपूर्ण भोगाइ बारेमा तयार पारेको रिपोर्टः

‘छाउगोठ’का बारेमा बेला–बेला सुनेको र पढेको थिएँ । तर, अगिल्लो महिना गरिएको बझाङ यात्राका क्रममा छाउगोठमा बस्ने महिलाका भोगाइ र पीडालाई अनुभूति नगरे पनि सुन्ने र बुझ्न पाइयो ।

एउटै देश भित्रका नागरिक भएर पनि उनीहरूका भोगाइ मध्यय र पूर्वी नेपालका महिलाका लागि नौलो भन्दा पनि सुन्दै निकै कष्ठकर लाग्ने छ । महिनावारी त्यहाँका महिलाका लागि एक प्रकारको अभिषाप जस्तै रहेछ । महिनाको पाँच दिन उनीहरूका लागि कहिल्यै नआए पनि हुने पीडादायी दिन रहेको गुनासो सुनियो । महिनावारी भएका बेला घरमा बस्नु त परै जाओस उनीहरूले घरका आगनमा टेक्न वा घर छुनसम्म पाउँदैनन् ।

सुदूरपश्चिमका बझाङ, अछाम, बाजुरा, डोटी, दार्चुला, बैतडी, डडेलधुरा जिल्लाका ग्रामीण भेगका महिलाहरूले महिनावारी भएका बेला घरका कुनैपनि सरसामान छुनुहुँदैन भन्ने अन्धविश्वास कायम छ । त्यसैले यस्तो बेलामा महिनावारी भएकी महिलालाई घरभन्दा केहीपर बनाइएको झुपडीमा बस्न बाध्य बनाइन्छ ।

पदमा सिंह

यस्तो झुपडीलाई ‘छाउपडी कुडी’ वा ‘छाउगोठ’ भन्ने गरिन्छ । महिनावारी भएका बेला कसैले छुन नहुने र घर परिवारदेखि बेग्लिएर बस्नुपर्ने परम्परा जस्तै छ । कति पयले यसलाई परम्पराका नाममा महिलामाथी कुसंस्कार लादिएको अमानविय कार्यसम्म पनि भन्छन् । तर, त्यही बसेर भने मौनता साध्छन, जसका कारण यो अन्त्य भएको छैन । यसका बारेमा खुलेर बिरोध गर्ने वा हटाउनु पर्छ भन्नेमा स्थानीयको आवाज मसिनो हुनेगरेको महिलाका गुनासा छन् । अघि पर्दा खराव हो भन्ने र आफ्नै घरका छोरी बुहारीलाई गोठमा राख्नेको कमी छैन त्यहाँ ।

घरमा बस्न नपाउने मात्रै होइन, महिनाबारी भएका बेला दही, दूध जस्ता पौष्टीक खना खाएमा र घर तथा भाँडाकुडा छोएमा देउता रिसाउँछन् भन्ने अन्धविश्वासले बलियो जग गडेको छ त्यहाँ । महिनावारी भएका बेला सफा हुनुपर्ने र प्रशस्त पोषिलो आहार खाइ आराम गर्नु पर्नेमा शिक्षित र बुझेका घरका छोरी, बुहारीलाई पनि दुध दहि खानबाट बञ्चित गराइन्छ । महिनावारी भएका समयमा घरमा पालेको गाई–भैँसीको दूध, दही र मोही खाएमा तिनले दूध दिन छोड्छन् भन्ने अन्धविश्वास बलियो छ ।

प्रथाका रूपमा रहेको छाउपडी अन्त्य गर्नका लागि विभिन्न सामाजिक सघंसस्था सक्रिय देखिए पनि त्यसको प्रभावकारीता भने निकै कमजोर छ । उनीहरूको काम चेतना फैलाएर महिलालाई छाउगोठबाट घरमा बस्ने वातावरण बनाउनु भन्दा त्यो एक प्रकारले कामाइ खाने भाडो जस्तै बनेको छ ।

छाउपडी धर्म र सस्कृतिको आडमा महिलाहरू माथि गरीदै आएको अमानविय व्यवहार हो । त्यो मानव अधिकारका विरुद्धमा छन् । तर, त्यहाँका लागि त्यो सबै जायज जस्तै छ । चलि आएको चलन हो र चलाउनु पर्छ भन्ने सोचले बढी काम गरेको छ ।

‘माइतमा हुँदा महिनावारी भएका बेला छाउगोठमा बस्न परेन, बिहे गरेर यहाँ आएकापछि गोठमा बस्नु पर्छ, गोठ पनि के भन्नु खोर जस्तै छ,।’ बझाङ कालुखेती मतुवाकी ३९ वर्षीया पदमा सिंहले भनिन् । उनको माइती सदरमुकाम चैनपुरमा पर्छ । त्यहाँ महिनावारी भएको महिलालाई भान्सा र पुजा कोठा बाहेक अन्त जान छुट रहेको उनले सुनाइन् ।

आफू बस्ने गरेको छाउगोठ देखाउँदै उनले भनिन, ‘यहि हो हामीले छाउ भएका बेला बस्ने ठाउँ कहिले काहिँ यहाँ चार–पाँच जनासम्म बस्नुपर्छ, राती सुत्न ठाउँ पुग्दैन, टुक्रुक्क बसेर टाउको ठोकाउँदै रात काट्छौं । पानी परेका बेला सबै भित्र चुहिन्छ । जाडोमा चिसो हुन्छ, घरमा काम नलाग्ने थोत्रा लुगा मात्रै ओड्न पाइन्छ ।’ उनले आफ्नो समस्या सुनाइन् ।

उनले देखाएको छाउगोठ कुखुरा पाल्ने खोर जस्तै छ । त्यहाँ कुखुरा राखे पनि करिब २० वटा मात्रै अटाउलान । पदमाले देखाएको गोठ बस्तु बाध्ने गोठ जति पनि सुरक्षि छैन । त्यसले सित र छाम मात्रै छोक्न सक्छ, पानी छेक्न सक्दैन । उभिन पनि नमिल्ने उनीहरूको गोठमा खुट्टा पसारेर एक जनाका लागि पनि सुत्न मुश्किल छ । न कतैबाट हावा छिर्छ, निहुरीएर भित्र छिरे पछि यता उता फर्कन पनि कठिन हुन्छ ।

उनीहरूको आफन्तकै ५–६ घरका बीचमा रहेको उक्त छाउगोठमा महिनावारी भएको सबै छोरी बुहारी मिलेर बस्दा रहेछन् । उक्त गाउँमा अन्त पनि त्यस्तै छाउगोठ रहेको उनले बताइन् । ‘गाउँमा चार पाँच घरका बीचमा एक गोठ छ, त्यही मिलेर बस्नु पर्छ’ उनले सुनाइन् । त्यसमा पनि कहिले काहिँ धेरै हुँदा नअटाउने गरेको उनको भोगाइ छ । परालले छाएको उक्त गोठमा पानी चुहिएर भिजेका चिसा पित्ताहरू सुकेका पनि थिएन । चिसोले ढुस्सी परेको भूँइमा पराल ओछ्यार सुत्ने गर्छन उनीहरू । त्यहाँका अन्य गोठको अवस्था पनि उस्तै हो । गोठ मात्रै फरक दृश्य उस्तै ।

पदमालाई छाउगोठमा बस्न मन नलागे पनि बाध्यता छ । परिवारले घर भित्र जान दिँदैनन् । अनि गोठमा नबसेर जाउन पनि कता ? ‘छाउ भएका बेला घाँस काट्न लगाउँछ बाहिरका सबै काम लगाउँछन्, तर दहि दुध खान दिँदैनन, देउता रिसाउछन् भन्छन् ।’ उनले दुख पोखिनन्, ‘राती मान्छे बोलेको सुने झन डर लाग्छ ढोका पनि छैन, जागै बसरे रात काट्छौं ।’ यो उनको मात्रै समस्या होइन माथी उल्लेख गरिएका जिल्लाका ग्रामिण भेगका महिलाको सामूहिक भोगाइ र साझा पीडा हो । उनीहरूका लागि ती दिन अत्यन्तै जोखिम र दर्दनाम हुनेगर्छ ।

पदमाले महिनावारी भएका बेला रात बिताउने छाउगोठसँगै रहेको शैचालय भने उनीहरू बस्ने गोठ भन्दा व्यवस्थीत छ । टिनको छानो भएको शौचालयको ढोका र ढोकामा चुकुल लगाउने व्यवस्था छ । तर, उनीहरू बस्ने गोठामा ढोकासम्म छैन ।

ढोका नभएका चुहिने छाप्रोमा बस्ने महिलाहरू बेला बेला जंगली जनावर र मान्छेको शिकार भएका घटना बाहिर आउने गरेको छ । सर्प, बाघ, चितुवा र भालु जस्ता जनावरको आक्रमणमा परेर छाउ गोठमानै कयौं महिलाले ज्यान गुमाउने गरेका छन् भने । कहिले काहिँ मान्छेकै कुदृष्टिका समेत शिकार हुने गरेका छन् । तर, पनि छाउगोठमा बस्नबाट मुक्ति पाएका छैनन त्यहाँका महिलाले । महिलाका लागि त्यो भोग्नै पर्ने जस्तै छ । जाने बुझेकाले समेत त्यसलाई सामान्य रूपमा लिन्छन् ।

यति मात्रै होइन, छाउगोठमा बस्ने बारेमा पनि विभेदपूर्ण नियम छ । बिहे भएका महिलालले चार दिन छाउगोठमा बसे हुन्छ भने अविवाहित महिलाले ५ दिन उक्त गोठमा बस्नुपर्छ । उनीहरूका लागि पनि विहे भएको र नभएको भन्नेमा विभेद छ । त्यही गाउँकी १७ वर्षीया मौसमी सिंहको पीडा पनि उस्तै छ ।

उनलाई पनि आफू छाउ भएका बेला गोठमा बस्नु परेकोमा चित्त बुझेको छैन, तर बस्नु पर्ने बाध्ययता छ । उनले महिनावारी हुन थालेदेखि नै त्यही गोठमा रात बिताउँदै आएकी छन् । पहिलो पटक महिनावारी भएका बेला उनीहरूलाई १६ दिनसम्म त्यसै गरी गोठमा राख्ने गरिन्छ । उनलाई पनि महिनावारी भएकाबेला घरमा नै ढुक्कले बस्न पाए हुन्थ्यो भन्ने छ । तर, परिवारले आँगनको ढिलसम्म जान दिँदैनन् ।

चेतना फैलाउने नाममा बेला बेला गाउँमा पुग्ने सामाजिक संघसस्थाका कार्यक्रममा दिन भरी छाउ प्रथाका विरोधमा भाषण सुनेर आउने गरेकाहरू रात भने त्यही गोठमा बिताउने गरेको मोसमीले सुनाइन् । कतिलाइ त्यस्तो बेला स्कूल पनि जान दिदैन । मौसमीले भने आफूहरू दिउँसो स्कूल जाने र राती आएर त्यही बस्ने गरेको बताइन् ।

‘बाहिरबाटहेर्दा छाउगोठ भनिन्छ हामीलाई साह्रै दुःख छ । खाना पनि माथिबाट दिन्छन् कहिले काहिँत छोइएला भनरे फाली दिन्छ्न भूइँमा पनि खस्छ त्यही पनि टिपेर खान्छौं ।’ मोसमीले भनिन् । आफूहरू माथी छाउका नाममा गोठमा राखिएकोमा उनले आक्रोस पोखिन, ‘हामीलाई पुजा कोठा र भान्सामा जान नदिए भै हाल्छनी, काम भने लगाउछन्, खान पनि राम्रो दिँदैनन, रात भरी अनिदै बसेर रात काट्छौं, यस्तो बेला ढुक्कले रात काट्न पाएत हुन्थ्यो नी,’ आक्रोसित हुँदै हुनले आफ्नो समस्या सुनाइन् ।

मोसमीले भनिन, धेरै जना एकै पटक छाउ हुँदा सुत्न पाइदैन, तर, कम्तीमा साथी त हुन्छ, एक्लै भएर डरले सुत्दैनौं धेरै हुँदा ठाउँ नपुगेर सुत्दैनौं ।’ उनले भनिन, ‘कहिले काहिँ बाहिर मान्छे बोलेको सुन्दा डरले मुठु नै थरर काम्छ, कोहि आएर केहीगर्ने हुनकी भनेर । के गर्नु रातको समय घरका अरुसबै आरमले सुतेका हुन्छन्, हामी भने रात भर गोठमा जागै बस्छौं डराइ डराइ, ।’ उनीहरू बस्ने छाउ गोठ दिन भरी खाली हुन्छ ।किसान महिला काममा जान्छन् विद्यार्थी पढ्न स्कूल गएका हुन्छन् । रातमा भने वरपरका महिनावारी भएका महिलाले भरिन्छ ।

त्यहाँ महिनाबारी भएका महिलालाई धारमा नुहाउन पनि बन्चीत गरिएको छ । पानी खाने धारा छोएर अपवित्र हुन्छन भन्दै धारामा नुहाउनु दिँइदैन । उनीहरू नुहाउन घरदेखि टाढा खोलामा जान्छन् । गोठमा बत्ति हुँदैन, पानी चुहिन्छ । कयौं त्यही बेला बिरामी हुने गरेको उनीहरूले बताए । अझ जोडो समयमा हिउँ पर्ने गरेको पदमाले भनिन । ‘आगो फूक्ने ठाउँ हुँदैन, जाडेमा ओड्न लुगा पनि गतिलो हुँदैन हिउँ पर्छ, रात भरी कामेर बस्छौं कहिले उज्यालो होला भन्दै’ पदमाले सुनाइन ।

पदमाले महिनावारी भएका बेला घरमा छाउगोठमा बसे पनि माइत गएका बेला अहिले पनि घरमानै बस्ने गरेकोे बताइ, उनले भनिन, ‘मेरा माइतमा छाउगोठ छैन बहिनी, बुहारीहरू छाउ भएका बेला घर भित्रै बस्छन्, तर यहाँ देउता रिसाउछन् भनेर घरको आगनसम्म पनि आउन दिँदैनन, सुरु सुरुमा साहै्र गाह्रो भयो घरमा नै बस्छु भन्यो भने सबैले गाली गर्छन्,’ उनले आफ्नो पीडा सुनाइन् । आफ्ना भोगाइ सुनाउँदा उनका आक्रोस पनि थियो । एउटै जिल्ला घर माइत भएकी उनीले दुइवटा सस्कार भोग्दै आएकी छन् ।

महिनावारी भएका बेला गोठमा नै बस्नु पर्छ भन्ने मान्यता धेरै जसो पाका महिलाको रहेको स्थानीय प्रकाश सिंहले बताए । उनले भने, ‘के गर्ने हामीले मात्रै भनेर हुँदैन, पाका महिलाहरूनै यसको विरोधमा छन्, हामीलाई त केही फरक पदैनथ्यो, तर, आमाहरू मान्दैनन, उनीहरूको मन दुखाउनु भएन देउता रिसाउछन् भन्छन् । साँचै देउता रिसाए भने के गर्ने ?’ आफैमा शंका सहतिको प्रश्न गरे ।

उक्त गाउँका नयाँ पुस्ताको सबै जसो मान्छे पढेलेखेका छन् । महिनावारी एक सामान्य नियम हो यस्ता बेला घर बाहिर बस्नु सुृरक्षाका दृष्टिले गलत हो भन्ने सबै जसोले सुनेका छन् । तर, व्यवहारमा गाउँका दर्जनौ छाउगोठ बनाएर छोरी बुहारीलाई त्रास नै त्रासमा अनिदो रात बिताउन बाध्य बनाउँदै छन् । पछिल्ला समय छाउका नाममा महिलालाई गोठमा राखे कारबाही गर्ने भनिए पनि उक्त गाउँमा सरकारका उक्त आवाज पुगेको अनुभूति हुँदैन ।

छाउका नाममा महिलाले बिताउन परेको सास्तीका बारेमा नयाँ पुस्ताका महिलामा निकै आक्रोस छ । तर, उनीहरूले आक्रोस पोखे पनि परिवारले भने त्यसको सुनवाइ गरेको देखिदैन । आखिर छाउका नाममा महिलाले कहिलेसम्म जनावर र मान्छेको शिकार भैरहनु पर्ने हो त्यसको जवाफ न गाउँलेसँग छ न ती पीडित महिलासँग । उनीहरू धर्म, संस्कृति र अदृश्य देवता रिसाउने नाममा प्रताडीत भइरहने कहिलेसम्म हो थाहा छैन ।

प्रतिक्रिया