सिँचाइको लक्ष्यमा कन्जुस्याइँ

सिँचाइको लक्ष्यमा कन्जुस्याइँ सरकारले आगामी तीन वर्षभित्र थप ४४ हजार हेक्टर जमिनमा बाह्रै महिना सि“चाइ सुविधा उपलब्ध गराउने रणनीति अघि सारेको छ । सिँचाइ सुविधा पुर्याउन सकिने कृषियोग्य जमिनको क्षेत्रफल मुलुकभर २६ लाख ४१ हजार हेक्टर रहेको छ । जसमध्ये करिब १४ लाख हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध छ । यो १४ लाख हेक्टरमध्ये पनि बाह्रै महिना सिँचाइको सुविधा भएको क्षेत्रफल १ लाख हेक्टरभन्दा माथि छैन । धेरैजसो जमिनमा वर्षाको सिजनमा मात्रै सिँचाइको सुविधा उपलब्ध हुने गरेको छ । खेतिपातीका लागि मुख्य सर्त भनेकै सिँचाइको सुविधा हो । खेतीयोग्य जमिनमा बाह्रै महिना सिँचाइको सुविधा उपलब्ध गराउन पुग्ने जलस्रोत नेपालमा छ । २६ लाख हेक्टर जमिनमा बाह्रै महिना सिँचाइको सुविधा पुर्याउनु हो भने नेपालको समृद्धि टाढा छैन । तत्काल रोजगारीको समस्या समाधान भए मात्रै कृषि उपज निर्यात गरेरै मुलुकले पर्याप्त मात्रामा विदेशी मुद्रा आर्जन गर्न सक्छ । तर, सिँचाइका लागि लिइएको लक्ष्य ज्यादै कन्जुस देखिन्छ । तीन वर्षमा ४४ हजार हेक्टर जमिनमा सिँचाइको सुविधा पुर्याउने लक्ष्य लिइनु भनेको समृद्धितर्फको यात्रा होइन, यो त निर्वाहमुखी यात्रा मात्रै हो ।

हाम्रा नेताहरूले मुखबाट एउटा कुरा बोल्छन्, तर व्यवहारमा अर्कै देखिन्छ । उहाहरणका लागि पूर्वप्रधानमन्त्री एवं सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको नारायणी सिँचाइ आयोजना वर्षभरी नै सञ्चालन गर्ने प्रतिबद्धता निर्वाचनका क्रममा व्यक्त गरेका थिए । पार्टीले वाम गठबन्धनले करिब दुईतिहाइ बहुमत ल्याएर चुनाव जित्यो । सरकार पनि गठन भयो, तर बजेटमा प्रचण्डले व्यक्त गरेको प्रतिबद्धता समेटिएन । ०४० देखि लिप्mट प्रणालीमार्फत सञ्चालनमा आएको नारायणी सिँचाइ आयोजना अहिलेसम्म वर्षायामको चार महिना मात्रै चल्ने गरेको छ । त्यसमा पनि मेसिनहरू पुराना भएकोले पूर्ण क्षमतामा चल्न छाडेको वर्षांै भइसकेको छ । मर्मत गरेर क्षमता वृद्धिको तयारी भइरहेका वेला पूर्वप्रधानमन्त्री प्रचण्डले चुनावका क्रममा अघि सारेको प्रतिबद्धता साँचै नै मननयोग्य थियो । चितवन जिल्लामा मात्रै सिँचाइयोग्य भूमि करिब ३० हजार हेक्टर छ । हेटौँडादेखि दाउन्ने सम्मको क्षेत्र चितवन उपत्यकाका नामले चिनिन्छ । समग्र चितवन उपत्यकामा सिँचाइयोग्य जमिन १ लाख हेक्टरको हाराहारीमा छ । साथै नारायणी र राप्ती नदीका अतिरिक्त केही खोलाहरू चितवन उपत्यकाको मुटु भएर बगेका छन् । नारायणी नदीको पानीलाई १ सय मिटर मात्रै लिफ्ट गर्ने हो भने पनि चितवन उपत्यकामा बाह्रै महिना सिँचाइको सुविधा उपलब्ध गराउन सकिने अवस्था छ । तर, सिँचाइको अभावका कारण चितवनको उत्पादकत्व मुलुकले प्राप्त गर्न सकेको छैन ।

मुलुकका ७७ जिल्लामध्ये सबैभन्दा धेरै खाद्यान्न आयात गर्ने काठमाडौं उपत्यकाका ३ जिल्लाले हो । यी तीन जिल्लामा भारतबाट ठूलो परिमाणमा खाद्यान्न आयात हुन्छ । अनुमानित आँकडाअनुसार राजधानी काठमाडौंका ३ जिल्लामा मात्रै भारतबाट वार्षिक २० अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात हुन्छ । चितवन उपत्यकामा बाह्रै महिना सिँचाइको सुविधा पु¥याउने हो भने त्यहाँ उत्पादित खाद्यान्न तथा तरकारीले राजधानी काठमाडौं उपत्यकाको माग धान्न सक्छ । चितवन उपत्यकाबाट राजधानी काठमाडौंको दुरी नजिक पनि छ । राजधानी काठमाडौंबाट नजिक मात्रै होइन मुलुकको सबै भूभागको केन्द्रभागमा चितवन उपत्यका पर्छ । चितवनमा उत्पादित कृषिउपज मुलकका सबै कुनामा पुरयाउन सहज छ । बाह्रै महिना सिँचाइको सुविधा उपलब्ध हुँदा चैतदेखि मंसिरसम्म २ खेती धान उत्पादन हुन्छ । मंसिरदेखि चैतको अवधिमा गहुँ उत्पादन हुन्छ । त्यो उत्पादनले राजधानी काठमाडौं पालिनसक्ने अवस्था छ । तर, अहिलेसम्म मुलुकका नीति निर्माताहरूको ध्यान यस यथार्थतातर्फ जान नसक्नु ज्यादै दुर्भाग्य हो । ध्यान नजानुको कारण चितवन उपत्यकाबाट मुलुकको नीति निर्माण तहमा अहिलेसम्म कोही पनि प्रभावशाली व्यक्ति पुग्न नसक्नु पनि हुन सक्छ । तर, विगत १ दशकदेखि प्रचण्ड मुलकको नीति निर्माण तहको केन्द्र बिन्दुमा छन् । उनी चितवन निवासी हुन् उनको दिमागमा यो चेत खुल्ने हो भने चितवन उपत्यकाले निकै फड्को मारिसकेको हुन्थ्यो ।

प्रतिक्रिया