खोजखबर

सिन्धुली सडक मर्मत गर्न जापान सरकारकाे ८५ करोड सहयोग

सौर्य अनलाइन २०७५ कार्तिक ८ गते १३:०९ मा प्रकाशित

काठमाडौँ । भूकम्पले भत्काएको सिन्धुली सडक मर्मतसम्भार गर्न जापान सरकारले एक अर्ब ८५ करोड अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।

उक्त अनुदान सहयोगसम्बन्धी सम्झौता तथा समझदारीपत्रमा बिहीबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र अर्थ सचिव राजन खनालले हस्ताक्षर गरेका छन् ।

पूर्वी तराइलाई राजधानी काठमाडौँसँग जोड्ने एकसय ६० किलोमिटर लामो सिन्धुली सडक जापानी अनुदानमा निर्माण भएको हो । बीस वर्षमा पूरा भएको उक्त सडक नेपाल सरकारलाई हस्तान्तरण गरेको एक महिनापछिको भूकम्पले प्रभावित भएको थियो ।

आगामी एक वर्षमा मर्मतसम्भारको काम पूरा गर्ने लक्ष्यका साथ आगामी माघदेखि कार्यसञ्चालन हुने अर्थ मन्त्रालयले जनाएको छ ।

कार्यक्रममा सक्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत साइगोले नेपालको कृषि उत्पादनलाई बजारसम्म पुर्याउने, बालबालिकालाई विद्यालय तथा पर्यटन प्रवर्धनका निम्ति महत्वपूर्ण सिन्धुली सडक पुनर्निर्माणमा जापानले पुनः सघाएको बताए ।

यस्तै सचिव खनालले नेपालको सामाजिक–आर्थिक विकासमा जापानबाट निरन्तर सहायता प्राप्त भएकामा हार्दिक आभार व्यक्त गरे ।

प्रतिक्रिया