बिग्रिए सिसी क्यामेरा

पर्वत । सदरमुकाम कुश्मा बजारमा सुरक्षाको प्रत्याभूति दिलाउन चार वर्षअघि जडान गरिएका सिसी क्यामेराहरू बिग्रँदै जाँदा शान्ति सुरक्षामा चुनौती बढेको छ ।

बितेको चार वर्षअगाडि पर्वत उद्योग वाणिज्य संघ र जिल्ला प्रहरी कार्यालयको प्रयासमा जडित सिसी क्यामेराहरू मर्मतको अभावमा काम नलाग्ने बन्दा दसैँ र तिहारको समयमा हुन सक्ने अपराध, चोरी, लुटपाट लगायतका सुरक्षामा केही समस्या देखिएको छ ।

कुश्माको जिरो किलोमिटर, प्रगतिचोक, मैत्रीचोक, अस्पतालचोक, फिल्महलचोक, दुर्लुङचोक, लोकतन्त्रचोकलगायत विभिन्न ठाउँमा जडान गरिएका २९ वटा क्यामेरामध्ये अहिले ८ वटा सिसी क्यामेराले मात्र काम गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।

जडान गरिएका सिसी क्यामेरा कुस्मा नगरपालिकाले व्यवस्थापन गर्ने गरी हस्तान्तरण गरिएको र नगरपालिकाले भने मर्मत नगर्दा समस्या भएको छ । प्रहरीले केबुल व्यवसायीको सहयोग लिएर सामान्य मर्मतको काम गरेर अरू क्यामेरालाई सञ्चालनमा राखेको डिएसपी तिवारीले जानकारी दिए ।

‘बजारमा जोडिएकामध्ये अहिले आठ वटा क्यामेरा मात्र रनिङ छन्’, उनले भने, ‘सिसी क्यामेरा कन्डिसनमा भइदिएको भए यी चाडपर्वको वेलामा हामीलाई अपराध न्यूनीकरणमा सजिलो हुने थियो ।’

क्यामेरा मर्मतका लागि प्रहरीसँग रकम अभाव भएका कारण कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीसँग कुराकानी भएको र बिग्रिएका क्यामेरालाई मर्मत गर्ने र काम नलाग्ने भएमा अरू क्यामेरा राख्न नगरपालिका सकारात्मक रहेको पनि डिएसपी तिवारीको भनाइ छ ।

कुश्मा नगरपालिकाका प्रमुख जोशीले पनि क्यामेरा मर्मत गरी बजारलाई सुरक्षित गर्नका लागि प्रहरीको अनुरोधअनुसार चाँडै काम सुरु गरिने बताए । कुश्माका मुख्यमुख्य चोकमा पर्वतका तत्कालीन डिएसपी महेन्द्रकुमार श्रेष्ठको पहलमा २९ ओटा सिसी क्यामेराहरू जडान गरिएका थिए ।

प्रतिक्रिया