एपिएफलाई उपाधि


बाग्लुङ । सशस्त्र प्रहरी बलको एपिएफ क्लबले २२औँ संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार बाग्लुङको गल्कोटमा भएको फाइनलमा एपिएफले विभागिय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबमाथि सोझो सेटमा जित निकाल्दै उपाधि आफ्नो बनायो । यससँगै एपिएफले सिजनको पाचौँ उपाधि आफ्नो बनायो ।

यसअघि, आदिअवादी महिला भलिबलमा भने एपिएफ पराजित भएको थियो । एपिएफले पुलिस क्लबलाई २५–१८, २५–१७ र २५–२३ ले हराउँदै उपाधि आफ्नो बनायो । शनिबार नै भएको तेस्रो स्थानमा त्रिभुवन आर्मी क्लबले सफलता हात पा¥यो । आर्मीले प्रदेश–५ लाई २५–१२, २५–९ र २५–१२ ले हरायो ।

उपाधि विजेता एपिएफले नगद ५० हजार, उपविजेता नेपाल पुलिसले ३० हजार र तेस्रो स्थानको आर्मीले नगद २० हजार र ट्रफी प्राप्त गरेका छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि एपिएफकी सरस्वती चौधरीले घोषित भइन् । बेस्ट स्पाइकरको उपाधि आर्मीकी निरुता ठगुन्नाले हात पारिन् ।

अन्य विधागत उत्कृष्टमा बेस्ट सेटर पुलिसकी कमला पुन, ब्लकर एपिएफकी हिरा केसी, डिफेन्डरमा एपिएफकै मनिसा तामाङ र सर्भिसमा पुलिस क्लबकी कोपिला रानाले उपाधि हात पारिन् ।  विधागत उत्कृष्ट सबैले नगद ५–५ हजार र ट्रफी प्राप्त गरेका छन् ।

नेपाल भलिबल संघको आयोजना जिल्ला भलिबल संघ बाग्लुङको व्यवस्थापन र गल्कोट नगरपालिकाको सहयोगमा सञ्चालन भइरहेको प्रतियोगिताबाट राष्ट्रिय टोलीका १८ खेलाडी र ६ वैकल्पिक लागि २४ खेलाडीसमेत छनोट गरिएको नेपाल भलिबल संघका वरिष्ठ उपाध्यक्ष याम गुरुङले जानकारी दिए ।

प्रतिक्रिया