वर्षाले पनि उपाधि जित्न पर्याप्त

काठमाडौं । अन्तिम खेल वर्षाका कारण रोकिए पनि नेपालले आइसिसी टी–२० क्रिकेट विश्वकप एसिया उपक्षेत्रीय छनोटमा च्याम्पियन भएको छ । ७ राष्ट्र सम्मिलित छनोटअन्तर्गत शुक्रबार सिंगापुरविरुद्धको उपाधि निर्णायक खेल लगातार वर्षाका कारण रद्द भएको थियो ।

यद्यपि, समान ११ अंक भए पनि नेपालले रनरेटमा सिंगापुरलाई पछि पार्दै उपाधि उचाल्यो । समान ५ जित र १ बराबरी गरेको नेपालले ७.७८२ नेट रनरेट तथा सिंगापुरको नेट रनरेट ४.७७२ रहेको छ । यससँगै बराबरीले पनि नेपालको च्याम्पियन यात्रा सफल भयो । यस छनोटबाट लिगमा शीर्ष ३ राष्ट्र नेपाल, सिंगापुर र मलेसिया टी–२० विश्वकप छनोटको दोस्रो चरणमा प्रवेश गरेका छन् ।

एसिया उपक्षेत्रीय छनोटबाट ‘ए’ का शीर्ष ३ राष्ट्र युएई, कुवेत र कतार दोस्रो चरणमा प्रवेश गरेका छन् । एसियाली छनोटबाट छानिने टोलीहरूले टी–२० विश्वकपको ग्लोबल छनोट खेल्नेछन् । १४ राष्ट्रले खेल्ने ग्लोबल छनोटको शीर्ष ६ टिमले विश्वकपमा स्थान बनाउनेछन् । सन् २०२० को १८ अक्टोबरदेखि १५ नोभेम्बरसम्म अस्ट्रेलियामा हुने टी–२० विश्वकपमा १६ टोलीले सहभागिता जनाउनेछन् । शुक्रबार

मलेसियाको बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुर १७ दशमलव ३ ओभरमा ८१ रनमा समेटिएको थियो । सिंगापुरका लागि सुरेन्द्रन चन्द्रमोहनले सर्वाधिक २५ रन बनाउँदा अन्य खेलाडीको प्रदर्शन सन्तोषजनक रहेन ।

बलिङतर्पm नेपालका सन्दीप लामिछानेले ४ विकेट लिँदा ३ दशमलव ३ ओभरमा १६ रन खर्चिए । सोमपाल कामी र करण केसीले २–२ तथा वसन्त रेग्मी र ललित राजवंशीले १–१ विकेट लिए । करणले खेलको १६औँ ओभरमा ह्याट्रिक गर्ने अवसर गुमाएका थिए । जवाफी पारीमा नेपालले २ बलमा २ विकेटको क्षतिमा १ रन बनाउँदा वर्षाका कारण खेल रोकियो । लगातार वर्षाका कारण खेल हुन नसकेपछि १–१ अंक बाँडिएको थियो ।

प्रतिक्रिया