भिरकाे जिम्मा सेनालाई

संखुवासभा । नेपाल, चीन र भारत जोड्ने सबैभन्दा छोटो किमाथांका–विराटनगर–रानी निर्माणाधीन सडकमा पर्ने भिर फोर्न सेनालाई जिम्मा दिने तयारी थालिएको छ ।

निर्माण सुस्तता भएको भन्दै सरकारले यो सडकमा पर्ने ठूला चट्टान रहेको भिर फुटाउने जिम्मा सेनालाई दिने तयारी थालेको हो ।

किमाथांका जोडिन बाँकी २३ किमिमध्ये ठूला चट्टान भएको क्षेत्र १५ किमि भएकाले यो कार्य सेनालाई दिने तयारी भएको सडक विभागले जनाएको छ । विभागका अनुसार, यही वर्षभित्र किमाथांकामा गाडीमा जान सक्ने बनाउन जटिल खण्डको जिम्मा सेनालाई दिन लागिएको हो ।

विस्फोटक पदार्थ खरिद गरी चट्टान फुटाउने कार्यबारे सेनासँग कुरा भएको स्रोतले जनायो । यही आर्थिक वर्षभित्र खाँदबारी किमाथांका गाडी गुडाउने योजना अघि बढाई बजेट व्यवस्थापन गरी सडक जोड्ने योजना छ । समयमै काम सक्न सेनालाई दिनुको विकल्प नरहेको विभाग स्रोत बताउँछ ।

उत्तर–दक्षिण सडक आयोजना प्रमुख पशुपति ज्ञवालीका अनुसार चेपुवा, छुमसुर घोङगोप्पा खण्ड निर्माणका लागि विस्फोटक पदार्थ आवश्यक पर्छ । कडा चट्टानको भिर भएकाले १५ किमि सडकखण्ड विस्फोट गरेर मात्रै अघि बढ्न सकिने उनको भनाइ छ ।

सिम्बुङ हटिया खण्डको ट्रयाक खोल्ने, वरुण सिम्बुङको रेखांकन विवाद, अलैँची तथा गुम्बा क्षेत्रमा देखिएको समस्या समाधान गरेर सडक निर्माणको काम अघि बढिसकेको उनले बताए । सिन्धुपाल्चोकबाट तिब्बत हुँदै डोजर र इन्धन ल्याएर किमाथांकाबाट १४ किमि ट्र्याक खोले पनि डेढ वर्षदेखि निर्माण कार्य ठप्प छ ।

चट्टान भएको क्षेत्रमा सडक निर्माणको काम सेनालाई दिने प्रक्रिया अन्तिम चरणमा रहेको प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतमले जानकारी दिए । उत्तर–दक्षिण (कोसी) सडक आयोजनाले खाँदबारी किमाथांका सडकको स्तरोन्नति र ट्र्याक खोल्ने काम गरिरहेको छ ।

विभिन्न कारण देखाई प्रदेश–१ को मुख्य व्यापारिक मार्ग त्रिदेशीय रिङ रोडको ट्र्याक खोल्ने कामले पूर्णता पाएको छैन । सडक कार्यालयले किमाथांका हटिया र खाँदबारी हटिया दुईतिरबाट सडक खनिरहेको छ । सडक निर्माणका लागि हालसम्म २ अर्ब ३९ करोड बजेटमध्ये २ अर्ब ११ करोड खर्च भइसकेको सडक आयोजना प्रमुख ज्ञवालीले बताए ।

त्रिदेशीय लिंक रोड (भारत, नेपाल र चीन) निर्माण गर्न यस आवका लागि केन्द्रीय सरकारले ४७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । विराटनगरबाट किमाथांकासम्मको दुुरी ३ सय ९० किमि छ ।

प्रतिक्रिया