मुस्लिम–हिन्दू सहिष्णुताको स्थल मिथि


पाकिस्तान । पाकिस्तानी सहर मिथीमा छिमेकी मुलुक भारतमा झैं गाईवस्तु निष्फिक्री यताउता घुमिरहेका पाइन्छन् । हिन्दूहरूले पवित्र जनावरका रूपमा लिने हिन्दूले रुढीवादी मुस्लिम पाकिस्तानमा पनि धार्मिक सहिष्णुतालाई आत्मसात गरेका छन् ।

सामान्यतया, पाकिस्तानमा अल्पसंख्यक समुदायहरूले ठूलै विभेदको सामना गर्नुपर्दछ । यहाँ, ‘मुस्लिमले हिन्दूका धार्मिक आस्थालाई सम्मान गरिरहेका छन्,’ ७२ वर्षीय शाम दासले बताए । ‘उनीहरूले गौहत्या गर्दैनन्, र टाढा गाई काटिँदो होला तर यहाँको हिन्दू बसोवास क्षेत्रमा त्यस्तो हुँदैन ।’

पाकिस्तानका बाँकी ठाउँजस्तो मिथीमा गाईवस्तु काटिन्न । ती गाईवस्तु यतिकै चरिरहेका हुन्छन्, कहिलेकाहिँ फोहोर पनि खाइरहेको देखिन्छ, र साँझ परेपछि सडक किनारामा त्यतिकै सुतेका भेटिन्छन् । कहिलेकाहिँ टुकटुक र मोटरसाइकल यिनै गाईवस्तुका बथानलाई नागबेली बनाउँदै छिचोलेर लैजानु पर्दछ ।

कहिले त ट्राफिक नै जाम गरिदिन्छन् । मिथीमा करिब ६० हजार हिन्दू छन्, र यो आफैँमा अनौठो हो किनभने पाकिस्तानमा करिब ९५ प्रतिशत मुस्लिम समुदाय छन् ।  हिन्दूहरू श्रीकृष्ण मन्दिरमा प्रवेश गर्दा हिन्दूले घण्ट बजाउँछन् । यो आवाज नजिकै बसोवास रहेको मुस्लिम समुदायको अजानसँगै मिसिन्छ ।

हिन्दू युवा आफ्ना घरबाहिर बेफिक्री गफिएर बसेका हुन्छन्, र उनीहरूका लागि कुनै सुरक्षाको आवश्यकता नै छैन ।कराँचीमा यही अवस्था देख्न पाइन्न, यहाँको परिस्थिति निकै भिन्न छ । करिब ३०० किलोमिटर टाढाको कराँचीमा हिन्दूको सुरक्षाका लागि सशस्त्र बलको व्यवस्था गरिएको छ ।

कराँचीमा पूजारी काम गर्ने हिन्दू विजयकुमार गिरले सहरका ३ सय ६० वटा मन्दिरमध्ये केबल एक दर्जन मात्रमा पूजापाठ हुने गरेको बताए । ‘बाँकी मन्दिर या त बन्द छन् वा उनीहरूको जमिन हडपिएको छ ।’

पाकिस्तानमा बसोवास गर्ने हिन्दूले ज्यादै बढी सामाजिक कलंक व्यहोर्नुपरेको विवरण प्राप्त भइरहेका छन् । धर्मकै कारण पाकिस्तानी हिन्दूलाई भारत–समर्थकको आरोप लाग्ने गरेको छ, पाकिस्तान मानवअधिकार आयोग (एचआरसीपी) मार्वी सिरमेदले बताए ।  ‘त्यसैले, उनीहरूलाई जहिल्यै पाकिस्तान विरोधीको आशंकाका रूपमा हेर्ने गरिन्छ,’ उनले भने ।

भारत र पाकिस्तानबीचको तनावपूर्ण सम्बन्धका कारण पनि यस्तो आरोप लाग्ने गरेको हो । यी दुई मुलुकबीच सन् १९४७ यता नै तीनपटक युद्ध भइसकेको छ । एचआरसीपीले पाकिस्तानी हिन्दूले आफ्नो मुलुकमा असुरक्षित महसुस गरिरहेको बताएको छ ।

एचआरसीपीको वार्षिक प्रतिवेदनमा भनिएको छ–यदि विभेदजन्य कार्य तत्काल नरोकिए हिन्दूको भारततर्फ आप्रवासन व्यापक रूपमा हुन सक्ने खतरा छ । एचआरसीपीका अनुसार धार्मिक नेताहरूको भनाइमा हिन्दू महिला र केटीहरूको जबर्जस्ती धर्म परिवर्तन नै अहिलेको सबैभन्दा ठूलो समस्या हो ।

हिन्दू महिलाहरूको विवाह हुनुअघि नै अपहरण गरिन्छ, र जबर्जस्ती मुस्लिमसँग विवाह वा धर्म परिवर्तन गर्न लगाइन्छ । तर, यस्ता कुनै हर्कत मिथीमा देख्न पाइन्न । यहाँका मुस्लिम र हिन्दूको भनाइमा दुवै समुदाय सहअस्तित्वका आधारमा बसिरहेका छन् ।

स्थानीयवासीका अनुसार धार्मिक बिदाका दिनहरूमा एक समुदायले अर्को समुदायका मानिसलाई मिठाई र उपहार दिने यहाँ प्रचलन छ । ‘मैले जानेसम्म यहाँका हिन्दू–मुसलमान समुदाय भ्रातृत्व, प्रेम र सामन्जस्यका आधारमा मिलेर बसिरहेका छन्,’ ३५ वर्षीय व्यापारी सुनिल कुमारले बताए ।

‘यो हामीबीच पुस्तौंदेखि चलिरहेको छ, र यो अबका दिनमा पनि हुनु पर्दछ ।’ मिथीको शान्तिपूर्ण सहअस्तित्वको एउटा कारण सहरको भौगोलिक बनावट पनि हो । यहाँको एउटा सीमा भारतको राजस्थान हो ।

स्थानीय अनुसन्धाताको भनाइमा यो सहर १६औंँ शताब्दीमा शान्तिप्रेमी हिन्दूले निर्माण गरेका थिए । त्यसबखत सबैतिर युद्ध र लुटपाट चलिरहेको थियो । यहाँको माटो मलिलो थियो, तर पानीको अभाव थियो । ‘अहिंसा हाम्रो अर्को जन्मजात गुण हो,’ स्थानीयको भनाइ छ ।

तर, पाकिस्तानमा धार्मिक कट्टरवाद र घृणा फैलाउने अभिव्यक्ति बढेको छ, तथा धर्मको नाममा आस्था–आधारित हिंसा रोक्नेतर्फ खासै काम भएको छैन, एचआरसीपीले भनेको छ ।यही कारण मिथीको सहिष्णु समाज भत्किने खतरा एचआरसीपीले औँल्याएको छ ।

प्रतिक्रिया