नेकपाको एकता प्रक्रिया लम्बियो

काठमाडौं । नेकपाको एकीकरण प्रक्रिया फेरि लम्बिन थालेको छ । दसैँअगाडि नै तल्ला तहको एकता प्रक्रिया टुंग्याउने भने पनि नेताहरूको कार्यव्यस्तताको कारण देखाउँदै एकता प्रक्रिया लम्ब्याइएको हो ।

एकताका लागि पटक–पटक बोलाइएको सचिवालय बैठक पनि अहिलेसम्म बस्न सकेको छैन । ५ असोजयता सचिवालय बैठक तीनपटक बोलाएर स्थगित हँुदै आएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले एकता प्रक्रिया दसैँअगाडि सम्पन्न गर्ने भनेका थिए । तर, पार्टीभित्रको आन्तरिक विवाद मिलाउन र नेताको कार्यव्यस्तताका कारण सचिवालय बैठक बस्न सकेको छैन ।

लामो समयपछि सोमबार बसेको बैठक शीर्ष नेताको विदेश भ्रमणको ब्रिफिङमै सकिएको थियो । पुनः बुधबार बस्ने भनिएको बैठक बस्न सकेको छैन । स्रोतका अनुसार अर्को बैठक अब दसैँपछि मात्र बस्ने भएको छ ।

बैठक बस्न नसक्दा पार्टीलाई विभिन्न भ्रातृसंगठनले एकताका लागि बुझाएका प्रतिवेदनमाथि छलफल नै हुन सकेको छैन । लगातारको बैठक स्थगित हुँदा र कार्यसूचीमा एजेन्डा प्रवेश गर्न नसक्दा अब दसैँअघि नेकपाको तल्लो तहको एकता सम्भव देखिएको छैन ।

खासगरी माधवकुमार नेपालको असन्तुष्टि र वामदेव गौतमलाई उपनिर्वाचनबाट प्रतिनिधिसभामा ल्याउने पहलले गर्दा पार्टीको सचिवालय बैठकको नियमित कार्यसूची प्रभावित बन्दै आएको छ । कार्यसूची प्रभावित हुँदा एकताका लागि ठोस निर्णय नै गर्न सकेको छैन । अहिलेसम्म इन्जिनियर र निर्माण व्यवसायीको मात्र एकीकरण भएको छ । अन्य भ्रातृसंगठनको एकता प्याकेजमा गर्ने भनिए पनि बैठक नबस्दा समस्या भएको हो ।

पार्टी एकतालाई तल्लो कमिटीसम्म विस्तार गर्ने र सरकार सञ्चालन तथा समन्वयलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल केन्द्रित भएका वेला उपनिर्वाचनको सन्दर्भले विषयान्तर गरेको देखिन्छ ।

पार्टी एकता नहुँदा प्रदेश, जिल्ला र भ्रातृसंगठनका नेताहरू बेकामे भएका छन् । उनीहरू कहिले पार्टी एकता होला र नेतृत्व पाइन्छ भनेर नेताको घरदैलो चाहर्ने गरेका छन् ।

यही ५ असोजको सचिवालय बैठकले पार्टीका प्रदेश कमिटीका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारी तोकेकामा वरिष्ठ नेता नेपालले प्रस्तुत गरेको असन्तुष्टिका विषयमा पनि सचिवालयको बैठकमा छलफल हुन बाँकी छ । ३ जेठमा पार्टी एकता गर्दै तीन महिनाभित्र तल्ला कमिटीको एकीकरण गर्ने उद्घोषण गरेको नेकपाले पाँच महिना बित्दा दुई वटा भ्रातृसंगठनको मात्र एकता गरेको छ । एकता नहुँदा सबै कमिटी लथालिंग भएको छ ।

प्रतिक्रिया