ट्रम्प–किम बैठक ‘मध्यावधि निर्वाचनपछि’

वासिंगटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जङ(अन र उनीबीचको दोस्रो शिखर बैठक अमेरिकाको मध्यावधि निर्वाचनपछि हुने बताएका छन् ।

आउँदो नोभेम्बरमा अमेरिकामा मध्यावधि निर्वाचन हुँदैछ । पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले शिखर बैठकका लागि तीन(चारवटा स्थानबारे विचार भइरहेको बताए । उनले संयुक्त राज्य अमेरिका वा उत्तर कोरियामा पनि शिखर बैठक हुन सक्ने उल्लेख गरे ।

यसअघि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले प्योङ्याङमा किमसँग भेटवार्ता गरेर फर्केपछि आफूले उत्तर कोरियाको पूर्ण तथा अन्तिम निःशस्त्रीकरणको बाटो हेर्न सक्ने बताएका थिए । हालै संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उत्तर कोरियाली विदेशमन्त्रीले अमेरिकाले प्रतिबन्धहरूलाई निरन्तरता दिइराखे आफ्नो देशले निःशस्त्रीकरण नगर्ने चेतावनी दिएका थिए ।

गत जुनमा ट्रम्पले किमसँग ऐतिहासिक शिखर बैठक गरेका थिए, जहाँ किमले पारमाणविक निःशस्त्रीकरणका लागि काम गर्ने प्रतिबद्धता जनाए । बहालवाला अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीच सिंगापुरमा जुनमा भएको शिखर बैठक हालसम्मकै पहिलो अवसर थियो ।

दुवै नेताले नयाँ सम्बन्ध स्थापित गर्ने, ‘पूर्ण निःशस्त्रीकरणका लागि काम गर्ने’ र कोरियाली प्रायद्वीपमा दीर्घकालीन शान्तिका लागि काम गर्नेबारे एउटा सहमतिमा हस्ताक्षर गरेका थिए । यद्यपि, निःशरस्त्रीकरण कहिलेसम्म हुने र त्यसको प्रमाणीकरण कहिलेसम्म गरिने भन्नेबारे उक्त सहमति स्पष्ट छैन ।

एक वर्षअघि मात्रै अमेरिका र उत्तर कोरिया पारमाणविक युद्धबारे सार्वजनिक रूपमा बोल्ने गर्थे । ट्रम्प र किमबीच गत जुनमा भएको शिखर बैठक गराउन दक्षिण कोरियाली राष्ट्रपति मून जे–इनले महत्वपूर्ण भूमिका खेलेका थिए ।

प्रतिक्रिया