‘सरकारले जनमुखि भएन’

विराटनगर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले, दुईतिहाइको समर्थनमा बनेको वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको बताएका छन् । विराटनगरमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले कम्युुनिस्टको सरकारले थोरै समयमा धेरै अलोकतान्त्रिक काम गरेको बताए ।

उनले सरकारले शान्ति सुरक्षा दिन नसक्दा हत्या हिंसा तथा बलत्कारका घटना बढनुका साथै सरकारका नीतिका कारण कर वृद्धि तथा महँगी बढेका कारण जनता मारमा परेको बताए ।

नेता सिटौलाले सरकारको मूल्यांकन गर्ने हो भने जनताका लागि नभएर पार्टीका केही नेता र कार्यकर्ताका लागि मात्र सरकारले काम गरिरहेको बताए । नेता सिटौलाले यही अवस्थामा सरकार अघि बढे कांग्रेस चुप लागेर नबस्ने बताए ।

सरकारको राम्रो कामलाई समर्थन गर्ने तथा स्वेच्छाचारी ढंगले सरकार अघि बढे त्यसलाई रोक्ने काम पनि प्रतिपक्षको भएको उनको भनाइ थियो । नेता सिटौलाले निर्मला हत्याकाण्ड घटनालाई सरकारले ढाकछोप गर्न खोजेको आरोप लगाए । ‘घटना भएको लामो समय बितिसक्दा पनि दोषी पत्ता लगाउन नसक्नुले सरकार कमजोर भएको प्रस्ट हुन्छ’, उनले भने ।

उनले लोकतन्त्र र प्रजातन्त्रका लागि संघर्ष गर्दै आएको कांग्रेस प्रतिपक्षमा रहे पनि राष्ट्रलाई नेतृत्व दिने गरी कार्ययोजना बनाएर कांग्रेस अघि बढ्ने बताए । उनले संघीय संरचनाअनुसार पार्टीलाई रूपान्तरण गर्दै संगठनलाई बलियो बनाउन नयाँ नीति र कार्ययोजना आवश्यक रहेको बताए ।

निर्वाचनमा कांग्रेस पराजित भए पनि राष्ट्रलाई सही नेतृत्व दिन र जनताको मनोबल उच्च राख्ने गरी सरकारले गर्ने हरेक काममा कांग्रेसको सहयोग रहने नेता सिटौलाको भनाइ थियो । उनले कांग्रेसको आगामी महाधिवेशनले पार्टीलाई सही मार्ग दिने र परिवर्तनको पक्षमा पार्टीलाई अगाडि बढाउने व्यक्ति नै पार्टी सभापतिका लागि उपयुक्त हुने बताए ।

नेता सिटौलाले नेविसंघको उमेर हदका विषयमा पार्टी सभापतिले एकलौटी रूपमा गरेको निर्णय गलत भएको बताए । उनले पार्टी सभापति भइसकेपछि सबैलाई मिलाएर लैजानुपर्दछ भन्दै बहुमत छ भन्दैमा पार्टी सभापतिले जे पनि निर्णय गर्न नमिल्ने बताए ।

पार्टीलाई संगठित बनाउन एकता आवश्यक रहेको भन्दै त्यसतर्फ पार्टी सभापति लाग्नुपर्ने उनले बताए । ‘मैले पार्टी सभापतिको विरोध गरेको होइन, कार्यकाल रहुन्जेलसम्म उहाँलाई साथ र सहयोग रहिरहने भन्दै सभापतिले पनि सबैको सल्लाह र सुझाबअनुसार पार्टीमा निर्णय गर्नुपर्दछ,’ उनले भने ।

प्रतिक्रिया