छिमेकमै बैंक खुलेपछि स्थानीय दंग

बैतडी । जिल्लाका कुनाकाप्चाका स्थानीय जनता बैंक कारोबारका लागि जिल्ला सदरमुकाम धाउनुपर्ने दिन समाप्त भएको छ । सदरमुकाम गोठलापानीमा भएको एक मात्र राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट उनीहरूले कारोबार गर्नुपर्ने वाध्यता थियो ।

प्रत्येक स्थानीय तहमा बैंकको शाखा स्थापना गर्ने भने पनि शाखाको स्थापना हुन सकेको थिएन । अहिले भने गाउँमा नै बैंकको शाखा स्थापना भएपछि स्थानीय गाउँबाट नै कारोबार गर्न पाएका छन् ।

यो सेवा दिएको छ कृषि विकास बैंकले । बैंकको शाखा स्थापनासँगै सिगास गाउँपालिकाका नागरिकले बैंकिङ कारोबारका लागि जिल्ला सदरमुकाम जानुुपर्ने बाध्यता हटेको छ ।

सिगासजस्तै पञ्चेश्वर गाउँपालिकामा बैंक नहुँदा नागरिकलाई सास्ती थियो । गाउँपालिकाले बैंककै सेवा नभएका कारण सदरमुकामबाट पनि सेवा दिनुपर्ने बाध्यता थियो । गत वर्ष सदरमुकाम धाउँदा धाउँदा साह्रै दुख पाएको पञ्चेश्वरका स्थानिय मोती सिंह मंगोलाले वताए ।

मंगोला डाङा खानेपानी मर्मत उपभोक्ता समितिका अध्यक्ष हुन् । मंगोलाको दस्तखत नमिलेर चेक हराएकाले दुःख पाएका हुन् । खाता सञ्चालनकै लागि सदरमुकाम पुग्दा निकै झन्झट भएको थियो । अब गाउँपालिका नजिकै बैंकिङ सेवा सुरु भएको छ । यसले हामीलाई सजिलो भएको छ स्थानीय मंगोलाले भने ।

यस आर्थिक वर्षको सुरुदेखि गाउँपालिकामा नबिल बैंकले सेवा दिन थालेपछि बैंकिङ कारोबारका लागि सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य भएको गाउँपालिकाकी उपाध्यक्ष विना भट्टले बताए । उनले भनिन्, ‘गाउँपालिकाको कुलाउँमा बैंक स्थापना भएको छ । हामीलाई उपभोक्ता समितिका खाताहरू सञ्चालन गर्न पनि सजिलो हुन्छ । कसैले पनि बैंकिङ कामका लागी सदरमुकाम जानु पर्दैन ।’

सिगास र पञ्चेश्वर जस्तै जिल्लाका नौ ओटा स्थानीय तहमा बैंकको पहुँच पुगेको छ । दशरथचन्द नगरपालिका र पाटन नगरपालिकामा पहिलादेखि नै बैंकको पहुँच थियो भने बाँकी सात ओटामा संघीय संरचनापछि बैंक पुगेका हुन् । जिल्लाको शिवनाथ गाउँपालिकामा मात्रै बैंक पुग्न सकेको छैन । उक्त गाउँपालिकामा पनि नेपाल एसबीआई बैंकले आगामी महिनादेखि सेवा दिने गरी काम सुरु गरेको गाउँपालिकाकी उपाध्यक्ष कुस्मा चन्दले बताइन् ।

पुरचौंडी नगरपालिका र दोगडाकेदार गाउँपालिकामा ग्लोबल आइएमई बैंक, सुर्नया गाउँपालिकामा नेपाल इन्भेस्टमेन्ट बैंक, डिलाशैनी गाउँपालिकामा कुमारी बैंक, सिगास गाउँपालिकामा कृषि विकास बैंक, मेलौली नगरपालिकामा एनसिसी बैंक र पञ्चेश्वर गाउँपालिकामा नबिल बैंकले सेवा दिइरहेका छन् ।

गाउँपालिकामा बैंकले सेवा दिन थालेपछि बैंकिङ कारोबारका लागि सजिलो भएको सुर्नया गाउँपालिकाका अध्यक्ष बीरबहादुर बिष्टले बताए । उनले भने, ‘स्थानीय सरकारका सेवालाई प्रभावकारी बनाउन बैंकिङ सेवा पनि आवश्यक थियो । बैंक स्थापनापछि हामीहरूलाई कारोबार गर्न सजिलो भएको छ ।’

जिल्लाको दशरथचन्द नगरपालिका सदरमुकामस्थित नगरपालिका भएकाले त्यहाँ राष्ट्रिय वाणिज्य बैंकसहित निजी लगानीका बैंकहरूले पनि सेवा दिइरहेका छन् । त्यस्तै पाटन नगरपालिकामा कृषि विकास बैंकसहित अन्य निजी क्षेत्रका बैंकहरूले सेवा दिइरहेका छन् ।

प्रतिक्रिया