ललितपुरका सडकमा ‘स्मार्ट’ बत्ती

ललितपुर । रातको समयमा सडक दुर्घटनामा पर्नुभएको छ ? अँध्यारोमा सवारी चलाउँदा आफ्नो सवारीको बत्ती बिग्रिएर हैरान हुनुभएको पनि हुन सक्छ । अर्कातर्फबाट आएको सवारीको बत्ती धेरै चहकिलो हुँदा आँखा नै तिरीमिरी भएर पनि गाह्रो भएको हुन सक्छ ।

यदि तपाईं रातको समयमा पैदलयात्रा गर्नुहुन्छ भने अँध्यारोले गर्दा असुरक्षित महसुस गर्नुभएको होला । त्यसो हो भने अब ढुक्क हुनुहोस्, ललितपुर महानगरपालिकाको मुख्य सडक छिट्टै झलमल्ल हुँदै छ । महानगरपालिकाले सवारी आवागमन बढी हुने सडकमा ‘स्मार्ट’ बत्ती जडान गर्दै छ ।

सडकका खम्बामा ‘स्मार्ट’ बत्ती जडानपछि आवश्यक मात्रामा बत्ती बल्ने महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए । सडकका दुवैतर्फका खम्बामा बत्ती जडान हुँदै छ । स्मार्ट बत्ती जडान भएपछि यात्रु वा सवारीको चाप बढ्दा बत्ती धेरै बल्ने र कम हुँदै जाँदा घट्दै जानेछ ।

‘यात्रु र सवारी चालक आएपछि सबै बत्ती बल्छ भने नपर्दा आफैँ निभ्दै जान्छ,’ प्रवक्ता महर्जनले भने । चार वटा खम्बामध्ये पालैपालो एउटा खम्बामा बत्ती बल्ने उनले बताए । यसले गर्दा सिसिटिभीबाट पनि सडकका दृश्य देखिनेछ । बत्ती बल्दा गाडी नम्बर स्पष्ट देखिने उनले बताए ।

सवारीको चाप बढी हुने सडकमा तीन चरणमा गरेर ‘स्मार्ट’ बत्ती जडान गर्न लागिएको महानगरपालिकाले जनाएको छ । पहिलो चरणमा पुल्चोकबाट कुपन्डोलसम्मको सडकमा बत्ती जडान गर्न लागिएको प्रवक्ता महर्जनले बताए ।

यस क्षेत्रमा बत्ती जडानका लागि विद्युत् प्राधिकरणसँग सम्झौता भएर बोलपत्रसमेत भइसकेको छ । उनले भने, ‘दसैँअघि नै बत्ती जडान गरिसक्ने लक्ष्य लिइएको छ ।’ दसैँअघि बत्ती जडान गर्दा यस क्षेत्रमा सुरक्षा मजबुत हुने महानगरपालिकाले जनाएको छ ।

पहिलो चरणमा पुल्चोकसम्म जडान सकिएपछि अर्को चरणमा लगनखेलसम्म बत्ती जडान हुने प्रवक्ता महर्जनले बताए । लगनखेलबाट धापाखेल, पाटनढोका, पिम्बहाल लगायतका स्थानमा ‘स्मार्ट’ बत्ती जडान गर्दै जाने योजना उनले सुनाए । उनले भने, ‘आवश्यक भएका ठाउँमा बोलपत्र भइरहेको छ ।’

यात्रु र चालकको सहजता र सडक सुरक्षाका हिसाबले ‘स्मार्ट’ बत्ती जडानलाई महानगरपालिकाले प्राथमिकतामा राखेको महर्जनले बताए । कुपन्डोलबाट लगनखेलसम्म सबैभन्दा बढी सवारी चाप हुन्छ ।

मंगलबजार, पाटनढोकालगायत पर्यटकको आगमन हुने ठाउँलाई महानगरपालिकाले प्राथमिकता दिएको छ । स्थानीयवासी, यस क्षेत्रमा हिँड्ने यात्रु, चालक र पर्यटक सबैलाई ‘स्मार्ट’ बत्तीले सहज बनाउने उनले बताए । महर्जनले भने, ‘स्थानीयवासीको मागकै आधारमा हामीले विद्युत् प्राधिकरणसँगको सहकार्यमा बत्ती जडान गरिरहेका हौँ ।’

रातको समयमा सडक दुर्घटना धेरै हुने भन्दै त्यो कम गर्ने खालको सडक बत्ती जडान गर्न आवश्यक भएको ट्राफिक प्रहरीले बताउँदै आएको थियो । रातका समयमा सडक दुर्घटना र अपराधका घटना दुवै बढी हुने गर्दछ । यसअघि महानगरपालिकाका मुख्य र सहायक सडक कतै पनि सडक बत्ती थिएन ।

प्रतिक्रिया