जुत्ता नलगाउने चालकलाई कारबाही

ताप्लेजुङ । जुत्ता नलगाई सवारी चलाउनेलाई ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले कारबाही गर्ने भएको छ । १ साउनदेखि चालकलाई जुत्ता अनिवार्य गरेको ट्राफिक प्रहरीले ताप्लेजुङ पनि कार्यान्वयन गर्ने भएको हो ।

सार्वजनिक सवारी चालकलाई जुत्ता लगाउन ट्राफिकले एक साताको समय दिएको छ । पहिलो चरणमा सम्झाई बुझाई गर्ने र त्यसपछि पनि जुत्ता लगाउन अटेर गर्नेलाई कारबाही गरिने ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा यातायात व्यावसायीसँग गरिएको छलफलमा समेत यस विषयमा यातायात व्यावसायीलाई सचेत गराइएको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला यातायात व्यवस्थापन समितिका संयोजक अनुज भण्डारीले जानकारी दिए ।

यसैबीच, सवारीचालक र सहचालकले युनिफर्म लगाउनुपर्ने भएको छ । युनिफर्म अनिवार्य रूपमा लगाउनुपर्ने साथै परिचय पत्रको समेत व्यवस्था गर्नुपर्नेछ ।

चाडवाडको समयमा मादक पदार्थ सेवन गरी सवारी चलाउनेको संख्या बढ्न सक्ने भन्दै मापसे चेकजाँचमा ट्राफिक प्रहरीले कडाइ गर्न थालेको पनि बताइएको छ । निरन्तर रूपमा मापसे चेकिङ जारी राखेको र चेकिङका क्रममा मादक पदार्थ सेवन गरेको भेटिएमा निजी सवारी धनीहरूलाई १ हजार जरिवाना तथा लाइसेन्समा प्वाल पार्ने कार्य गरिरहेको ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख टंक मगरले जानकारी दिए ।

सार्वजनिक सवारी साधनलाई भने कारबाहीसँगै मुद्दासमेत चलाउने कानुनी प्रावधान रहेको बताइएको छ । यसैबीच बैठकले नगरपालिकाको संयोजनमा यसअघि भएको ट्राफिक व्यवस्थापन, भाडा दर, काउन्टर व्यवस्थानसम्बन्धी निर्णयहरूलाई कडाइका साथ कार्यान्वयनको विषयमा समेत समीक्षा भएको थियो ।

प्रतिक्रिया