‘भाडा बढ्यो, आम्दानी बढेन’

संखुवासभा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले सरकारले यातायातमा भाडा वृद्धि गरे पनि जनताको आम्दानी भने बढ्न नसकेको बताएकी छन् ।

शुक्रबार संखुवासभाको सदरमुकाम खाँदबारीमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सांसद संग्रौलाले यस्तो बताएकी हुन् । जनताले आत्मनिर्भर हुने कार्यक्रम पाउन नसकेको भन्दै ‘समृद्ध नेपाल सुखी नेपाली’ को सट्टा ‘दुःखी नेपाली’ भएको उनले बताइन् ।

सरकारले वृद्धि गरेको कर अत्यधिक भएको भन्दै डा संग्रौलाले वर्तमान सरकार संघीयतालाई कमजोर पार्नेतर्फ लागिपरेको दाबी गरिन् । उनले भनिन्, ‘कर गरिबका लागि शोषण र धनीका लागि पोषण भएको छ ।’

फरक प्रसंगमा बोल्दै डा संग्रौलाले चुनावबाट हार व्यहोरेको नेपाली कांग्रेस अब नयाँ ढंगले अघि बढेको बताइन् । स्थानीय तह र संघीय चुनावमा हार व्यहोरेपछि नेपाली कांग्रेसले जागरण अभियानअन्तर्गत कदम अगाडि बढाएको बताउँदै संग्रौलाले पाँच ओटा ‘स’ बाट कांग्रेस रूपान्तरण हुने बताइन् ।

पाँच वटा ‘स’ को अर्थ नेपाली कांग्रेसले सदनमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने, संवाद र सहमतिका काम गर्ने, त्यो नभए सडक तताउने र त्यो पनि नभए सत्याग्रह गर्ने उनको भनाइ थियो । नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले पहिलो चरणअन्तर्गत संसद्मा सशक्त प्रतिपक्षको भूमिका निभाउने उनले बताइन् । अब सरकारको आलोचना गर्न सुरुआत भएको उनको भनाइ छ ।

‘सरकारको राम्रो कामको प्रशंसा गर्दै नराम्रो कामको आलोचना गर्ने प्रतिपक्षको धर्म हो’, उनले भनिन्, ‘तर, अहिले सरकारले दण्डहीनता बढाएको, शान्ति सुरक्षा दिन नसकेको र मूल्यवृद्धि चरम उत्कर्षमा पुग्दा समेत नियन्त्रण गर्न सकेको छैन् ।’

‘सरकार दुई तिहाईको दम्भमा अघि बढेको छ । स्थानीय तहमा नागरिकको ढाड सेक्ने गरी कर बढाउँदासमेत सरकार टुलुटुलु हेरेर बसेको छ । ३३ केजी सुनकाण्डको मुख्य दोषी अझै पत्ता लगाउन सकेको छैन । यातायातको सिन्डिकेट हटाउन सकेको छैन’,उनले भनिन्, ‘सरकारले नालायकपना देखेर नागरिकहरूको विश्वास र भरोसा टुट्न थालेको छ ।’

कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाईंले प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यामा संलग्न दोषी अझै पत्ता लगाउन नसक्नु सरकारको कमजोरी भएको तर्फ इंगित गर्दै चापागाईले वर्तमान सरकारले न्यायलयलाई पनि आप्mनो पक्षमा पारेर कमजोर बनाएको आरोप लगाए ।

प्रतिक्रिया