एकतालगत्तै देशव्यापी अभियान

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले तल्ला तहका कमिटी र जनवर्गीय संगठनको एकतालाई टुंगो लगाएर देशव्यापी अभियान चलाउने भएको छ । आजका लागि बोलाइएको सचिवालयको बैठकले पार्टीभित्र देखिएको विवाद मिलाउँदै तल्ला तहका कमिटीको एकता गर्ने अध्यक्ष पुष्पकमल दाहालले जानकारी दिएका छन् ।

पछिल्लो समय प्रदेश इन्चार्ज र अध्यक्ष तोक्ने विषयमा पार्टीभित्र देखिएको विवाद मिलाउनसमेत शीर्ष नेताहरू आन्तरिक छलफलमा जुटेका थिए । वरिष्ठ नेता माधवकुमार नेपालले पोखेको असन्तुष्टि सुल्झाइएको र सचिवालय बैठकमा प्रदेश, जिल्ला र गाउँ तहसम्म एवं जनवर्गीय संगठनको एकता सम्पन्न गर्ने गरी अनौपचारिक सहमति भइसकेको बताइएको छ । अध्यक्ष दाहालले पार्टी एकीकरणमा कुनै समस्या नभएको भन्दै आइतबार बोलाइएको सचिवालय बैठकले धेरै विषय टुंग्याउने बताए ।

‘पार्टी एकतालाई सम्पन्न गर्ने र टुंग्याउने सवालमा कुनै त्यस्तो ठूलो समस्या छैन, आइतबारको बैठकबाट त्यो प्रक्रिया अगाडि बढ्छ, अब छिट्टै कार्यक्रम बनाएर देशभरि अभियानका रूपमा लैजाने समझदारी भइसकेको छ,’ अध्यक्ष दाहालको भनाइ छ । पार्टीका कमिटी र संगठनकोे एकता गरेपछि देशभर जागरण अभियान चलाउने नेकपाको तयारी छ । सरकारविरुद्ध अहिले विभिन्न अफवाह फैलिएको भन्दै त्यसलाई चिर्न र पार्टीलाई चलायमान बनाउन देशव्यापी अभियान आवश्यक रहेको नेताहरूले बताएका छन् ।

सरकारले आफ्ना क्रियाकलापलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै अध्यक्ष दाहालले भने, ‘पछिल्लो समय बढ्दै गएको महिला हिंसाका घटना, महँगी र भ्रष्टाचार नियन्त्रणका लागि अझै प्रभावकारी ढंगले काम गर्न प्रतिबद्ध छौँ ।’ गोरखामा आयोजित कार्यक्रममा उनले ‘समृद्ध नेपाल र सुखी नेपाली’ को संकल्प पूरा गर्न अब काम गरेर देखाउनुपर्ने वेला आएको समेत बताए ।

फरक प्रसंगमा अध्यक्ष दाहालले भूपरिवेष्टित देशका रूपमा चिनिने नेपालको परिभाषा अब छिट्टै परिवर्तन हुने बताए । ‘नेपाललाई यसअघि भूपरिवेष्टित देश भनेर चिनिन्थ्यो, अब चीन र भारत दुवै देशसँगको सिमाना हुँदै रेल मार्ग जोडिँदै छ, त्यसैले अब नेपाल ल्यान्ड लक्ड होइन, छिट्टै ल्यान्ड लिंक्ड कन्ट्रीका रूपमा चिनिनेछ,’ उनको भनाइ छ ।

प्रतिक्रिया