चीनको सिमानामा तानिए पर्यटक

मुस्ताङ । उपल्लो मुस्ताङमा पर्ने चीनको सिमाना कोरला नाकासम्म पर्यटकको आकर्षण बढ्दै गएको छ । सडक र सञ्चारले सिमानासम्म सोझै पहुँच पुगेपछि पोखरा हुँदै जोमसोम भएर कोरला सीमा क्षेत्रमा पर्यटक आउने क्रम बढेको छ ।

१० वर्ष अघिसम्म जोमसोम आउने पर्यटक मुक्तिनाथ मन्दिरसम्म पुगेर फर्कने गर्थे । उपल्लो मुस्ताङ उक्लन धेरै पर्यटकले हिम्मत गर्दैनथे । तर, अहिले झुसाङ फेदीबाट सोझै कोरला नजिकैसम्म गाडी चलेपछि जोकोही व्यक्ति पनि उपल्लो मुस्ताङको भ्रमण गर्न थालेका छन् । सडकको सुविधाले गर्दा उपल्लो मुस्ताङको लोमान्थाङ र कोरला सिमानासम्म पुग्न पर्यटकका लागि दुरी छोटिएको छ ।

मुक्तिनाथ मन्दिर, कागबेनी र थोराङलापास घुम्न आएका पर्यटक सोझै उपल्लो मुस्ताङ पुग्ने गरेका पर्यटन व्यवसायीहरूले बताएका छन् । कच्ची र धुलाम्मे सडकका कारण पैदलमार्गबाट आउन रुचाउने पर्यटकलाई भने सास्ती दिएको छ । तर, सजिलै उपल्लो मुस्ताङ हेर्न आउनेहरूलाई कच्ची सडकले भए पनि ठूलै राहत दिएको छ ।

केही वर्षअघिसम्म सुनसान थियो कोरला सिमाना र लोमान्थाङ बजार । पछिल्ला २ वर्षदेखि यो क्षेत्रमा पर्यटकको आगमन निकै बढेको छ । आन्तरिक पर्यटकको त उपल्लो मुस्ताङ हब नै बन्न थालेको छ । जोमसोममा जति नै पर्यटक आउने गरेको छोसेर गाउँका समाजसेवी कर्मा छिरिङले बताए । कति पर्यटकले होटेल नपाएर स्थानीयको घरमै बास बस्ने गरेको उनले सुनाए ।

चीनसँग जोडिएको सिमाना क्षेत्र भएकाले विदेशी पर्यटकका लागि यो इलाका आकर्षकको केन्द्र बन्दै गएको छ । चिसो मौसममा पनि पर्यटकहरू घुमफिर गर्न आएका छन् । हिउँ पर्ने मौसम सुरुवातदेखि नै मुस्ताङ भ्रमण गर्नेहरूको भिड निकै बढेको छ । अहिले हिउँ नपरे पनि विदेशी पर्यटक आगमन रोकिएको छैन ।

आन्तरिक पर्यटक चिसो मौसममा खासै आउँदैनन् । पहिले–पहिले लोमान्थाङसम्म आउने पर्यटक अहिले भने २५ किलोमिटर माथि नेचङसम्म पुग्न रुचाउने गरेका छन् । यसपालि लोमान्थाङबाट ३० किलोमिटर उत्तर कोरला नाका हेर्नेहरू पनि फाटफुट्ट पर्यटक देखिन थालेको स्थानीयले बताएका छन् । तर, विदेशी पर्यटकलाई सिमानासम्मै पुग्न अनुमति छैन ।

‘सडकको सुविधाले पनि पर्यटकहरू बोर्डरसम्म पुग्न थालेका छन्,’ छोन्हुप गाउँका छिरिङ गुरुङले भने, ‘पहिलेका वर्षभन्दा अहिले विदेशी र नेपालीहरू निकै आएका छन् ।’ विदेशी त सधैँ आउने गर्थे, गत वर्षसम्म फाटफुट्ट मात्र नेपाली आउँथे, तर चिनियाँ पर्यटक पनि आउने गरेका उनले सुनाए ।

मुक्तिनाथ मन्दिर घुम्नेहरू कोरला नाका हेर्न उत्सुक बनेपछि भ्रमण लम्ब्याएर उपल्लो मुस्ताङ पुग्ने गरेका छन् । अति चिसो मौसम सकिन लागेकोले सडक मार्गबाट कोरला पुग्न सहज बनेको छ । चिसोयाममा हिउँ पग्लन बन्द हुन्छ । अब विस्तारै हिउँ पग्लेर बनेका खोलाहरू निकै आकर्षक देखिन्छन् । ‘जति माथि पुग्यो, उति नेपाल पर्यटकका लागि आकर्षक भएको घुम्न आउने पर्यटकले सुनाउने गरेका छन् । केरुङ र तातोपानीभन्दा सामरिक र भौगोलिक रूपमा कोरलाको विशेषता अलग रहेको होटेल व्यवसायीहरूसँग पर्यटकले तारिफ गर्छन् ।

जोमसोमबाट कोरला पुग्न १ सय १२ किलोमिटर कच्ची सडक छिचोल्नुपर्छ । कोरला जाँदा वर्षायाममा यो मार्गको चैले र पाण्डाखोलामा पुल नहुँदा सवारी परिवर्तन गर्नुपर्ने अवस्था छ । तर, चिसो मौसममा पानीको बहाव नहुने भएकोले नदी तरेरै सवारी ओहोरदोहोर गर्छन् । छुसाङ गाउँको चैले खोला किनारमा रहेका होटेलहरूमा पर्यटक वास बस्छन् ।

उपल्लो मुस्ताङ भ्रमणको सहजतालाई ध्यानमा राखेर स्थानीय जिप व्यवसायीहरूले पर्यटक र स्थानीयलाई सुविधा दिएका छन् । पर्यटकका लागि आवश्यक अनुसारका जिपको व्यवस्था गरिएको मुक्तिनाथ दर्शन यातायात प्रालिका अध्यक्ष महेन्द्र थकालीले जानकारी दिए । ‘पर्यटकलाई मध्यनजर राखेर सवारी संख्या थप्दै गएका छौँ,’ उनले भने, ‘३३ वटा जिप र १४ वटा बसले उपल्लो मुस्ताङसम्म सेवा दिएका छौँ ।’ मुक्तिनाथ मन्दिर दर्शन गर्न आउनेहरू उपल्लो मुस्ताङ जान चाहेमा सवारीसाधनको अभाव नरहेको उनले बताए ।

सार्वजनिक बस, जिप र निजी सवारीबाट गत वर्ष ८ हजार नेपालीले उपल्लो मुस्ताङ भ्रमण गरेका थिए । अहिले यो संख्या बढेर १५ हजार पुग्ने अनुमान व्यवसायीहरूको छ । अन्नपूर्ण संरक्षण क्षेत्र एक्यापले सार्वजनिक गरेको तथ्यांकअनुसार यो आवमा ४ हजार १ सय १७ जना विदेशीले उपल्लो मुस्ताङ भ्रमण गरिसकेका छन् । यो अघिल्लो वर्षको तुलनामा २६ प्रतिशतले बढी हो । विदेशी र स्वदेशी पर्यटक आगमन बढेकोले यहाँका होटेल सञ्चालनमा कठिनाइ नभएको व्यवसायीले बताए ।

जोमसोमदेखि अहिले जिपबाट ८ घण्टामा कोरला पुग्न सकिन्छ । यहाँ आउने जोकोहीलाई चीनतर्फ समथर भूभाग अलि वर नेपालको भिरैभिर धरातल देख्नेबित्तिकै भूगोलले नै दुई देशको सिमाना कोरिदिएको लाग्ने गर्छ । कोरला फाँट उक्लने १४ किलोमिटरमा सार्वजनिक सवारी चल्ने अनुमति छैन । नेचुङबाट निजी सवारीमा कोरला सिमाना पुग्न सकिन्छ ।

प्रतिक्रिया