चितवन टाइगर्स च्याम्पियन


काठमाडौं । फ्रेन्चाइज क्लब चितवन टाइगर्स आधी–आवाधी एनभिए महिला भलिबल प्रतियोगितामा च्याम्पियनको बनेको छ । मंगलबार भएको उपाधि भिड्न्तमा चितवनले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ३–० को सोझो सेटमा हराउँदै च्याम्पियन बनेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा ३ अमेरिकी खेलाडी र अमेरिकी प्रशिक्षक रहेको चितवनले विभागीय टिम एपिएफलाई खेलभरि नै दबाबमा राख्यो । प्रतिस्पर्धा बनेको पहिलो सेटमा एपिएफले चुनौती दिने प्रयास गरे पनि चितवनले २५–२० ले जित्दै सेटमा अग्रता लियो । त्यसपछिको २ सेटमा चितवनले उत्कृष्ट प्रदर्शन गर्दै क्रमश : २५–१७ र २५–११ ले सहजै जित्न सफल भयो ।

उपाधिसँगै चितवनले ६ लाख रुपैयाँ पुरस्कार जितेको छ । उपविजेता बनेको एपिएफले ३ लाखमा चित्त बुझाएको छ । मंगलबार नै भएको तेस्रो स्थानको प्लेअफमा न्यु डायमण्डले नेपाल पुलिस क्लबलाई २५–१८, २५–२१ र २५–१९ को सोझो सेटमा हराएको थियो । तेस्रो न्यु डायमन्डले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो ।

प्रतियोगितामा चितवन टाइगर्सकी सेटर अरुणा शाही उत्कृष्ट खेलाडी चुनिइन् । उनले नगद ५० हजार र १ थान स्कुटर जित्न सफल भइन् ।

प्रायः पश्चिमाञ्चलबाट स्पाइकरको भूमिकामा कोर्टमा उत्रिने अरुणाले चितवनबाट सेटरको भूमिकालाई प्रामाणितसमेत गरेकी छिन् । साथै, अरुणाले सेटरको रूपमा राष्ट्रिय टिममा आफ्नो दाबेदारी पनि प्रस्तुत गरिन् ।

विजयी टोलीलाई पूर्वमन्त्री एवं सांसद शेरबहादुर तामाङ, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, महासचिव जितेन्द्र चन्द र आदीअवादी फाउन्डेसनका सिइओ दिनेश सिंहलगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया