ओली सरकारको औचित्य समाप्त

दसैँ र तिहार नजिकिँदै गर्दा महँगीले आकाश छोएको छ । जनता बिहान बेलुकाको छाक टार्न सकिरहेका छैनन् । देशको अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएको छ । देशमा सरकार छ कि छैन जनताले अनुभूति गर्नसमेत पाइरहेका छैनन् । देशमा लुटपाट बलात्कारका घटनाहरू दिन प्रतिदिन बढ्दै छन् ।

देशमा राजनीतिक व्यवस्था धेरै बदलिए, सरकार पनि पटकपटक बदलिए । ०६२÷६३ सालको जनआन्दोलनपछि प्राप्त उपलब्धिको रक्षाका लागि राजनीतिक दलहरू एकजुट पनि भए । सरकार पनि आलोपालो चलाए ।

तर, जनताको अवस्थामा कुनै पनि परिवर्तन दिन सकेनन् । अहिले देशमा कम्युनिस्टको सरकार छ । यो सरकारबाट जनताले धेरै राहत पाउँछन् भन्ने एक खालको आशा थियो ।

तर, सरकार बनेको पनि ६ महिनाभन्दा बढी भइसक्यो, जनताले राहतभन्दा आहात व्यहोरिरहेका छन् । दसैँ र तिहार नजिकिँदै गर्दा महँगीले आकाश छोएको छ । जनता बिहान बेलुकाको छाक टार्न सकिरहेका छैनन् ।

देशको अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएको छ । देशमा सरकार छ कि छैन जनताले अनुभूति गर्नसमेत पाइरहेका छैनन् । देशमा लुटपाट बलात्कारका घटनाहरू दिन प्रतिदिन बढ्दै छन् । सरकारले दोषीलाई कारबाही गर्नसमेत सकिरहेको छैन । सुरुका दिनमा सरकारले राम्रो काम गर्छ भन्ने संकेत त देखाएको थियो ।

तर, अहिले यति लामो समय बिती सक्दा पनि सरकारले मुलुकको भाग्य र भविष्य निर्माण गर्ने कुरामा किनपछि हटिरहेको छ । जनतालाई आशा जगाउने काम किन गर्न सकिरहेको छैन । जनता उकुसमुकुुसको अवस्थामा बाँच्न बाध्य भएका छन्त्र । यस्तो अवस्थाले देश चल्न समस्या हुन्छ ।

देशमा बेरोजगारी समस्या दिन प्रतिदिन बढ्दै छ । देशका युवा युवतीहरू विदेशको सपना बुन्न बाध्य छन् । सरकार विकास समृद्धिका कुरा गरेर थाक्दैनन् । सत्तारुढ दलकै नेताहरूले कम्युनिस्ट भन्न लाज लाई सक्यो भनिरहेकै छन् । यो के हो ? अब जनतालाई कसरी विश्वास दिलाउने भन्ने कुरामा सरकार धर्म संकटमा परिरहेको छ ।

जनताले देशमा विकास समृद्धिभन्दा पनि अब कसरी बाँच्ने भन्ने कुरामा चिन्तित हुन थालेका छन् । देशमा कुनै अवसर छैन । तिनै तहका सरकारमा कम्युनिस्टकै बहुमत छ । यस्तो वेलामा पनि सरकारले जनताको पक्षमा काम गर्न नसक्नुको मूल कारण के हो ? यो सरकारलाई काम गर्न केले रोकिरहेको छ ?

यो आमजनताको प्रश्न हो । देशभरि जनताले समस्या बढेको बताइरहेका छन् । समस्याको समाधान गर्न सरकारले किन सकिरहेको छैन ? देश अहिले संघीयताको अभ्यासमा छ । हो, स्वाभाविक रूपमा समस्या आउँछन्, आइरहेका पनि छन् । तर, देशको अर्थतन्त्रले यो संघीयता धान्न सक्छ कि सक्दैन यो भने आम चिन्ताको विषय बनेको छ ।

संघीयता विरोधी शक्तिहरू पनि यति वेला सलबलाउन थालिसकेका छन् । सबैलाई चित्त बुझाएर देशको शासन व्यवस्था चलाउन धेरै समस्या त अवश्य हुन्छ । तर, जनताको जनजीविकाका सवालमा सरकार कति सफल छ भन्ने कुरा नै महत्वपूर्ण कुरा हो । जनजीविकाका सवालमा सरकारले प्रभावकारी रूपमा काम गर्न नसकेकै हो । यो कुरालाई स्वीकार गर्नुपर्छ ।

बहुमतको सरकार छ भन्दैमा दम्भ देखाउने काम सरकारले गर्नु हुँदैन । किनभने, सरकार भनेको मुलुकको अभिभावक हो । सरकारबाट सबैले आशा गरेका हुन्छन् । विरोधी शक्तिहरूका पनि कुरा सुन्ने बानी बसाल्नुपर्छ । असन्तुष्ट समूहका मागहरू के छन् ती मागहरू सुन्ने र वार्ताको माध्यमबाट समस्याको समाधान गर्नेतिर लाग्नुपर्छ । तराई मधेसका मागहरू छन् ।

विप्लव माओवादीदेखि सबैका मागप्रति सरकारले गम्भीरता देखाउनुपर्छ । देशमा अशान्ति भयो भने विकास समृद्धिको सपना पूरा हुन सक्दैन । सबैभन्दा पहिला देशमा शान्ति कायम गर्नुपर्ने जरुरी छ । जबसम्म देशमा शान्ति हुँदैन तबसम्म देशले प्रगति उन्नति गर्न सक्दैन । देशको उन्नति प्रगतिका लागि सबै देशवासीहरूको सामूहिक प्रयास हुन जरुरी हुन्छ ।

एक्लो प्रयासले केही गर्न सकिँदैन । सरकार अब गतिका साथ लाग्नुपर्छ । यो सुस्त गतिले केही हुँदैन । अब सबैलाई मिलाएर लैजाने मार्गचित्र सरकारले कोर्नुपर्छ । यो वर्तमान सरकार स्थिर र बलियो सरकार हो । यो सरकारको विकल्पमा अरू छैन । सरकारले काम गरेर देखाउने समय हो यो ।

यो अवसरलाई सरकारले सही सदुपयोग गर्न सकेन भने भविष्यमा पछुताउनुबाहेक अरू कुनै उपाय हुनेछैन । जनताले यो सरकारलाई अग्नि परीक्षाको रूपमा लिएका छन् । समय सधैँभरि एक नासको हुँदैन । कम्युनिस्ट सरकार समयले ल्याएको हो ।

यो समयको वेगसँगै सरकारले काम गर्न सकेन भने जनताले अवश्य भोलिको दिनमा व्यवस्थाकै विकल्प खोज्छन् । जनतालाई व्यवस्थाको विकल्प खोज्न नदिनेगरी सरकारले काम गर्नुपर्छ । यो हाम्रो सुझाव हो । जनताले भन्दै छन् व्यवस्था बदलियो, अवस्था बदलिएन । योभन्दा जनताको निराशा अरू के हुन सक्छ ? यो निराशाको भाव हो ।

देशमा समृद्धिका कुरा गरेर मात्र हुँदैन । समृद्धिको बाधक तत्व भनेका सत्तासँग टाँसिएर बसेका ठुल्ठूला माफियाहरू छन् । ती माफियाहरूलाई सत्तासँग नजिक आउन दिनु हुँदैन । जबसम्म ती माफियाहरू सत्ताको नजिक पुग्छन् त्यस वेलासम्म देशले कुनै फड्को मार्न सक्नेछैन । आज देश माफियाले चलाएको छ भन्ने प्रचार गरिन्छ

यो वास्तवमा हाम्रो देशका लागि ठूलो दुर्भाग्य हो । देशमा परिवर्तनसँगै जनताको उन्नति प्रगति हुनुपर्ने हो, जुन हुन सकिरहेको छैन । सबै क्षेत्रमा अस्तव्यस्त छ । किसान, ससाना व्यापारी, मजदुरलगायत अहिले धेरै समस्यामा परेका छन् । आयस्रोतभन्दा महँगी अचाक्ली बढेर गयो ।

यस्तो भएपछि स्वाभाविक रूपमा समस्या हुने नै भो । सत्ताको वरिपरि घुम्ने, राज्यकोषबाट तलब भत्ता खानेलाई बाहेक अरू सबैलाई ठूलो समस्या छ । अहिले नजिकिँदै गरेको दसैँ तिहारले जनतामा त्यति रौनक छाएको छैन । जोसँग पैसा छ त्यसलाई मात्र मेला पर्वको रौनक हुनेगर्छ । दसै‌ं आमजनताका लागि दशा बन्ने अवस्था सिर्जना हुँदै गएको छ ।

किनभने, जनताले यो महँगीलाई कुनै हालतमा थेग्न सक्दैनन् । सरकारले दसैँको मुखमा आएर तेल, चामल, चिनी, दाललगायतका चिजमा मूल्य वृद्धि गरेको छ । यसले आमउपभोक्ताहरूलाई चिन्तित बनाएको छ । प्रतिपक्ष दल नेपाली कांग्रेसका भ्रातृ संघ÷संस्थाहरूले महँगीको विरोध गर्दै पनि आएका छन् ।

तर, सरकारले सुनिरहेको छैन । विगतका सरकार र अहिलेको सरकारमा कुनै फरकपन नआउने हो भने यो कम्युनिस्ट सरकार बनेको के अर्थ ? जनताले यसो पो भन्न थाले । कम्युनिस्ट सरकारले जनताको पक्षमा कुनै लोकप्रिय काम गरेर देखाउन सकेन भने कम्युनिस्ट पार्टीलाई भोलि समस्या आउने निश्चित छ ।

अब ठुल्ठूला कुरा गरेरभन्दा पनि जनताका ससाना काम गरेर देखाउनुपर्ने आवश्यकता देखियो । सरकारले देश र जनताको पक्षमा ६ महिनाभित्र सिन्कोसमेत भाँच्न सकेन भन्ने आरोप सत्तारुढ दलका वरिष्ठ नेता माधवकुमार नेपालले संसद्कै रोस्टममा उभिएर लगाइसके ।

अरू देश कहाँदेखि कहाँ पुगिसके हामी भने सधैँ भिख माग्दै देश चलाइरहेका छाैं। यसरी देश बन्दैन । देश बनाउने सोच नै देखिएन । धेरै व्यवस्था बदलियो, देश बदलिन सकेन । यो नै आमजनताको चिन्ता हो । जनताले चिन्ता गरेर मात्र के गर्ने? राजनीतिक दलहरू र तिनका नेताहरूलाई चिन्ता नलागेपछि कसको के लाग्छ र ?

सत्तामा तिनै दलका नेताहरू मन्त्री छन् । सरकारमा गएकाले राम्रो काम नगरेपछि देश नबन्दो रहेछ । सबै कमाउने धन्दामा व्यस्त छन् । देश र जनताको कुनै मतलव छैन । व्यवस्था बदलियो, नेता बदलिए तर देश र जनता बदलिन सकेनन् ।

प्रतिक्रिया