सौराहासँग जोडिए ७ पर्यटकीय क्षेत्र

चितवन । सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई लक्षित गर्दै चितवनमा पर्यटकीय गतिविधि बढाउन विभिन्न सात गन्तव्यलाई सौराहासँग जोडिएको छ । सौराहासँग जोडिएको सात स्थानमध्ये, वन्यजन्तु संग्रहालयदेखि धार्मिक एवं सांस्कृतिक तथा पर्यटकीयस्थलहरू रहेका छन् ।

सौराहासँग वभिन्न जैविक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रलाई जोडिएसँगै यहाँ आउने पर्यटकको बसाइँ लम्बिने पर्यटन व्यवसायीको विश्वास रहेको छ । सौराहा घुम्न आउने पर्यटकलाई लक्षित गर्दै क्षेत्रीय होटल संघ चितवनले सौराहाका विभिन्न स्थानसहित आसपासका क्षेत्रलाई समेटेर सात वटा गन्तव्य निर्माण गर्दै ‘टुर प्याकेज’ को घोषणा गरेको हो ।

सफारी पर्यटनमा मात्रै सीमित सौराहाको पर्यटनलाई विस्तार गर्दै चितवनमा रहेका पर्यटकीयस्थल थप गरी पर्यटकलाई आकर्षण गर्न खोजिएको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले बताए ।

सौराहामा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषको वन्यजन्तु अखेटोपहार संग्रहायल, सौराहाकै थारू संग्रहालय, सौराहा प्रवेशद्वारमा रहेको चित्रसेन बाबा मन्दिर, जिरौनामा रहेको श्रीकृष्ण प्रणामी मन्दिर (धर्मधाम), भरतपुरको तीन खोले गुम्बा, देवघाट धाम र नारायणी नदी किनारलाई सौराहासँग जोडिएको हो ।

पुरानै तरिकाले सौराहाको पर्यटन अगाडि बढिरहेको सन्दर्भमा सौराहा आउने पर्यटकलाई नयाँ स्वाद दिनको लागि सात गन्तव्यलाई सौराहासँग जोडिएको घिमिरेको भनाइ छ । चितवन आउने वाह्य पर्यटकमध्ये ९० प्रतिशत पर्यटक सौराहा आउने गरेको उल्लेख गर्दै घिमिरेले यिनीहरूलाई ती सात स्थानसम्म पु¥याउन सकिएको खण्डमा पर्यटकीय गतिविधि बढ्ने बताए ।

‘चितवन घुम्न आउने पर्यटक कति छन् भनेर हामीसँग कुनै तथ्यांक छैन’, घिमिरेले भने, ‘चितवन राष्ट्रिय निकुञ्जको तथ्यांकमा मात्रै हामी भर पर्नुपरेको छ, निकुञ्ज प्रवेश गर्नेबाहेक अन्य क्षेत्र घुम्न आउने पर्यटकको तथ्यांक हामीसँग छैन ।’ चितवन आउने पर्यटकहरूको तथ्यांक राख्न सकियो भने पर्यटकीय गतिविधि बढाउन सहज हुने घिमिरेको भनाइ छ । चितवनमा आउने पर्यटकलाई मेघौली तथा अन्य क्षेत्रसँग जोड्दै पर्यटकीय गतिविधि बढाउनका लागि क्षेत्रीय होटल संघले पहल गर्दै आएको घिमिरेले बताए ।

विश्वमा लगानी भएका अन्य क्षेत्रभन्दा पर्यटन क्षेत्रमा सबैभन्दा बढी लगानी भएको चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी बताउँछन् । नेपालको विकास कृषि, पर्यटन र जलविद्युत्को क्षेत्रबाट गर्न सकिने उल्लेख गर्दै दुवाडीले यी तीन वटै क्षेत्रलाई एकआपसमा जोडेर पर्यटन व्यवसाय सञ्चालन गर्न सकिने बताए । सौराहालाई पुनर्संरचना गर्दै पर्यटकीय गतिविधि बढाउनु आवश्यक रहेको दुवाडीको भनाइ छ ।

नेपालमा अझै पनि खेल पर्यटनलाई ध्यान दिन नसकिएको दुवाडीले बताए । साहसिक तथा नदी किनारमा हुने विभिन्न खेलका लागि नेपाल आकर्षणको केन्द्र बन्न सक्ने भएकाले त्यसतर्फ सबैले ध्यान दिनुपर्ने दुवाडीको भनाइ छ । सौराहासँग जोडिएको नयाँ गन्तव्यले पर्यटनलाई धार्मिक र सांस्कृतिक क्षेत्रसँग जोडेकाले चितवन आउने पर्यटकलाई राम्रै प्रभाव पार्ने दुवाडीले बताए ।

क्षेत्रीय होटल संघले नयाँ गन्तव्यको रूपमा छनोट गरेका धार्मिक, सांस्कृति तथा पर्यटकीय ती स्थानहरूमा आन्तरिक पर्यटकहरूको बाक्लो उपस्थिति हुने गरेको छ । सौराहामा पर्यटकीय क्षेत्र विस्तारका लागि स्थानीय सरकारले नदीमा वाटर किङ्डम, नदी किनारबाट साइक्लिङ लगायतका विभिन्न गतिविधि गर्ने तयारी गरेको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन बताउँछन् । पर्यटन विस्तारका लागि सौराहामा व्यवस्थित बसपार्क निर्माण गर्न एक करोड रुपैयाँ विनियोजन गरेको वनको भनाइ छ ।

सौराहा मात्रै नभएर चितवनलाई नै विस्तार गर्दै मेट्रो सिटीको अवधारणा अनुरूप अगाडि बढ्न सकेको खण्डमा पर्यटन विकाससँगै समृद्ध चितवनसमेत निर्माण गर्न सकिने वनले बताए । ‘पूर्वी नवलपरासी र मकवानपुरको केही भाग जोडेर बृहत् चितवनको अवधारणालाई अगाडि बढाउन सकिन्छ’, वनले भने, ‘जसका कारण चितवनमा सबै प्रकारको गतिविधि गर्ने गरी विकास गर्न सकिन्छ र यसले यहाँको आर्थिक, सामाजिक र पर्यटकीय क्षेत्रको विस्तारमा योगदान पुर्याउँछ ।’

सौराहा आउने पर्यटकहरूलाई नयाँ गन्तव्यमा नयाँ स्वाद दिलाउन सात स्थानको छुट्टै टुर प्याकेज घोषणा गरिएको हो । आव ०७४-७५ मा चितवनमा १ लाख ५२ हजार पर्यटक आएका थिए । नयाँ गन्तव्यसँगै सौराहालाई जोडिएपछि सौराहा आउने पर्यटकले बसाइँ लम्बाउने विश्वास रहेको छ । अहिले सौराहा आउने पर्यटकको बसाइँ सरदर दुई दिनको रहेको छ ।

प्रतिक्रिया