‘रोग लागेपछि परिवारले ‘कि यो मर्दिए हुन्थ्यो वा घर छाडेर अन्तै कतै गइदिए हुन्थ्यो’ भन्ने व्यवहार देखाए । ३५ वर्ष पहिला सिरहाको बन्दीपुरमा जन्मिएकी रमिला दाहाल नौ वर्षदेखि मिर्गौला रोगबाट पीडित छिन् ।
०६६ सालमा अचानक बेहोस भएकी उनलाई उपचारका लागि अस्पताल पुर्याइएको थियो ।
वेलावेलामा टाउको दुख्ने, वान्ता हुने र हेमोग्लोबिन कम हुँदै गएका कारण उनको दुवै मिर्गौला फेल भएको चिकित्सकले बताउँदा उनी छाँगाबाट खसेजस्तै भइन् ।
सामान्य रोग ठानेकी उनलाई शरीरमा त्यति ठूलो रोग लागेको शंका पनि थिएन । तर, उनको शंकाभन्दा रोग निकै अघि बढिसकेको रहेछ ।
जुन कुरा अस्पताल पुगेर उपचार गराउँदा थाहा भयो । तैपनि उनलाई उपचारमा परिवारको साथ पाउने आशा थियो त्यो आशा पनि टिक्न सकेन । जब पतिले समेत वास्ता गर्न छाडे । ‘सुरुमा टाउको दुःखाइलाई सामान्य ठानेँ रोगका बारेमा जानकारी भएन । आज दुवै मिर्गौलाले काम गर्दैन उपचार गर्न पैसाको अभाव छ ।
उनले आफ्नो समस्या एकै सासमा सुनाइन् । उनी उपचारका लागि हप्ताको तीनपटक वीर अस्पताल धाउछिन् । ‘रोग लागेपछि थाहा पाएँ, मिर्गौला खराब हुने विभिन्न लक्षण हुँदा रहेछन् । कसैलाई अत्यधिक मात्रामा चिनीरोग बढ्नु त कसैमा उच्च रक्तचाप बढ्नु त्यसको संकेत रहेछ,’ उनले भनिन् ।
रमिलालाई रोग लागेको सुरुका दिनमा घरपरिवारले उपचारका लागि सहयोग नगरेका होइनन् । तर, जब उनको मिर्गौलाले काम नगर्ने र यसको उपचार जटिल रहेको परिवारले थाहा पाए परिवारका सदस्य उनीबाट टाढा हुँदै गएको उनले बताइन् । उनलाई रोगले गाँजेको पाँच वर्षसम्म परिवारले वास्तै गरेनन् । त्यसमा उनीसँगै काखमा नाबालक छोरा पनि थियो।
‘घरले हेर्न छाडेपछि पाँच वर्ष छोरालाई अनाथ आश्रममा राखेँ, आफूले भने कैयौँ दिन सडकमा मागेर जीविका गरेँ ।’ साह्रै कष्टकर थिए मेरा ती दिन । अहिले भने पति साथमै छन्’, उनले बताइन् । पतिले वास्ता नगरेका समय उनले माइतीको आश्रममा केही समयको बिताएको बताइन् ।
‘बिहे गरेको छोरी त्यसमा यति ठूलो रोग लागेपछि सबै माइतीले सधैँ हेर्ने कुरै भएन, त्यसैले माइतीमा बसिरहन मन लागेन र सडकमा माग्ने भएँ ।’ विगत सम्झँदै उनले भनिन्, ‘सडकको माग्ने र म माग्नेमा कुनै फरक छैन, जसरी जीवन बचाउन र बालबच्चा पढाउन सडकमा एउटा माग्ने बसेको हुन्छ । त्यसैगरी म रोगीको हालत पनि उस्तै माग्नेसरह छ ।’
‘बिमारी सुरु भएको ५÷६ वर्ष मलाई निकै कष्ट भयो । पतिसँग नाता रहेर पनि साथ पाइनँ, पति÷पत्नी मर्दा र बाँच्दाका साथी भन्छन् मेरो लागि भने मृत्युसँग लडिरहेको वेला त्यो भनाइ लागू भएन ।’ भावुक हुँदै उनले भनिन्, ‘रोग लागेको थाहा पाएपछि साथ दिनु परै जाओस् परिवारका सदस्यले ‘यो मर्दिए हुन्थ्यो, कि त घर छाडेर अन्तै कहीँ गइदिए हुन्थ्यो जस्ता व्यवहार देखाए ।
ती सबै तिरस्कार सहेर केही वर्ष जिउँदो लास भएर म बसेँ । काखे छोरा अनाथ आश्रममा म आमा सडक बस्दा पति र सासूले कुनै वास्ता नै नगरी घरमा बसे । बाबुको कमाइ हुँदाहुँदै उनका छोरालाई आश्रमा राख्नुपर्यो त्यो भन्दा दुःखको कुरा के हुन्छ ?’ ‘सुनेको थिएँ, हजुरबुबा हजुरआमाका लागि साँवाको भन्दा व्याजको माया हुन्छ भन्ने, तर, मेरा घरमा त्यस्तो भएन उहाँहरूको व्यवहारले लाग्यो सारा संसार स्वार्थी छ ।’
अहिले पनि छोरा अनाथ आश्रममै बसेर पढिरहेको छ । छोरा साथमै भइदिए हुन्थ्यो भन्ने लाग्छ । आमाको लागि सन्तानको मायाभन्दा ठूलो केही हुँदैन । मलाई रोग नलागेको भए परिवारको माया पाउँथे होला, छोराले पनि घरमा बसेर पढन र बाबुको माया पाउथ्यो होला, उसले बाबु र आमाको साथ र माया पाउन नसेकोमा मलाई अत्यन्तै दुःख लाग्छ ।
के गर्ने मैले चाहेर पनि केही गर्न सक्दिनँ,’ उनले आफ्नो व्याथा सुनाइन् । छोरा अहिले १७ वर्षको भएको उनले सुनाइन् । आफूले अनेक कष्ठ सहेर पनि छोरा हुर्किएकोमा भने उनी खुसी छन् । अब बाँकी जीवन छोराको मुख हेरेर बाँच्ने उनले बताइन् । आफू रोगसँग जुधिरहे पनि छोराले परिवारको साथविना ११ कक्षामा पढदै रहेकोमा उनी खुसी छिन् ।
छोराको उज्ज्वल भविष्य सम्झँदै खुसी मुद्रामा उनले भनिन् । ‘मेरो विन्ती सुनिदिँदा एक संस्थाले छोराको जीवनमा उज्यालो छर्ने मौका दियो । अझ दुई÷चार वर्ष छोराले राम्रोसँग पढ्न पायो भने उसको भविष्य बन्ने थियो, मान्छेका लागि सबैभन्दा ठूलो सम्पत्ति शिक्षा हो भन्थे उसले पनि मेरो दुःख र अवस्था बुझेर मिहिनेत गरेर पढेको छ ।
मेरो पुकार र छोराको मिहिनेतले आज ऊ अगाडि बढ्दै छ । भविष्यमा राम्रो मान्छे बनोस् भन्ने मेरो चाहना पूरा गर्ला भन्ने लागेको छ ।’ ‘समाज स्वार्थी र आडम्बरी छ । यदि त्यस्तो नभएको भए मेरो र छोराको यो हालत हुँदैन थियो । अहिले के सोचेर हो कुन्नी चार वर्षदेखि पति मेरो साथमा छन् । उहाँको मलाई गर्ने व्यवहार सकारात्मक छ ।
उपचारमा पछि सहयोग गर्नुहुन्छ ।’ उनको वीर अस्पतालबाट डायलासिसको उपचार हुँदै आएको छ । मिर्गौला रोगीलाई सरकारले डायलासिसको उपचार निःशुल्क प्रदान गर्न थालेको छ । हप्ताको तीनपटक डायलासिस गर्नुपर्ने आफूजस्तै कैयौँ बिरामीलाई वीर अस्पतालले प्रर्याप्त मात्रामा सुविधा नदिएको उनले गुनासो गरिन् ।
उपचार सामग्री सुलभ होस् भनेर आफूलाई चाहिने सामान आफैँ किन्ने गरेको उनले सुनाइन् । तीन÷चार वर्ष पहिले अस्पतालले गुणस्तरीय डायलासिस दिने गरेकोमा अहिले त्यसको स्तर खस्किएको उनले सुनाइन् । ‘एउटै डायलासिस धोएर चार÷पाँच पटक प्रयोग गर्न मिल्थ्यो, अहिले मिल्दैन ।
मैले एउटै डायलासिस विगतमा धोएर ६ पटकसम्म प्रयोग गरेँ । हाल सरकारी अस्पतालमा डायलासिस सेवा फ्री हुँदा धुने चलन हटेको छ’, उनले बताइन् । मिर्गौला पीडितले आआफ्नो अवस्थाअनुसार औषधि प्रयोग गर्नुपर्ने वाध्यता रहेको उनले सुनाइन् । ‘म प्रेसरबाट ग्रसित मिर्गौला रोगी हुँ । मैले दैनिक खानालगायत औषधि सेवन गर्दा विशेष ध्यान पुर्याउनुपर्ने हुन्छ।
एक पत्ता क्याल्सियमको चार सय रुपैयाँ पथ्र्याे । त्यसले पाँच दिन पनि पुग्दैन थियो । औषधि उपचारमा निकै रकम खर्च हुन्छ । म र मजस्तै अन्य बिरामीलाई महिनामा एकपटक रगत चढाउनुपर्छ । ०७२ सालको भूकम्पपछि रगतको पनि अभाव भयो । शरीरमा रगत चढाउँदा थोरै पैसाको औषधि खाँदा हुन्थ्यो ।
तर, अहिले रगत चढाउनु नपर्दा इन्जिेक्सन लगाउनुपर्छ । एक इन्जिेक्सनको १५ देखि ३५ सयसम्म खर्च हुन्छ । महिनामा मेरो औषधि खर्च १० हजार रुपैयाँ हुन्छ । हप्ताको तीन इन्जिेक्सनमा पाँच हजार खर्च हुन्छ । डायलासिस गर्दा ६÷७ घण्टा लाग्छ ।’ अस्पताल धाउँदाको यातायात, खाजा, खाना र उपचारमा रमिलालाई मासिक २५ हजार लाग्ने गरेको उनले बताइन् ।
उनको उपचारमा आफन्त र साथीभाइले सहयोग गरे । अहिले सरकारले सहुलियत दिएको छ । निजी अस्पतालमा डायलासिस गराउँदा खर्च धेरै हुने र सेवा राम्रो पाइने भए पनि उनको आर्थिक अवस्था गर्दा उनलाई गाह्रो भएको सुनाइन् । सरकारी अस्पतालका नर्स र स्टाफहरूको रुखो बोली सुन्दा उनलाई अस्पताल आउन नपरे हुन्थ्यो भन्ने लाग्छ ।
वीर अस्पताल आउँदै जाने क्रममा त्यहाँका चिकित्सक र नर्सहरूसँग राम्रो सम्बन्ध बन्दै गयो । हिजोआज अस्पताल उनलाई घर र डाक्टर नर्स परिवारजस्तै लाग्न थालेको छ । मिर्गौला रोगीका लागि सरकारले डायलासिस सेवा दियो तर औषधि खरिदमा सेवा दिएको छैन ।
सरकारले सुलभ मूल्यमा औषधि पाउने व्यवस्था गरिदिए मिर्गौला रोगीको भात खाने पैसा बच्ने थियो उनले भनिन् । उनलाई कहिलेकाहीँ आफूलाई महिला भएका कारण परिवार र अन्यले राम्रो व्यवहार नगरेजस्तो लाग्छ । ‘मेरो ठाउँमा पतिको यो अवस्था भए म एकमिनेट पनि छाड्न सक्दैन थिएँ, मागेर वा भएको सम्पत्ति बेचेर पनि उपचार गर्ने थिएँ ।
तर, रोगले थलिएकी मैले नौ वर्ष एक्लै बिताए । त्यति वेला मलाई पुरुषहरू स्वार्थी हुन्छन् जस्तो लाग्यो, अरू पनि पुरुष रोगी अस्पताल आउँथे, उनीहरूको साथमा पत्नी हुन्थे, जुत्ता लगाइदिने, पानी खुवाइदिने गरेको देख्दा पीडा भोग्ने भाग महिलाको मात्रै हो कि जस्तो लाग्यो’, उनले भोगाइ सुनाइन् ।
उनका तीता भोगाइ र पीडादायिक दिन सम्झँदै ‘एक मिर्गौला पीडित भई जीवनलाई निरन्तरता दिनुपर्दा मलाई के यो जीवन चलाउन सजिलो भएको छ होला ?’ रमिलाले अचकल्टो र आफ्नो जीवनका अनिउत्तर प्रश्न राखिन् ।
प्रस्तुति : सुभानु आचार्य
प्रतिक्रिया