माल्दिभ्समा निर्वाचनको नतिजा अझै सार्वजनिक भएन

माले । माल्दिभ्सको निर्वाचन आयोगले राष्ट्रपतीय निर्वाचनको नतिजा चाँडै सार्वजनिक हुने दाबी गरेको छ । आयोगले औपचारिक रूपमा नतिजा सार्वजनिक गर्न ढिलाइ नहुने स्पष्ट पारेको छ ।

आयोगका प्रवक्ता अहमद अक्रामले सिन्ह्वालाई दिएको जानकारीअनुसार सत्तारुढ दल प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स (पिपिएम)ले केही चासोका विषय उठाएपनि औपचारिक नतिजा सार्वजनिक हुन ढिला हुने छैन ।

मुलुकको निर्वाचन कानुनमा निर्वाचन भएको सात दिन भित्रमा निर्वाचन आयोगले अन्तिम नतिजा सार्वजनिक गर्नै पर्ने व्यवस्था गरिएको छ । पिपिएमका नेताहरूले बुधबार अबेर स्थानीय पत्रकारहरूसँग निर्वाचनका बारेमा असन्तुष्टि व्यक्त गरेका थिए ।

पिपिएमको तर्फबाट केही टिप्पणीहरू आएको प्रमुख निर्वाचन आयुक्त अहमद शरीफले पनि पुष्टी गरेका छन् । शरीफले पिपिएमको टिप्पणीहरूलाई हेरेर उपयुक्त निर्णय लिने पनि स्पष्ट पारे । उनले यस्ता जे जति विवाद तथा टिप्पणीहरू भए पनि ती सबैको निरुपण गरेर चाडै नै निर्वाचन नतिजा सार्वजनिक गर्ने दाबी गरे ।

उनले कानुनमा व्यवस्था भएजस्तो सात दिनभन्दा बढी समय नलाग्ने स्पष्ट पारेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । अनौपचारिक रूपमा आएका विवरणहरूका अनुसार प्रतिपक्षी दलको तर्फबाट उम्मेदवार बनेका इब्राहिम मोहम्मद सोलिह राष्ट्रपतिमा विजयी भएका छन् । उनले ५८ दशमलव ३ प्रतिशत मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया