स्वास्थ्य बिमामा बढ्दो आकर्षण

बझाङ । जिल्लाका नागरिक नेपाल सरकार सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिद्वारा सञ्चालित तेस्रो चरणको स्वास्थ्य बिमा कार्यक्रममा आकर्षण दिनदिनै बढिरहेको छ ।

बिमा गरेको सानो रकमले आफू र आफ्नो परिवारको वर्षभरि औषधि उपचार गराउन सजिलो हुने देखिएपछि यहाँका स्थानीयवासी स्वास्थ्य बिमाप्रति आकर्षित भएका हुन् ।

घर दैलोमा पुगी बिमा गराउन बझाङका १२ वटै स्थानीय तहमा यतिखेर ९१ जना स्वास्थ्य बिमा दर्ता सहयोगी खटिरहेका छन् । ०७५ वैशाख ३० गते देखि सदस्यता वितरण कार्य सुरु गरिएको यस कार्यक्रममा असार मसान्तसम्म २ हजार ३ सय ६३ परिवारका करिब १२ हजार एक सय २९ व्यक्तिले स्वास्थ्य बिमा गरेको स्वास्थ्य बिमा वोर्ड जिल्ला कार्यालयले जनाएको छ ।

साउनदेखि असोज मध्यसम्मको तथ्यांकअनुसार जिल्लामा करिब ३ हजार ब्यक्तिले स्वास्थ्य बिमामा आबद्धता भइसकेको स्वास्थ्य बिमा बोर्ड जिल्ला कार्यालय बझाङका दर्ता अधिकारी खगेन्द्र भट्टले बताँए ।

उनले भने, ‘नेपाल सरकारको सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम सान्दर्भिक भएको भन्दै बझाङ जिल्लाका स्थानीयवासीमा स्वास्थ्य बिमाप्रति बढ्दो आकर्षण देखिएको र सुरुमा यो कार्य चुनौतीपूर्ण थियो यसलाई हामीले अवसरको रूपमा लिँदै आजकाल सहजरूपमा अगाडि बढाएका छाैँ ।

स्वास्थ्य बिमा बोर्ड जिल्ला कार्यालयको तथ्यांकअनुसार बझाङमा १८ सय ५३ अति गरिब परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गरिएको छ भने ५ सय १० परिवारले शुल्क तिरेर स्वास्थ्य बिमामा आबद्ध भएका छन् । एकै परिवारका ५ जना सदस्य बराबर वार्षिक २ हजार ५ सय रूपयाँ बिमा गर्नुपर्ने र ५ भन्दा बढी सदस्य भएको परिवारमा ४ सय २५ का दरले योगदान रकम लाग्ने बिमा बोर्डले जनाएको छ ।

एकै परिवारका ५ जना बराबर बिरामी भए सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमले प्रतिपरिवार वार्षिक पचास हजार बराबरको औषधि उपचारको सहुलियत पाउने भएका छन् । नेपालको संविधानले स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हकको रूपमा प्रत्याभूति गरेको छ भने स्वास्थ्य सुरक्षा कार्यक्रम आबद्धताले आम नागरिकलाई बिरामी पर्दा आर्थिक सुरक्षा प्रदान गर्छ ।

सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रममा सहभागी हुँदा परिवारका सदस्य बिरामी पर्दा औषधी उपचारमा सहजता हुने देखिएपछि आफूले स्वास्थ्य बिमामा आबद्धता भएको सुर्मा गाउँपालिका–४ का रामचन्द्र बोहराले बताए । स्वास्थ्य बिमाका फाइदा र औषधि उपचारमा हुने सहजताका विषयमा जानकारी दिदै यतिखेर स्वास्थ्य विमा दर्ता अधिकारी र दर्ता सहयोगीहरू बझाङका अतिदुर्गम बस्तीमा समेत खटिरहेका छन् ।

नेपाली नागरिकको स्वास्थ्य स्थितिमा सुधार ल्याउन राष्ट्रिय स्वास्थ्य बिमा निति २०७१ को दिर्घकालीन लक्ष्य र उद्देश्य अनुसार स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिएको बताइन्छ । स्वास्थ्य बिमा नेपाल सरकारको कार्यक्रम भएकाले नाफा नोक्सानमा केन्द्रित नभई आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुच र उपभोगमा सुधार ल्याउन सहयोग गर्ने भएको छ ।

आम नागरिकको स्वास्थ्यमा जोखिमता तथा सहयोग आदान प्रदान गर्नु यस स्वास्थ्य बिमा कार्यक्रमको मुख्य सिद्धान्त रहेको छ । राष्ट्रिय स्वास्थ्य बिमा नीति ०७१ र सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति (गठन आदेश) ०७१ जारी भई नेपालमा सर्वप्रथम सुदुरपश्चिम प्रदेशको कैलाली जिल्लाबाट २५ चैत्र ०७२ बाट सदस्यता वितरण कार्य शुभारम्भ गरी औपचारिक रूपमा स्वास्थ्य बिमा कार्यक्रम सुरुआत भएको थियो ।

प्रतिक्रिया