विकल्प बने मिस्टर नेपाल

काठमाडौं । चितवनका २५ वर्षीय विकल्पराज श्रेष्ठले १६ प्रतिस्पर्धीलाई उछिन्दै ‘मिस्टर नेपाल वल्र्ड २०१८’ को विजेता बनेका छन् ।

बिबिएस चौथो वर्षमा अध्ययनरत् श्रेष्ठले ‘बलात्कारीका लागि उपयुक्त सजाय के हुन सक्छ ?’ भन्ने निर्णायक अभिनेता सुनिल थापाले सोधेको प्रश्नको उत्कृष्ट जवाफ दिँदै विजेता बन्न सफल भएका हुन् ।

सोसल मिडिया उपाधिसमेत जितेका श्रेष्ठले प्रतियोगितामा मोटरबाइक, नगद ५० हजारका साथमा विभिन्न पुरस्कार प्राप्त गरे । त्यस्तै, श्रेष्ठले यसै वर्ष आयोजना हुने ‘मिस्टर वल्र्ड’ मा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

दरबारमार्गस्थित होटल अन्नपूर्णमा शनिबार अबेर साँझ सम्पन्न प्रतियोगितामा सुसन महर्जन मिस्टर नेपाल युनिभर्सल एम्बेसडर, सन्दिप केसी मिस्टर नेपाल म्यान अफ द इयर, प्रदीप न्यौपाने मिस्टर नेपाल मेनइन्टनेसनल, चन्दन चौधरी मिस्टर नेपाल मेनएटिच्युट चुनिए । त्यसैगरी सागर परियार एक्सपोजन नेपाल टुरिजम एम्बेसडर, सविन बराल एक्पोज नेपाल युथ एम्बेसडर र दिपेश श्रेष्ठ एक्पोज नेपाल स्पोड्स एम्बेसडर छानिए ।

महर्जन, केसी, न्यौपाने र चौधरीले नगद २० हजारसहित विभिन्न पुरस्कार प्रदान गरियो भने परियार, बराल र श्रेष्ठले नगद १५ हजारसहित आकर्षक उपहार प्राप्त पारे ।

अभिनेता सुनिल थापा, पूर्वडिआइजी विज्ञानराज शर्मा, गीतकार डा.कृष्णहरि बराल, बैंकर रविना देशराज जोशी, फोटोग्राफर राजभाई सुवाल, कोरियोग्राफर महेश केसी, कला सुब्बालगायत निर्णायक रहेको प्रतियोगितामा सागर परियार मिस्टर ट्यालेन्ट, चन्दन चौधरी मिस्टर फोटोजेनिक, सुशन महर्जन बेस्ट मोडल, रिसव पौडेल पब्लिक च्वाइस, जीवन रेग्मी एसएमएस स्टार छानिए । सबैले नगद १० हजारसहित अन्य विभिन्न उपहार हात परे ।

युवाको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृिद्ध, क्षमता उजागर गर्दै उज्वल भविष्य निर्माणमा अग्रसर गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको एक्सपोज नेपालकी सिइओ अर्चना थापाले बताइन् ।

अभिनेता कृष्ण मल्ल, रविन्द्र खड्का, व्यापारी अनिल केडिया, डिबी गुरुङ (महाप्रबन्धक राष्ट्रिय आवास कम्पनी) लगायतका अतिथिको उपस्थिति रहेको प्रतियोगितामा विभिन्न सांगीतिक प्रस्तुतिमार्फत मनोरञ्जन प्रदान गरिएको थियो ।

प्रतिक्रिया