एउटा धाराको एक महिनाको बिल ४८ हजार !

संखुवासभा । एउटा धारामा एक महिना पानी प्रयोग गरेको महसुल ४८ हजार रुपैयाँ उठ्यो भन्ने सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ ।

नलागोस् पनि कसरी, हदै भए एक महिनाको पानीको बिल पाँच हजारसम्म उठ्न सक्छ । तर यो वास्तविकता हो । जिल्ला कारागार खाँदबारीको भदौ महिनाको पानीको बिल ४८ हजार २ सय ८५ रुपैयाँ उठेको छ ।

मिटर बिग्रेको हो कि भनेर नयाँ मिटर जडान गर्दासमेत महसुल नघटेको कारागारका प्रमुख विनोद अधिकारीले बताए । यता, जिल्ला प्रहरी कार्यालयमा पनि भदौ महिनामा ४६ हजार ५ सय ८० रुपैयाँ उठ्यो ।

खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले जडान गरेको धारामा पानीको सट्टा हावा आउँदा पनि मिटर घुम्ने भएकाले पानीभन्दा हावाको शुल्क तिर्नुपरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामुकमार सारु मगरको भनाइ छ ।

‘हावाको पैसा कसरी तिर्ने ?,’ उनले भने, ‘हामीले गाडी र ट्यांकरबाट पानी बोकेर काम चलाइरहेका छौँ ।’ यता, जिल्ला प्रहरी कार्यालयमा नै असार महिनामा २६ हजार ७ सय रुपैयाँ उठेको थियो । खाँदबारी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले गत साउनदेखि खानेपानीको शुल्कमा ५३ प्रतिशत वृद्धि गरेपछि पानीको महसुल यसरी बढेको हो ।

खादबारी खानेपानी उपभोक्ता तथा सरसफाइ सस्थाका अनुसार न्यूनतम पाँच युनिटसम्म प्रतिमहिना १ सय ५० रुपैयाँ तिर्दै आएका उपभोक्ताले शुल्क वृद्धिपछि २ सय ३० रुपैयाँ तिरिरहेका छन् । ६ देखि १० युनिटसम्म प्रतियुनिट ४५ रुपैयाँ तिर्दै आएकाले अहिले ७० रुपैयाँ तिर्नुपर्छ । ११ देखि २० युनिटसम्म प्रतियुनिट १ सय ५ पुगेको छ ।

मासिक ५ सय तिर्दै आएका खाँदबारी–३ का उपभोक्ता छत्रमणि ओझाले तीन हजार रुपैयाँभन्दा माथि पुगेको गुनासो गरे । खानेपानीको महसुल बढेपछि उपभोक्ताहरूले आपूmहरूसँग छलफल नै नगरी शुल्क बढाएको भन्दै समितिलाई दबाब दिन हस्ताक्षर बुझाइ सकेका छन् ।

संस्थाले तीन हजार ५ सय ९९ उपभोक्तालाई पानी वितरण गर्ने लक्ष्य राखे पनि हालसम्म दुई हजार मात्र धारा जडान गरेको छ । आयोजना निर्माणको चरणमा पटक–पटक डिजाइन परिवर्तन हुँदा २५ प्रतिशत खर्च बढेकाले नगर विकास कोषसँग ऋण सम्झौता गर्दा शुल्क वृद्धि गर्ने सहमति गरिएको संस्थाका अध्यक्ष नरेन्द्र राईले बताए ।

शुल्क वृद्धि नगरिए थप ऋण नदिने भएपछि शुल्क बढाइएको उनको भनाइ छ । अहिले भेरिएसन अर्डर र मूल्य समायोजनसहित आयोजनाको खर्च रकम करिब ४६ करोड ५१ लाख रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया