आशंका गरिएका व्यक्तिकाे डिएनए मिलेन

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणमा निलम्बित एसपी डिल्लीराज विष्टसहित तीन जनाको डिएनए रिपोर्ट आइतबार सार्वजनिक गरिएको छ ।

प्रहरी स्रोतका अनुसार एसपी विष्ट सहितको रिपोर्ट निर्मलाको शवमा भेटिएको ‘भेजाइनल स्वाब’ सँग नमिलेको हो । ‘भेजाइनल स्वाब’मा भेटिएको बलात्कारीको शुक्रकिटसँग उनीहरूको नमुना मिलेको छैन ।

एसपी विष्टसहित उनका छोरा किरण र भीमदत्त नगरका मेयरका भतिजा आयुष विष्टको डिएनए परीक्षणका लागि रगतको नमुना लिएको थियो । छोरा र मेयरका भतिजाको पनि रिपोर्ट म्याच गरेन । यसअघि, दीलिपसिंह विष्टको डिएनए पनि ‘भेजाइनल स्वाब’सँग नमिलेपछि उनलाई रिहा गरिएको थियो ।

कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी विष्ट, उनका छोरा निर्मलाको ‘भेजाइनल स्वाब’सँग नमिलेपछि घटनामा को संलग्न थिए र कसलाई बचाउन प्रहरीले घटनाका प्रमाणहरू नष्ट गरेको थियो भन्ने विषय झनै रहस्य भएको छ ।

डिएनए विदेशमा परीक्षण गर्नुपर्छः मृतकका आमा–बुबा

निर्मलाको ‘भेजाइनल स्वाब’ र तत्कालीन एसपी विष्टसहित अन्यको डिएनए रिपोर्ट नमिलेपछि निर्मलाका बाबु आमाले घटनाको अनुसन्धानका नाममा सरकारले आँखामा छारो हालेको प्रतिक्रिया दिएका छन् । उनीहरूले सरकारबाट न्यायको कुनै आशा नभएको भन्दै सम्पूर्ण परीक्षण विदेशमा हुनुपर्ने माग गरेका छन् ।

‘यो सरकारले हामीलाई न्याय देला भन्ने विश्वास नै थिएन, बाबु यज्ञराजले भने, ‘विशेष परीक्षणका लागि उनीहरूको डिएनए विदेशमा लगेर टेस्ट गर्नुपर्ने हाम्रो माग छ ।’ ‘मैले काठमाडांैमा मन्त्रीलाई भनेको थिएँ, आशंका गरिएका व्यक्तिको डिएनए विदेशमा लगेर गरियोस् ।’

उनले थपे, ‘तर, मेरो कुरा सुनिएन, अहिले हामीलाई झन् ठूलो पीडा थपिएको छ’ उनले भने । आफूहरूलाई आशंका लागेका व्यक्तिहरूको गहिराइमा पुगेर अनुसन्धान नै नगरिएको उनको आरोप छ ।

‘घटनाको सुरुआत कहाँबाट भएको र को को व्यक्ति जोडिएका छन् भनेर पहिलेदेखि नै भनेका हौँ । तर, हामीलाई आशंका लागेका व्यक्तिहरूमाथि गहिरो अनुसन्धान नै गरिएन’, उनले भने,‘आशंका गरिएका व्यक्तिलाई उन्मुक्ति दिइयो ।’

निर्मलाकी आमा दुर्गा पन्तले प्रहरीले नै प्रमाण नष्ट गरेकाले यस्तो नमिल्दो रिपोर्ट आएको प्रतिक्रिया दिइन् । डिएनएमा रिपोर्ट नमिलेपछि अब हामीले न्याय कोबाट पाउने ? उनले चिन्ता व्यक्त गरिन् । ‘डिएनए मिलेन रे भन्ने सुन्दा झन् पीर परेको छ, पहिला प्रहरीले प्रमाण मेटाउने काम गरे ।

लुगा पखाले’ उनले भनिन्, ‘सबै प्रमाण नष्ट गरेपछि सही रिपोर्ट कसरी आउँछ र ?’ काठमाडौंमा भेट हुँदा प्रधानमन्त्रीको आश्वासनले न्याय पाइने आशा जागेको भए पनि अब यो देश भित्रबाट न्याय पाउने आशा मरेको दुःखेसो उनले पोखिन् ।

बाबु यज्ञराजले भने बम दिदी बहिनीको घरमा अझै खनतलासी नगरिएको भन्दै उनीहरूलाई पनि अनुसन्धानका नाममा बोलाएर त्यसै छाडिएको गुनासो गरे । बम दिदी–बहिनीलाई छाड्ने र एसपी विष्ट सहितको डिएनए परीक्षण गर्न ढिला गर्नु नै न्याय नदिने षड्यन्त्र भएको उनको भनाइ छ ।

निर्मला पन्तको बलात्कार–हत्या छानबिनका लागि गठित सह–सचिव हरि मैनाली नेतृत्वको समितिको सुझाबपछि गृहमन्त्री रामबहादुर थापाले एसपी विष्ट, उनका छोरा किरण विष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डिएनए परीक्षण गर्न निर्देशन दिएका थिए ।

आशंका गरिएका तीनै जनाको नमुना संकलन गरेर त्रिवि शिक्षण अस्पतालका डाक्टर र नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालाका प्राविधिकहरूले संयुक्त रूपमा डिएनए परीक्षण गरेका थिए । निर्मला पन्तको साउन १० गते साथी रोशनी बमको घरमा गएको बेला बलात्कारपछि हत्या भएको थियो । ११ गते उनको शव उखुबारीमा भेटिएको थियो ।

तीन जनाको डिएनए रिपोर्ट नेगेटिभ आएसँगै अनुसन्धान झन् जटिल बन्ने भएको छ । निर्मलाको बलात्कार हत्यामा प्रहरीले प्रमाण नष्ट गरेको र लापरबाही गरेको कुरा स्वयं गृहमन्त्रीले सार्वजनिक गरिसकेका छन् । गत बुधबार संसद्को राज्य व्यवस्था सांसदहरूले उठाएका प्रश्नको बुधबार जवाफ दिँदै गृहमन्त्री थापाले निर्मलाको हत्यापछि उनले लगाएका लुगा जलाएर प्रमाण नष्ट गरिएको बताएका थिए ।

‘अनुसन्धानमा प्रहरीको लाजलाग्दो गल्ती देखिएको छ । उनले लगाएका लुगा खोलेर जलाइएको छ,’ गृहमन्त्री थापाले भनेका थिए, ‘अर्को कुरा उनको शव साउन ११ गते भेटिएको थियो । त्यही दिन तयार भएको मुचुल्कामा बुबाको औँठाछाप छ । जबकि उनका बुबा भारतबाट १२ गते मात्र नेपाल आएका थिए ।’

त्यसैगरि, अनुसन्धानका नाममा प्रहरीले अहिले दुःख दिइरहेको स्थानीयले गुनासो गरेका छन् । घटना भएको स्थान र बम दिदी–बहिनीलाई अनुसन्धान गर्नुपर्नेमा प्रहरीले गाउँभरिका स्थानीयलाई अपराधीजस्तै पक्राउ गर्ने गरेको स्थानीयको गुनासो छ ।

दोषी छिट्टै पत्ता लाग्छः गृहमन्त्री

यसैबीच, गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्त हत्यासम्बन्धी गठित उच्चस्तरीय छानबिन समितिले सरकारलाई प्रतिवेदन बुझाइसकेकाले घटनामा संलग्न दोषी चाँडै पत्ता लाग्ने बताएका छन् । ‘निर्मलाको बलात्कारपछि हत्या गरिएको प्रतिवेदन मन्त्रिपरिषद्मा छलफलपछि सार्वजनिक गर्नेछौँ, उनले आइतबार विराटनगरमा सञ्चारकर्मीसँग भने, ‘अपराधीले उन्मुक्ति पाउनेछैनन् ।’

गृहमन्त्री थापाले वर्तमान सरकारले राम्रो काम गरिरहेकाले पराजित तथा विगतका षड्यन्त्रकारीले अत्तालिएर सरकारलाई विभिन्न किसिमले घेराबन्दी गर्ने काम गरिरहेको आरोप लगाए । मुलुकमा अस्थिरता चाहनेले सरकारले राम्रो काम गर्दा षड्यन्त्र गरिरहेका छन्, उनले भने, ‘सरकारले जनताको पक्षमा काम गरिरहन्छ ।’

त्यसैगरी, निर्मला पन्त हत्या प्रकरण छानबिन गर्न गठित समितिका सदस्य (उपसचिव) वीरेन्द्र केसी चढेको गाडीमा अज्ञात समूहले ढुंगा प्रहार गरेका छन् ।

आइतबार मध्याह्न कैलालीको धनगढीतर्फ आउँदै गरेको अवस्थामा केसीमाथि बोहोराडाँडी भन्ने स्थानमा ढुंगा प्रहार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ढुंगा हान्ने कार्यमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूको नाम प्रहरीले खुलाएको छैन । अज्ञात व्यक्तिहरूले केसी चढेको बा.२१ज ९७०३ नम्बरको गाडीमा ढुंगा प्रहार गर्दा पछाडिको सिसा फुटेको छ ।

प्रतिक्रिया