पैदलयात्रुको लागि सडक व्यवस्थित बनाइदैं

नेपालगञ्ज । नेपालगञ्जमा पैदलयात्रुको आवागमन व्यवस्थित बनाउने काम सुरु भएको छ । नेपालगञ्ज उप–महानगरपालिकाले सडक क्षेत्रमा सडक अतिक्रमण हटाउन सुरु गरेको जनाएको छ ।

पैदलयात्रुको आवागमनमा अवरोध हुने गरी सडकपेटी तथा फुटपाथ कब्जाको प्रयास भएपछि उपमहानगरपालिकाले फुटपाथबाट अतिक्रमण हटाउने अभियान सुरु गरेको हो ।

ढल तथा नालामाथिको फुटपाथमा ठेला राख्ने, पसलेले सामान, बोर्ड, मोटरसाइकल राख्ने गर्नाले आवागमनमा कठिनाइ हुनुका साथै कुरूपता बढ्दै गएपछि शुक्रबार कार्यवाहक नगर प्रमुख उमा थापा मगर नेतृत्वको टोलीले सुर्खेत रोडबाट सडक अतिक्रमण हटाउन सुरु गरेको हो ।

प्रहरी दस्तासहित जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक अरुण पौडेल, वडा नम्बर ४ का अध्यक्ष मो.सफिक वेहना, २ नम्बर वडा अध्यक्ष सुनीलसिंह हमाल, उपमहानगरपालिकाका निरीक्षण शाखाका प्रमुख पवन कनौजिया, नगर प्रहरीसहितको टोलीले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल अगाडिबाट फुटपाथ खाली गराउन सुरु गरेको थियो ।

दिउँसो चर्को घाममा सुरु गरिएको सडकपेटी खाली गर्ने अभियानअन्तर्गत शुक्रवार धम्वोझीसम्म दुवै तर्फ खाली गराइएको छ । सहज हिँड्डुल गर्न नसक्ने गरी सडक पेटीमा राखिएका ठेला, सर सामान, साइकल, हेल्मेटहरू नियन्त्रणमा लिइएको छ ।

नियन्त्रणमा लिइएको दुई ट्रक सरसामान फिर्ता नगरिने पनि उपमहानगरपालिकाले जनाएको छ । यसअघि तेस्रो नगरसभाले माइकिङ गरेर सचेत गराउने, खाली नगरिए जफत गरिएको सामान फिर्ता नगर्ने निर्णय गरिसकेको छ ।

सचेत गराउँदा गराउँदै सडकपेटीमा सामान राखेको पाइएमा थप कारबाही गरिने निरिक्षण शाखाका प्रमुख कनौजियाले जानकारी दिए । अभियानको निरन्तरतासँगै थप प्रभावकारी बनाइनुपर्ने यात्रुहरूको माग रहँदै आएको छ ।

केही ठेला उठाइँदा फुटपाथमा बसेर ठेला व्यापार गर्नेहरूले उपमहानगरपालिकाविरुद्ध नाराबाजी गर्दै केही बेर मुलगेट घेराउसमेत गरेका छन् । थप छलफलका लागि ठेला व्यवसायी व्यवस्थापन समितिका पदाधिकारीलाई आइतबार उपमहानगरपालिका बोलाइएको कार्यवाहक नगर प्रमुख थापाले बताईन । नगरका थप सडक पेटीसमेत व्यवस्थित गरिने उपमहानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया