अनियन्त्रित अपराध

पछिल्ला केही महिनामा जघन्य अपराधका घटना ह्वात्तै बढेका छन् । हत्या हिंसाका प्रकृति पनि निकै कहालीलाग्दा छन् । बालिकालाई बलात्कार गरी हत्या गर्ने, शारीरिक सम्पर्कको प्रस्ताव नमानेकै कारण एसिड खन्याएर हत्या गर्नेजस्ता विभत्स अपराधहरू पछिल्लो समयमा किन बढ्दै छन् त ? यो प्रश्नको उत्तर यतिवेला खोजीको विषय बनेको छ । समाजमा हिजो पनि अपराध हुन्थ्यो तर, अधिकांश अपराध आर्थिक लाभसँग जोडिएका हुन्थे । बलात्कार, एसिड आक्रमणजस्ता पछिल्लो समयमा फष्टाएका अपराधहरू आर्थिक लाभसँग पनि सम्बन्धित देखिँदैनन् । हिजो अपराधको मुख्य कारकका रूपमा गरिबी तथा अशिक्षालाई लिने गरिन्थ्यो तर मुलुकमा गरिबको दर घटेको छ । २१ प्रतिशत नेपाली गरिबीको रेखामुनि रहेको तथ्यांक छ । गरिबीकै कारण भोकै रहनुपर्ने अवस्थामा नेपालीहरू छैनन् । जबकी, केही दशक अघिसम्म ५० प्रतिशत नेपाली गरिबीको रेखामुनि थिए । गरिबीकै कारण खान नपाएर मर्नुपर्ने अवस्था थियो । तर, गरिबी जति जति कम हु“दै गयो अपराधका घटना पनि त्यति त्यति बढ्दै जानु भनेको सोचनीय पक्ष हो । यसैगरी, केही दशक अघिसम्म ७० प्रतिशत नेपाली निरक्षर थिए , आज ७० प्रतिशत नेपाली साक्षर छन् । साक्षरता भनेको चेतनाको स्तर बढ्नु हो । चेतनाको स्तर जति बढ्यो अपराधका घटना पनि त्यति नै बढ्नु भनेको सोचनीय पक्ष हो ।

जघन्य अपराधका घटना बढ्नुका तथ्यगत कारणहरू खोजी गरी जरोदेखि नै उपचार गर्नु जरुरी भइसकेको छ । पञ्चायतकालको उत्तराद्र्धका वेलासम्म पनि खैरो कपडा लगाएर हातमा एउटा छडि बोकेको सिपाही गाउँ–टोल पस्नासाथ आपराधिक मनोवृत्तिका व्यक्तिहरू त्राहीमाम हुने अवस्था थियो । जनताले आपराधिक मानसिकता भएकाहरूको सूची सजिलै प्रहरीलाई बुझाइदिन्थे । तर, आज ठीक उल्टो अवस्था छ । अपराधीको सूची जसले प्रहरीलाई बुझाउ“छ त्यही व्यक्ति असुरक्षित हुन्छ । पहिलो कुरा त केही अपराधीहरू नै प्रहरी संगठनमा छिरेका छन् । यस्ता प्रहरीहरू अपराधीका सूचना स्रोत बनेका छन् । दोस्रो कुरा राजनीतिक दल तथा तिनका नेताहरूले दलगत तथा व्यक्तिगत स्वार्थका लागि अपराधी पालिरहेका छन् । त्यस्ता अपराधीलाई छुनासाथ प्रहरीको जागिर धरापमा पर्ने अवस्था छ । कुमार घैँटे तथा दिनेश अधिकारी प्रकरणमा अपराधीको पक्ष लिँदै केही नेताहरूले संसद्मा समेत कुरा उठाएको ताजा नजीर छ । सरकार तथा राजनीतिक दलको नेतृत्व तहमै अपराधीहरू पुगेका कारण प्रहरी संगठनको मनोबल गिरेको छ । प्रहरी संगठनको मनोबल गिर्नु भनेको अपराधीहरूको मनोबल स्वतः माथि उठ्नु हो ।
कञ्चनपुरकी निर्मला पन्तको बलात्कार तथा हत्या गरिएको दुई महिना बितिसकेको छ । हत्यारा पत्ता लगाएर कारबाहीको माग गर्दै मुलुक जुरुक्क उचालिएको छ । कुनै आपराधिक घटनाका विषयलाई लिएर सरकार माथि यति ठूलो दबाब यसअघि कहिल्यै भएको थिएन । यति ठूलो दबाबका बाबजुद हत्यारा पत्ता लगाउन मुलुकको राज्य संयन्त्र असफल भएको छ । राज्य संयन्त्र यति निकम्मा भएको यर्थाथताप्रति आपराधिक मनोवृत्तिका मान्छेहरू सूचित भएका छन् । ‘जे गरे पनि सजिलै उम्कन सकिने रहेछ, कसैले केही लछारपाटो लगाउन सक्ने रहेनछ’ भन्ने कुरा अपराधीहरूको दिमागमा नघुसेको भए प्रदेश–७ मा मात्रै निर्मला प्रकरणपछि बलात्कारका २८ वटा घटना थपिने थिएनन् । त्यसैगरी, भारतीय सञ्चार माध्यमको निर्बाध प्रभाव पनि अपराधका घटना थपिनुको एउटा कारण हो । खासगरी, बलात्कारपछि हत्या गर्न र शारीरिक सम्पर्क गर्न नमाने एसिड खन्याइदिन नेपालका अपराधीहरूले सिकेको भारतीय सञ्चार माध्यमबाट नै हो । स्वदेशी सञ्चार माध्यमहरू आफैँ सक्षम भइसकेको अवस्थामा भारतीय सञ्चार माध्यमको आवश्यकता छैन । बिबिसी, सिएनएन लगायतका केही जिम्मेवार तथा महत्वपूर्ण अन्तर्राष्ट्रिय च्यानलबाहेक विदेशी टेलिभिजन च्यानलहरूमाथि प्रतिबन्ध लगाउन ढिलाइ गर्नुहुन्न । जहा“ भारतीय टेलिभिजन च्यानल धेरै हेरिन्छ त्यहा“ नै बलात्कारपछि हत्या र एसिड आक्रमणका घटना बढेको देखिएको छ ।

प्रतिक्रिया