रेबिज रोग विषाणुको कारणले लाग्ने एउटा अति नै खतरनाक तथा प्राणघातक जुनोटिक रोग हो । सन् १८२२ मा फ्रान्समा जन्मिएका लुइस पास्चरले सन् १८५५ मा रेबिज रोगबारे विभिन्न तथ्यहरू पत्ता लगाएका थिए । रेबिज रोग आफैँमा प्राणघातक रोग रहेको छ भन्ने कुरा पत्ता लगाएर सन् १८९५ मा लुइस पास्चर यस संसारबाट बिदा भए ।
पछि उनको सम्झनामा यो डरलाग्दो रोगलाई केही हदसम्म भए पनि न्यूनीकरण गर्ने उद्देश्य राख्दै विश्वमा हरेक सेप्टेम्बर २८ मा विश्व रेबिज दिवस मनाइँदै आइएको छ । नेपालको सन्दर्भमा पनि हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै मनाइँदै आइएको छ । हालैको सर्वेक्षणअनुसार रेबिज रोगबाट हरेक वर्ष विश्वमा ५२ हजार मानिसले ज्यान गुमाइरहेका छन् ।
हरेक १० मिनेटमा एक जना मानिको मृत्यु रेबिजको कारणले भइरहको छ । हरेक वर्ष नेपालमा यसको तथ्यांक पनि बढ्दो क्रममा छ । १ सय ५० देखि दुई सयसम्म प्रत्येक वर्ष नेपालमा यो रोगको संक्रमणबाट नेपालीले ज्यान गुमाइरहेका छन् । विशेषगरी मानिस र पशुमा यो रोग लाग्छ ।
यो जुनोटिक रोग भएकाले मुख्य पशु र मानिससँग सम्बन्धित रहेको छ । कुकुरको मानसिक सन्तुलन ठीक नभएपछि (बौलाहा भएपछि) मानिसलाई टोक्ने गर्दछ । यो रोग विशेषगरी एसिया र अफ्रिकी देशहरूमा बढी देखा पर्दै आइरहेको छ । जापान, अस्टे«लिया, सिंगापुरजस्ता देशमा रेबिज फ्री मानिन्छ ।
विकसित देश र अविकसित देशको तुलनामा पनि यो रोगको मात्रामा थपघट रहँदै आएको छ । कुकुर घरको पहरेदार मान्दै नेपाली समाजमा कुकुरहरू ज्यादा पाल्ने गरिँदै आएको छ । समुदायमा रहेका भुस्याहा कुकुर र घरमा पालिने कुकुरमा धेरै भिन्नता भए पनि कुकुरको मानसिक सन्तुलनमा भने जुनसुकै कुकुरलाई जुनसुकै समयमा पनि देखापर्न सक्छ ।
आजको २१औँ शताब्दीमा आएर पनि मानिसहरूमा चेतनाकै कारण कुकुरले टोकेपछि झारफुकमा विश्वास गर्ने नेपाली समाजको यथार्थतालाई सर्वप्रथम उन्मूलन गर्नु जरुरी छ । आज हरेक दिन सहरी र ग्रामीण इलाकाबाट दिनमा सयौँ बिरामी कुकुरको टोकाइले अस्पताल आउने गर्दछन् ।
हरेक वर्ष तीन हजार मानिस अस्पतालमा सुई लगाउन मात्रै आउने तथ्यांक छ । कुकुरले टोक्ने बित्तिकै रेबिज लाग्यो भन्नु पनि यस भित्रको भ्रम हो । बहुलाएको कुकुरले टोकेको घाउमा कुकुरको र्यालबाट देखिने विषाणुहरूले घाउमा संक्रमण सुरु गरेपछि मानिस र पशुमा विभिन्न लक्षणहरू देखापर्न थाल्दछन् अनि रेबिज रोग लाग्छ ।
रेबिज रोग लाग्ने माध्यम विशेष कुकुर भए पनि मुसो, चमेरोबाट पनि यो रोग संक्रमण हुँदै आएको पाइन्छ । रेबिज लागेको मानिसमा अचानक ज्वरो आउनु, आवाजमा अकस्मात् परिवर्तन हुनु, मुखबाट र्याल बग्न थाल्नु आँखाहरू रातो हुनु, पानीदेखि डराउन थाल्नु, आफूभन्दा अलग किसिमका वस्तुहरूलाई टोक्ने झम्टने गर्नु यसका मुख्य लक्षणहरू हुन् ।
यो रोग लागेपछि मस्तिष्कलाई धेरै नै प्रभावित बनाउने काम गर्दछ । यस्ता लक्षणहरू देखापरेको केही क्षणमा नै मानिस या संक्रमित पशुको मृत्यु हुन्छ । रेबिज लागेपछि तुरुन्तै उपचार सम्भव भए पनि दीर्घकालीन उपचार भने हालसम्म पत्ता लागेको छैन । यदि, कुकुर बौलाहाएको छ र त्यो कुकुरले मान्छेलाई टोकेको छ भने कुकुर पनि १० देखि १४ दिनभित्रै मर्छ।
यसले कुकुरको बौलाहा भएको संकेत दिन्छ । एकोहोरो हुने, टाङमुनि पुच्छर लैजाने हरक्षणमा लुकाउनेजस्ता क्रियाकलाप कुकुरले गरेमा पनि बौलाहाएकै हो भन्ने कुरा थाहा पाउन सकिन्छ । कुकुरले टोकेकै दिनदेखि भ्याक्सिन लगाउन सकिन्छ । टोकेको दिनलाई शून्य दिन मानी ३, ७, १४, २८ र ९० दिनसम्म पनि भ्याक्सिन लगाउन सकिन्छ ।
कुकुरमा उक्त भाइरस जंगली जनावरमार्फत सर्ने भएकाले र जंगली संक्रमित पशुमा हुने भएकोले गर्दा यसरी एक अर्कामा सर्ने र अन्त्यमा मानिससम्म आइपुग्ने गर्दछ । कुकुर पाल्दै नपाल्नु भन्ने होइन कि सोखसँगै सामाजिक मर्यादालाई पनि ख्याल गरौँ भन्ने कुरा हो । जबकि, कहिले सोखमा कुकुर पाल्नेले आफ्नो जन्मदिने जन्मदातालाई वृद्धाश्रममा छोडिदिन्छन् ।
आज राजधानी काठमाडाैमा मात्रै होइन हरेक नगरपालिकाहरूमा छाडा छोडिएका भुस्याहा कुकुरहरूको आतंक छ । हरेक दिनजसो अस्पतालमा कुकुरले टोकेका बिरामीहरू सयौँ आउँछन् । नेपालको सन्दर्भमा रेबिज लाग्नै नदिने उपाय भनेको कुकुरहरूलाई बन्ध्याकरण गरी कुकुरको संख्यामा कमी ल्याउँदै नियन्त्रण गर्नु नै महत्वपूर्ण उपाय मानिन्छ ।
कुकुरलाई कानुनले मार्ने मान्यता नदिए पनि यसरी संख्यामा कम गर्न सकिन्छ । कुकुरले टोकेपछि शरीरको ठाउँअनुसार संक्रमण गर्ने समय हुन्छ । विकसित देशहरूमा हाल आएर हावाको माध्यमबाट पनि यो भाइरस सर्ने देखिँदै आएको छ ।
यस वर्ष पनि ‘रेबिजबारे जनचेतना फैलाऔँ, अमूल्य जीवन बचाऔँ’ भन्ने मूल नारा राखी विश्व रेबिज दिवस असोज ६ देखि १२ सम्म सप्ताहव्यापी रूपमा मनाइँदै छ । रेबिज दिवसले सिकाउनुपर्ने पाठ दिवसका दिनहरूबाहेकमा पनि प्रवाह गर्न सकेको खण्डमा यस्ता दिवस मनाउनुको सार्थकता रहन्छ भन्ने कुरा सम्बन्धित हामी सबैले बुझ्नु जरुरी छ ।
तब मात्रै नाराहरूले सार्थकता पाउनेछन् ०३० सालसम्म रेबिजमा पूर्णविराम नै लगाउने हो भने तपाईं हाम्रो अभियानलाई हामीले वेलैमा ध्यान दिऔँ र सबै वेलैमा सचेत बनौँ र बनाऔँ ।
रेबिजबारे यी कुरा जानी राखौँ :
रोगको कारक तत्व :
रेबिज रोगको मुख्य कारक तत्व भनेको रेब्डो परिवारभित्रको लाइसा प्रजातिको एउटा विषाणुको कारणले लाग्ने गर्दछ । पाँच थरिका प्रोटिन र लिपोप्रोटिनयुक्त यो विषाणुलाई घाम, साबुन÷डिटरजेन्ट र आयोडिनले नष्ट गर्छ ।
रोग सर्ने तरिका :
यो रोग विशेषगरी बौलाहाएको पशुले टोकेपछि सो पशुको र्यालमा भएको विषाणुको संक्रमणबाट सर्ने गर्दछ । कुकुर, ब्वाँसो, स्याल, न्याउरी मुसा र चमेरो आदि यो रोगको प्रमुख स्रोत र संवाहक हुन् । अस्ट्रेलिया तथा दक्षिण अमेरिकी देशहरूमा चमेरोको टोकाइबाट पनि यो रोग सर्ने गरेको पाइन्छ ।
यस रोगको विषाणुले स्नायु प्रणालीका कोष र खासगरी स्नायु तथा मस्तिष्कमा असर गर्दछ । त्यस्ता रोग लागेका जनावरले टोकिसकेपछि विषाणुहरू स्नायु प्रणालीको माध्यमबाट गिदीमा पुग्दछन् र त्यहाँ तिनीहरूको संख्यामा तीव्र वृद्धि हुन्छ । त्यसपछि त्यस्ता विषाणुहरू स्नायु प्रणालीको कोषको माध्ययमबाट शरीरको विभिन्न भाग हुँदै फैलन्छन् र पछि र्यालमा देखापर्दछ ।
रेबिज रोग लागेर लक्षण देखाएको दिनदेखि १० दिनदेखि १४ दिनभित्र उक्त जनावरको मृत्यु हुन्छ । यो रोग लाग्नमा विषाणुको मात्रा, घाउको गहिराई र टोकेको अंगमा भर पर्छ । टाउको नजिक वा गहिरो घाउ भएमा रोगको लक्षण छिटो देखापर्छ । शरीरको अरू कुनै भागमा टोकेको खण्डमा दुई हप्तादेखि एक वर्षसम्म रोगको लक्षण देखापर्न सक्छ ।
कुनै बौलाहा कुकुरले कसैको घाँटीभन्दा माथिको भागमा टोकेको छ भने एक हप्तादेखि चार हप्ताभित्रमा रेबिज रोगको लक्षण देखिने हुन्छ । यस्तै, शरीरको अन्य भागमा टोकेको खण्डमा एक महिनादेखि एक वर्षभित्रमा रोगको लक्षण देखिन सक्छ । कुनै अपवादहरूमा दुई वर्षको अवधिमा समेत यस्तो देखिँदै आएको छ । तर, उम्लिएको दूध र बेस्सरी पाकेको मासुबाट यो रोग सर्देन ।
रोगको लक्षण :
रेबिज लागेपछि प्रायः सबै जनावरहरूमा एउटै थरिका लक्षणहरू देखापर्छन् । तर, कुकुर, भैँसी, गाईगोरु, चमेरो र मानिसहरूमा यसको लक्षण केही फरक हुन्छ । कुकुर र अन्य जनावरलाई पानीबाट केही थाहा हुन्न भने मानिसलाई मात्र यो रोग लागिसकेपछि पानीबाट डराउने समस्या देखापर्छ । बिरालोको नंग्रा फिजाँरिएको देखिएमा पनि यो रोगको लक्षण हो भन्ने शंका गर्न सकिन्छ । जस्तै : कुकुरमा उत्तेजक व्यवहार देखिन्छ ।
यसवेलामा कुकुर अत्यधिक आक्रमक हुने, आफ्ना वरपरका वस्तुहरू टोक्ने, जोडले चपाएको जस्तो देखिने एकै तवरले भुकीरहने, स्वरमा एकाएक परिवर्तन हुने, पुच्छर खुट्टामुनि लुकाएर हिँड्ने जिब्रोबाहिर निकालेर र्याल बगाइरहने, च्यापुमा प्यारलाइसिस हुने र एकोहोरो स्वाभावमा जे भेट्यो त्यही टोक्दै हिँड्ने, लाटो अवस्थामा भने कुकुर लाटो हुने, आवाज नै निकाल्न नसक्ने, एउटा कुनो शान्त ठाउँमा बस्ने, खाना खान पनि छोड्छ, र्यालहरू मुखबाट लगातार रूपमा बगाइरहने हुन्छ ।
यदि, यस्ता लक्षण देखाएको कुकुर छ भने लक्षण देखिएको चार दिनदेखि पाँच दिनको बीचमा मर्छ । गाईभैँसी र अन्य जनावरहरूमा यो रोग लागिसकेपछि बिस्तारै घाँस र दानापानी खान बन्द हुने, छटपटाउने, विनाकारण हिँडिरहने कराउने, उफ्रने, आँखा ठुल्ठूला पारी कान ठाडो पारेर हेर्ने, र सिङले हिर्काउन खोज्नेजस्ता लक्षणहरू देखिन्छन् ।
बिस्तारै घाँटीको आवाज निस्कने एक भाग पक्षपात भई आवाज पनि भिन्न निस्कने, भुइँमै लड्ने, मुखबाट प्रशस्त्र मात्रामा र्याल निस्कने र पक्षघात हुनेजस्तो देखिन्छ । मानिसमा रेबिज रोगका प्रमुख लक्षणहरूमा सुरुमा सुस्त हुने, ज्वरो आउने, टाउको दुख्ने, रिंगटा लाग्ने, पानी निल्न गाह्रो हुने पर्दछ ।
पानी, हावा र उज्यालोबाट तर्सने, छिनछिनमा मुर्छित हुने, र्याल आउने, खाना निल्न नसक्ने पक्षघात हुने, र अन्तमा रोग लागेको ४ दिनदेखि १० दिनभित्र सास फेर्न बन्द भई बिरामीको मृत्यु हुन्छ ।
रेबिज नै हो भन्ने कसरी थाहा पाउने ?
यदि, यो रोग लागेको पशुमा रोग निदान गर्दा लक्षणले मात्रै पनि अपुग हुन्छ । त्यसैले, सही थाहा पाउनु छ भने प्रयोगशालामा गई परीक्षण गर्नुपर्ने हुन्छ । जस्तै : र्यापिड टेस्ट, फ्लोरेसेन्ट एन्टिबडी टेस्ट, माउस इनोकुलेसन टेस्टबाट यो रोग निदान गर्न सकिन्छ ।
उपचार
यदि, रोगीलाई वा शंकास्पद जनावरले टोक्नासाथ टोकेको घाउमा उपचार, खोप र आवश्यकताअनुसार भ्याक्सिनहरूको प्रयोग गर्नुपर्छ । जस्तै : बौलाहा कुकुरले वा शंकास्पद जनावरले टोकेको स्थानमा तुरुन्तै साबुन पानीले १५ मिनेटसम्म राम्रोसँग धुनुपर्छ र त्यसपछि टिन्चर आयोडिन, पोभिडिन वा अन्य कुनै एन्टिसेप्टिक औषधी लगाउनुपर्छ अनि टिटानसको सुई पनि लगाउनुपर्छ आफूलाई टोकेको कुकुरको पहिचान गर्नुहोस् र निगरानीमा राख्नुहोस् । अन्यथा यसको उपचार छैन ।
खोप लगाउने विधि :
यो रोग लागेको जनावरले टोकेको, लसपस मात्र भएको शंकास्पद अवस्थामा, पहिलो दिन, तेस्रो दिन, सातौँ दिन र २८औँ दिनमा एक÷एक मात्राको दरले मासुमा टिस्युकल्चर रेबिज खोप दिनुपर्छ । यसरी खोप दिँदा ठूलो जनावरमा एक भाएल घाँटीको मासुमा र एक भाएल पुठ्ठाको मासुमा दिनुपर्छ भने सानो जनावरमा एक भाएल मात्र दिए पुग्छ ।
रोकथामका लागि कुकुरहरूमा खोप लगाउँदा तीन महिना उमेर पूरा भएपछि पहिलो मात्रा, चार महिनाको उमेरमा दोस्रो मात्रा र त्यसपछि वर्षैपिच्छे दोहोर्याउनुपर्छ । पशुका लागि प्रयोग हुने खोपको पोटेन्सी एक आइयुप्रति डोज र मानवका लागि प्रयोग हुने खोपको पोटेन्सी २ दशमलव ५ आइयुप्रति डोज लगाउनुपर्छ ।
यदि, यो रोग लागेको पशुले स्वस्थ मानिसको टाउको वा माथिल्लो भागमा रगत आउनेगरी टोकेको हो भने खोपसँगै हाइपरइम्युनी सिरम पनि लगाउनुपर्ने आवश्यक हुन्छ । यदि, यो रोगको रोकथाम र नियन्त्रण गर्ने हो भने सम्पूर्ण कुकुरहरूमा सर्वप्रथम नियमित रूपले खोप लगाउन अति आवश्यक पर्छ ।
घरपालुवा तथा सामुदायिक कुकुरहरूलाई नगरपालिका, गाउँपालिका र वडाहरूबाट खोप लगाउने व्यवस्था अनिवार्य गर्नुपर्छ । साथै, कुकुरहरूको संख्यामा कम गर्न बन्ध्याकरण (शल्यक्रिया) गरी प्रजनन गर्न नसक्ने बनाउनुपर्छ । सबैले यो रोगको महत्वबारेमा सूचित गर्न रेडियो, टेलिभिजन तथा पत्रपत्रिकाको माध्यमबाट जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ ।
यो रोगबारे हामीले जानेको कुरा एकबाट अर्काेमा जानकारी गराउन सकियो भने पनि केही मात्रामा बिस्तारै यो रोगको रोकथाम र नियन्त्रण हुँदै जान्छ ।
खोप प्रयोग गर्ने तालिका :
कुकुर बिरालोमा खोप प्रयोग गर्ने तालिका
पहिलो मात्रा ३ महिनामा
दोस्रो मात्रा ४ महिनामा
बुस्टर प्रत्येक वर्ष र तीन महिनाभन्दा कम उमेरका कुकुर बिरालोमा यो खोप प्रयोग गर्नु हुँदैन । पूर्ण स्वस्थ जनावरमा मात्रै यो खोप प्रयोग गर्नुपर्ने हुन्छ । साथै, खोप लगाउनुअघि र लक्षण देखिएको खण्डमा तुरुन्तै चिकित्सक कहाँ जानुपर्छ । साथै, प्रभावकारी खोप कार्यक्रम, भुस्याहा कुकुरको नियन्त्रण तथा जनचेतनाका महत्वपूर्ण उपायहरू हुन् । (लेखक ओभिओटी काभ्रे जिल्लाका सचिव पनि हुन् ।)
प्रतिक्रिया