पुराना पुस्ताले गरेका अविष्कार नयाँ पुस्ताले बिर्संदै

जिल्लामा परापूर्वकालदेखि चलिआएका मौलिक संस्कृति हराएका छन् । बदलिँदो परिवेशसँगै हाम्रा पुर्खाले आर्जेका ज्ञानहरू हराइसकेका छन् । हिजो जुन रूपमा एउटा चक्रसरी ज्ञान, सीप र अभ्यासहरू सर्दै आइरहेका थिए । यो क्रम निरन्तर आधुनिकताका नाममा नास हुँदै छ ।

हाम्रा पुर्खाले पहिलेदेखि प्रयोग गर्दै सिक्दै आएका ज्ञानहरू उचित संरक्षण र अभिलेखीकरणको अभावमा आज हामीहरूबाट गुम्ने स्थितिमा छन् । नेपाल त्यसै पनि कला र संस्कृतिको धनी देश भनेर चिनिन्छ । तर, वर्तमान समयमा यस्ता हाम्रा मौलिक संस्कृति हराउँदै गएका छन् ।

आधुनिक प्रविधितर्फको बढ्दो आकर्षण र सुविधाभोगी प्रवृत्तिका कारण संखुवासभामा रैथाने प्रविधि लोप हुँदै गएको छ ।परम्परागत रूपमा प्रयोग गरिँदै आएका घरेलु मेसिनहरू हराउँदै गएका हुन् । करिब दुई दशक अगाडिसम्म निकै चलनचल्तीमा रहेका यी घरेलु मेसिनको प्रयोग विस्तारै घट्दै गएपछि लोप हुन थालेका हुन् ।

विभिन्न आधुनिक घरेलु मेसिनको प्रयोगपछि संखुवासभामा यी घरेलु मेसिन विस्थापनमा परेका छन् । परापूर्वकालका मेसिन तथा औजारहरू एउटा मात्रै नभएर प्रायः सबै विस्थापित भइसकेका छन् । नेपाली समुदायमा यसका उदारहण प्रशस्तै छन् ।

तुलो : विशेषतः नेपाली समाजको ग्रामीण समुदायमा मासु जोख्नका लागि प्रयोग गरिने सामग्री हो । यो तुलो आजभोलि हराउँदै गएको छ । मासु तथा जोख्नयोग्य सामग्री तुलोबाट जोख्दा धार्नी, बिसौली, आठपोल आदिमा जोखेर हिसाब निकाल्ने गरिन्थ्यो ।

तर, आजभोलि आधुनिक सामग्रीका कारण यसको प्रयोग हुन छाडेको छ । तुलो प्रयोग त हुँदैन नै तर देख्नधरी पाइँदैन । तुलोजस्तै अर्को सामग्री गण्डा पनि हो । यो जिल्लाको भोटखोला क्षेत्रमा प्रयोग गरिन्थ्यो । तर, आजभोलि देख्न पाइँदैन ।

 

झुलो चकमक :

यो आगो निकाल्न (बाल्न) का लागि प्रयोग गरिने सामग्री हो । जसमा, दर्सिङ ढुंगा, फलामको टुक्रा, र केराको झुस प्रयोग गरिन्छ ।

दर्सिङ ढुंगा र फलामको टुक्रालाई घर्षण गराएर केराको झुस तथा नेपाली कागजमा आगो बालिन्छ । अहिले यो पनि हराउँदै गएको छ ।

आधुनिक सामग्रीहरू सलाई, लाइटर, ग्यास लगायतका सामग्रीले गर्दा यसको प्रयोग हुन छाडेको हो । झुलो र दर्सिङ ढुंगालाई पानीले भिज्नबाट बचाउन ‘खिसा’ मा राखिन्थ्यो । खिसा छालाबाट बनाइएको हुन्छ ।

घुम : परम्परागत रूपमा घरमा बाँसका चोया र रूख वा लहराका पातले बनाइएको पानी पर्दा ओड्ने साधनलाई ‘घुम’ भनिन्छ । यसको प्रयोग खेत जोत्ने बेला र धानको बेर्ना उखेल्ने बेलामा अथवा पानीले भिज्नबाट बँच्नको लागि प्रयोग गरिन्छ । यो विशेषगरी बाँसको चोया र विभिन्न प्रकारका लहरा वा रूखका पातहरूलाई बुनेर बनाइएको हुन्छ ।

हाल जिल्लामा यसको प्रयोग पनि कमै मात्रामा देख्न पाइन्छ । आफ्नै कला र सीपबाट बन्ने यस्ता सामग्रीको संरक्षणमा कसैले ध्यान दिइएको पाइएको छैन निगालो तथा बाँसबाट बनेका सामग्री स्वास्थ्यका दृष्टिकोणले पनि राम्रो मानिन्छन् । तर, पछिल्लो समय प्लास्टिकका सामग्रीको प्रयोगले यस्ता सामग्री लोप हुने अवस्थामा पुगेका छन् ।

डेली :

डेलीलाई गोठको दराज भन्दा पनि फरक पर्दैन । डेली भन्नाले बाँसका चोया, बेत आदिद्वारा बनेको पेटारो भन्ने बुझिन्छ । पहिले–पहिले अउलबाट लेक तथा लेकबाट अउल गोठ लैजाँदा तथा सार्दा गोठमा आवश्यक सम्पूर्ण सामग्री यही डेलीमा बोकेर लगिने गरिन्थ्यो ।

अझ रमाइलो कुरा त यो भाडोमा गोठमा आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू एकै ठाउँमा अटाउँथ्यो । तर, आधुनिकतासँगै डेली पनि आजभोलि लोप भएको छ ।

भुने :

यो चोयाबाट बनाइएको एक प्रकारको भाँडो हो । बाँस, मालिंगो आदिका चोयाले बुनेको लेकतिरबाट मही ओसार्र्ने भाँडो हो भुने ।

यो हस्तनिर्मित सामग्री हो । यो बनाउन सीप पनि थोरैले नपुग्ने, जबकि बाँसको चोयाबाट तरल पदार्थ नछिर्ने गरी खिपेर बनाइन्थ्यो ।

तर, यो त पछिल्लो पुस्तालाई इतिहास मात्रै बनेको छ । कतै देखिहाले रमिते मात्रै बनेको छ ।

 

धिरी : यो एक प्रकारको पानी बोक्ने बाँसको भाँडो हो । परापूर्वकालमा पानी बोक्नका लागि यसलाई प्रयोग गरिन्थ्यो । कुनै एउटा ठूलो बाँसका आँखा खोलेर खिपेर बनाएपछि पानी बोक्ने काममा प्रयोग गरिने धिरी वर्तमान पुस्ताले प्रयोग गर्नु त परै जाओस् नाम सुन्दै अनौठो मान्छन् ।

खलाती :

यो आरनमा आगो फुक्न हावा दिने छालाको थैलो हो । खलाती विशेष गरी विश्वकर्मा समुदायले फलामका सामग्री पगाल्न तथा काँचो फलामबाट विभिन्न आकृति निर्माण गर्नका लागि आगो फुक्न यसको प्रयोग गर्ने गरेको पाइन्छ ।

आधुनिक प्रकारका मेसिनको प्रयोगका कारण आजकल यो इतिहास मात्रै बन्न पुगेको छ । यसको संरक्षणमा न त सम्बन्धित समुदायले चासो दिएका छन् न त अन्य सरोकारवाला निकायले नै ।

आजकल खलातीको सट्टा अन्य आधुनिक मेसिन प्रयोग गर्न थालिएको छ ।

कोल, ढिकी, जातो
उखु पेलेर खुदो निकाल्ने, अमिलो पेलेर चुक बनाउने र तोरीबाट तेल निकाल्न प्रयोग गरिने परम्परागत घरेलु मेसिन ‘कोल’ गाउँमा नदेखिएको वर्षौं भइसकेको छ । अघिल्लो पुस्ता सम्ममा उखु, अमिलो र तोरी पेल्न गाउँमा निर्विकल्प घरेलु मेसिनका रूपमा रहेको कोल अहिले आएर संखुवासभाका सुगमका साथै ग्रामीण क्षेत्रबाट समेत विस्थापित भइसकेको छ।

त्यसैगरी धान कुट्न प्रयोग हुने ढिकी र ओखल पनि विरलै देख्न पाइन्छन् । गाउँमा जाँतो प्रयोगकर्ता कोही छैनन् । माथि उल्लिखित सामग्रीहरू नयाँ पुस्ताका लागि दन्त्यकथा भइसकेका छन् । नयाँ पुस्ता यस्ता नाम सुन्दै औठो मान्छन् । पुस्ताहरू नेपाली समाजका विभिन्न मेसिनहरू हराउँदै गएका छन् ।

आधुनिक प्रविधिको विकास हुनुअघि यस क्षेत्रमा दैनिक जीवनयापनका लागि अति आवश्यक एवं निर्विकल्प परम्परागत साधन तेल पेल्ने कोल, उखु पेल्ने कोल, ढिकी, जाँतो, ओखल र पानीघट्ट लोप हुँदै गइरहेका छन् ।

यस्ता सामग्रीका जानकार साहित्यकार ताराबहादुर बुढाथोकीका अनुसार आधा रातदेखि ढिकीच्याउँ ढिकीच्याउँ र घुइँघुइँ गर्ने ढिकीजाँता लोप हुँदै गएका छन् । ‘बुढापाकाहरूले प्रयोग गर्दै आएका मौलिक हाते औजार ढिकी, जाँतो र कोलसमेत नयाँ पुस्ताका लागि इतिहास मात्र रहने भयो,’ साहित्यकार बुढाथोकीले भने ।

अहिले आधुनिक बाजागाजाले स्थान पाएपछि मौलिक संस्कृति लोकबाजाहरू पनि हराउँदै गएका छन् बुढाथोकीले थपे । यस जिल्लाका बासिन्दाको परम्परागत सभ्यता र मौलिक संस्कृतिको प्रतीक घरेलु मेसिन लोप हुँदै गएपछि मौलिक संस्कृतिसमेत प्रभावित भएको स्थानीय प्रेम कार्की बताउँछन् ।

घरेलु मेसिन लगायतका परम्परागत साधन पनि लोप हुँदै गएपछि यस क्षेत्रको मौलिक सभ्यता नै संकटमा परेको कार्कीले बताए । ‘संखुवासभाका घरेलु मेसिनहरू हराइसके,’ कार्कीले भने, ‘हामी को हौँ ?

हाम्रो सभ्यता के हो भन्ने कुराको बोध गराउने यी चिजहरू नै हराएपछि हाम्रो मौलिक संस्कृति र सभ्यता पनि संकटमा परेको छ ।

स्थानीय स्रोतसाधन एवं स्थानीय सीपबाटै निर्माण गरिने घरेलु मेसिनबाट यस क्षेत्रको परम्परागत जनजीवन, कला र सामाजिक अवस्थाका विषयमा समेत अध्ययन गर्न सकिन्छ ।

‘जीवनयापनको क्रममा पुर्खाले प्रयोगमा ल्याएका घरेलु उपकरण विशुद्ध हाम्रा पुर्खाको आविष्कार हो ।’

स्थानीय मौलिक संस्कृतिका विषयमा रुचि राख्ने अग्रज पत्रकार जीवनाथ खनालले भने, मौलिक घरेलु उपकरणको अध्ययनबाट पुर्वजहरूको आर्थिक, सामाजिक एवं धार्मिक अवस्थाका साथै प्रचलित जीवनशैलीको परिचयसमेत बोध गर्न सकिन्छ ।

‘घरेलु उपकरण पूरै लोप भएपछि भावी पुस्ताका लागि यस क्षेत्रको मानव सभ्यता र संस्कृतिका विषयमा अध्ययन गर्ने आधार रहनेछैन,’ खनालले भने, ‘पाश्चात्य जीवनशैलीलाई आधुनिकीकरणको मूलभूत आधार मान्ने मनोविज्ञान सघन र व्यापक रूपमा झाँगिनु हाम्रो मौलिक जीवनशैलीको विनाश निम्त्याउनु हो ।

दैनिक प्रयोगका विभिन्न आधुनिक मेसिन भित्रिए पनि यस क्षेत्रका घरेलु मेसिनको आफ्नै खाले विशेषता रहेको स्थानीय बासिन्दा बताउँछन् । ‘घरेलु मेसिनको प्रयोगबाट लाभदायक एवं गुणस्तरीय वस्तुको उत्पादन गर्न मिल्छ,’ स्थानीय भोला गौलीले भने, ‘घरेलु मेसिनको तुलनामा आधुनिक मेसिनको प्रयोग महँगो एवं खर्चिलो छ ।’

लोप हुँदै गइरहेका यी मेसिनको संरक्षण र प्रवद्र्धन गरी यिनीहरूको प्रयोगलाई बढावा दिइनुपर्ने कुरामा गौलीको जोड रहेको छ । प्रायः सामूहिक रूपमा प्रयोग गरिने घरेलु उपकरणको विशेषता सामाजिक सद्भावमा अभिवृद्धि गर्नु पनि रहेको जानकारहरूको तर्क छ ।

सामूहिक प्रयोगका माध्यमबाट घरेलु उपकरण आपसी सम्बन्धमा निकटता ल्याई सामाजिक सहयोग एवं सद्भावना र भाइचारामा अभिवृद्धि गर्ने उनीहरूको भनाइ छ । परम्परागत ज्ञानको उपयोगकै आधारशिलामा वर्तमान विश्वले यो छलाङ मारेको हो । सोही कारण पनि यो ज्ञान तथा सीपलाई संरक्षण गर्नुपर्ने आवश्यकता छ ।

परम्परागत ज्ञानको अभिलेखीकरण हुनु अहिलेको समयमा अति महत्व भइसकेको छ । समुदायमा रहेको परम्परागत ज्ञानको संरक्षणको महत्व दिनानुदिन बढिरहेको अवस्थामा राज्यले उचित नीति निर्माण गर्दै कार्यान्वयनतर्फ जानुपर्ने देखिन्छ । राज्यले परम्परागत ज्ञान संरक्षणको वातावरण तयार पारी सम्पूर्ण समुदायहरूले साथ दिनु पर्दछ ।

परम्परागत ज्ञानको फाइदा लिनका लागि र आफ्नो सीप तथा ज्ञान सुरक्षित राख्न समुदाय सजक हुन जरुरी छ । परम्परागत ज्ञान लोप भएमा समुदायले मात्र हानि व्यहोर्ने नभएर देशले नै क्षति व्यहोर्छ । हाम्रा छरपष्ट रहेका परम्परागत तौरतरिका, सीप, कला, सिर्जना, र प्रविधिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो र आजको आवश्यकता पनि हो ।

यस क्षेत्रको परम्परागत सभ्यता, मौलिक कला र संस्कृतिको समेत अध्ययन गर्न सकिने घरेलु उपकरणको संरक्षणलाई सबै क्षेत्रबाट प्राथमिकता दिइनु उपयुक्त नहोला र ? संरक्षणका लागि परम्परागत मेसिनको नमुना संग्रहालय स्थापनाका लागि पो सोच्ने कि ? सरोकारवालाहरूको ध्यान जान आवश्यक देखिन्छ ।

प्रतिक्रिया