दसैँमा यात्रु नठगिऊन्

दसैँ मान्न राजधानी काठमाडौंबाट आफ्नो थातथलो जानेहरूका लागि ९ असोजदेखि बसको अग्रिम टिकट बुकिङ खुला गरिएको छ । गोंगबुस्थित नयाँ बसपार्कलगायत राजधानीका विभिन्न ठाउँमा टिकट बुकिङ काउन्टरहरू खुलेका छन् । मंगलबार बिहानैदेखि गोंगबु बसपार्कमा टिकट बुकिङ गर्न जानेहरूको ठूलो भिड लागेको छ । यसवर्ष अग्रिम टिकट बुकिङ केही ढिला खुला गरिएका कारण ठूलो भिड लागेको हो । विगतका वर्षहरूमा दसैँ आउनुभन्दा एक महिना पहिलेदेखि नै अग्रिम बुकङि खुला गरिन्थ्यो, तर पनि दसैँमा यात्रुहरूलाई घर जान समस्या परेको गुनासो आइरहन्थ्यो । तर, यसपटक भने विभिन्न सर्त राखी यातायात व्यवसायीहरूले सरकारसँग बार्गेनिङ गर्दै अग्रिम बुकिङ खुला गरेनन् । सरकारले पनि व्यवसायीहरूसँग समयमै वार्ता गरेन । ३१ भदौमा मात्रै यातायात व्यवस्था विभाग र व्यवसायीबीच ५ असोजदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति भयो । तर, ४ गते व्यवसायीहरूले भाडा नबढाएसम्म अग्रिम टिकट बुकिङ खुला नगर्ने भन्दै अत्तो थापे । दसैँको मुखमा वैकल्पिक व्यवस्था गर्ने समय सरकारसँग रहेन । यही बेला पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएका कारण व्यवसायीहरूको सर्तका अगाडि सरकार घुँडा टेक्न बाध्य भयो । १० प्रतिशत भाडा वृद्धि गर्ने सरकारको निर्णयपछि मात्रै अग्रिम टिकट बुकिङ सुरु भएको हो ।
दसै“को मुखमा पेट्रोलियम पदार्थको भाडा बढाउनु र अग्रिम बुकिङ खुला गर्ने पहल समयमै नगर्नु सरकारको ठूलो कमजोरी हो । जे हुनु अब भइसकेको छ । यो गल्तीबाट पाठ सिक्दै सरकारले दसैँका यात्रुलाई पर्ने समस्याप्रति समयमै ध्यान दिनुपर्छ । दसैँमा घर जाने यात्रुमाथि पर्ने समस्या स्थायी प्रकृतिका छन् । अर्थात् हरेक वर्ष ती समस्या दोहोरिइरहेका छन् । पहिलो समस्या हो ब्ल्याकमा टिकट बिक्री हुनु । टिकट काउन्टरको लाइनमा यातायात मजदुरहरूको कृत्रिम लाइन लगाइदिने र सर्वसाधरणले दुई घण्टा लाइनमा बस्दा पनि टिकट किन्न नसक्ने समस्या हरेक वर्ष दोहोरिइरहेको छ । एउटै सिटको टिकट दुई÷तीन जनालाई बिक्री गरिदिने र यात्रुलाई मुढामा बसेर यात्रा गर्न बाध्य बनाइने समस्या पनि दोहोरिइरहेको छ । यात्रुका एक सय केजीभन्दा कम तौलका लगेजहरूको पनि छुट्टै भाडा असुल्ने प्रचलन पनि पुरानै हो । यस्ता विकृतितर्फ सरकारले ध्यान दिनु जरुरी छ । यसैगरी, राजमार्गमा खाना तथा खाना खानेक्रममा पनि यात्रुहरू ठगिने गरेका छन् । दसैँमा यात्रुको चाप एक्कासि बढ्ने मौका छोपेर राजमार्गका होटलहरूले बासी तथा गुणस्तरहीन खाना खुवाउने गरेका छन् । जसका कारण दसैँ मान्न घर पुगेका कतिपय यात्रुहरूलाई पखला लाग्ने गरेको छ । राजमार्गका होटलमा पनि सरकारले निगरानी राख्नु जरुरी छ ।
दसैँ मान्न काठमाडौंबाट घर जाने यात्रुले खेप्नुपर्ने मुख्य समस्या भनेको ट्राफिक जाम हो । खासगरी पञ्चमीदेखि महाअष्टमीको दिनसम्म ट्राफिक जामका कारण नयाँ बसपार्कदेखि नागढुंगा हुँदै नौबीसेसम्म पुग्न ९–१० घण्टा लाग्ने लाग्ने गर्दछ । बिहान ७ बजे नयाँ बसपार्कबाट छुटेको गाडी १२ बजे मात्रै कलंकी पुग्ने गरेको कन्तविजोग यसअघि देखिएकै हो । यसपटक कलंकी चोकमा अन्डरग्राउन्ड सडक बनेका कारण विगतको समस्या नदोहोरिएला कि भन्ने अनुमान सरकारले गरेको होला, तर कलंकी चोकदेखि नागढुंगासम्मको सडकको दूरावस्थाबारे सरकारले ध्यान दिनु जरुरी छ । सडक राम्रो भएको भए त्यो ९ किलोमिटर दुरी १० मिनेटमा पार हुन्थ्यो, तर कच्ची सडकका कारण एक घण्टा लाग्ने गरेको छ । अधिकांश बसहरू त्यही खण्डमा फस्ने अवस्था छ । दसैँका बेला करिब ३० लाख यात्रु राजधानी बाहिरने आँकडा छ । त्यसमध्ये ९० प्रतिशत बाहिरिने भनेको पञ्चमीदेखि महाअष्टमी सम्मका ४ दिन हो । त्यसैले कलंकी नागढुंगा सडकखण्डलाई अस्थायी रूपमै भए पनि सम्याउनु जरुरी छ । सडकको क्षमताभन्दा बढी सवारी साधनको चाप हुने र छिटो गन्तव्यमा पुगेर अर्को खेप ओसार्ने ध्याउन्न चालकहरूमा हुने भएका कारण दसैँका वेला सडक दुर्घटना पनि बढ्ने गरेको छ । यसैले राजमार्गका विभिन्न ठाउ“मा सुरक्षा तथा तथा स्वास्थ्य सेवाका अस्थायी क्याम्पहरू पनि राख्नु जरुरी छ ।

प्रतिक्रिया