मत-विमत

किन गरिन्छ श्राद्ध ?

विश्वनाथ खरेल २०७५ असोज ८ गते ११:३९ मा प्रकाशित

श्राद्ध भनेको के हो ? यो किन गरिन्छ ? श्राद्ध कहिले र कसरी गर्नुपर्छ ? यी कुराहरूमा विस्तृत रूपमा अध्ययन गर्न नसके पनि सामान्य जानकारी लिई व्यावहारिक रूपमा आफ्नो जीवनमा उतार्ने प्रयास गर्नु अति जरुरी हुन्छ । श्राद्ध भन्नाले सामान्य अर्थमा बुझ्दा आआफ्नो गच्छेअनुसार श्राद्धका साथ गरिने कार्य भन्ने बुझिन्छ ।

चान्द्रमानको पात्रोअनुसार एक वर्षमा २४ पक्ष रहेका हुन्छन् । यिनै २४ पक्षमध्ये आश्विन कृष्ण पक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्र श्राद्ध भनिन्छ । एक पक्षमा पन्ध्र तिथि हुने भए पनि भाद्र शुक्ल पूर्णिमादेखि आश्विन औँशीसम्मका वा जमरे औँशीसम्म सोह्र तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई सोह्र श्राद्ध भनिएको हो । यसलाई पार्वण श्राद्ध पनि भनिन्छ ।

आश्विन कृष्ण पक्षमा गर्नुपर्ने श्राद्धको महिमा श्रीमद्भागवत, महाभारत आदि पौराणिक ग्रन्थमा समेत बताइएको छ । यस श्राद्धमा चारजना ब्राह्मण चाहिने भएकाले ब्राह्मणको प्रतीक स्वरूप कुशको ब्राह्मण थापिएको हो । पहिलेपहिले पार्वण श्राद्ध गर्दा चारजना नै ब्राह्मण अगाडि राखेर पूजाआजा गर्ने परम्परा रहेको र यो परम्परा लोप हुँदै गएर श्राद्धमण्डपमा कुशको ब्राह्मण राखिएको हो ।

दुवैपट्टि दुई÷दुई ब्राह्मणलाई क्रमशः विश्रदेव र पितृ ब्राह्मण भनिन्छ । पार्वण श्राद्ध अन्य श्राद्धको विधिजस्तै सुरुमा देव मनुष्य दिव्यपितृ र स्वपितृलाई तर्पण दिइएपछि पार्वण श्राद्ध सुरु हुन्छ । यसपछि प्रत्येक ब्राह्मणलाई निमन्त्रणा गरिन्छ । पहिलेपहिले अघिल्लै दिनमा गरिन्थ्यो । ब्राह्मण निमन्त्रणापछि भूस्वामीलाई अन्नदान गरिसकेपछि चारैजना ब्राह्मणलाई विधिपूर्वक सिधादान गरिन्छ ।

यसपछि विकटदान गरी पिण्ड दानका लागि वेदी बनाएर पूजा गरिन्छ । प्रत्येक पितृलाई पिण्ड दिनुअघि पिण्डासन दिई पितृको नाम लिएर विधिपूर्वक पिण्डदान गरिन्छ । श्राद्धका लागि स्थान हेर्ने हो भने पार्वण श्राद्ध आफ्नै घरमा बसेर वा आफ्नो नभए पवित्र तीर्थस्थल, गंगाको तिरमा गएर पनि गर्ने चलन छ तर घरमै भए पनि श्राद्ध गर्दा भूमिमै गर्नुपर्ने नियम छ।

श्राद्धको समयको कुरा गर्ने हो भने पार्वण श्राद्ध खासगरीकन अपराह्नमा गर्नुपर्ने शास्त्रमा उल्लेखित छ । श्राद्ध भनेको के हो ? यो किन गरिन्छ ? श्राद्ध कहिले र कसरी गर्नुपर्छ ? यी कुराहरूमा विस्तृत रूपमा अध्ययन गर्न नसके पनि सामान्य जानकारी लिई व्यावहारिक रूपमा आफ्नो जीवनमा उतार्ने प्रयास गर्नु अति जरुरी हुन्छ ।

श्राद्ध भन्नाले सामान्य अर्थमा बुझ्दा आआफ्नो गच्छेअनुसार श्राद्धका साथ गरिने कार्य भन्ने बुझिन्छ । यसमा यति नै गर्नुपर्छ भन्ने हुँदैन । ‘श्रद्धया क्रियतेयत्र त च्छाद्धं परिकीर्तितम्’ अर्थात् पितृका लागि जो कार्य गरिन्छ, त्यसलाई नै श्राद्ध भनिन्छ । ‘देशे काले च पात्रे च श्रद्धया विधिना च यत् ।

पितृनुद्दिश्य पिप्रेभ्यो दत्तं श्राद्धमुहाह्तमे’ देशकाल पात्रमा श्रद्धाले विधिपूर्वक पितृहरूको नामोच्चारण गरी ब्राह्मणहरूलाई जो दान दिइन्छ त्यो दानलाई श्राद्ध भनिन्छ । यसबारे के प्रष्ट हुन्छ भने पितृहरूको सम्मानका उद्देश्यले गरिने कार्य श्राद्ध हो । श्रद्धापूर्वक गरिएको पितृ कार्यले पितृ तथा कर्ताको कल्याण हुन्छ । श्राद्ध कर्मको विशेषता भनेको शुद्ध मन्त्र उच्चारणसहित श्राद्ध गर्नु हो ।

भनिएको पनि छ, ‘पितरो वाक्य मिच्छरिन्त भाव मिच्छन्ति देवता’ अर्थात् पितृहरूलाई शुद्ध मन्त्र शुद्ध वाक्य चाहिन्छ भने देवताहरूलाई भाव भए पुग्छ । श्राद्धकल्पका अनुसार पनि प्रेत र पितृलाई आफूलाई मनपर्ने वस्तु श्रद्धाले दिनु नै श्राद्ध हो । यस प्रकार आफ्ना पितृहरूको मृत तिथिमा गरिने पितृ यज्ञलाई श्राद्ध भनिन्छ । हाम्रो धार्मिक शास्त्रमा श्रद्धा धेरै किसिमका छन् ।

भविष्य पुराणमा श्राद्ध १२ वटा उल्लेखित गरिएको छ । जुन यस प्रकार छ । यसमा दिनदिनै गरिने पहिलो नित्य श्राद्ध हो । त्यस्तैगरी, दोस्रो वार्षिक एकोदिष्टदिनैमित्तिक श्राद्ध हो । तेस्रो आफ्नो इच्छा सिद्ध होस् भनि गरिने काम्य श्राद्ध हो । चौथो हो, विवाह आदि अभ्युदयमा गरिने वृद्धि श्राद्ध हो । पाँचाैँ सपिण्डि श्राद्ध हो । छैठौँ पार्वण श्राद्ध हो ।

सातौँ गोठमा गरिने गोष्ठी श्राद्ध हो । आठौँ पितृ तृप्ति विद्धान्हरूको सुख प्राप्ति र शुद्धिका निमित्त गरिने ब्राह्मण भोजन शुद्धि श्राद्ध हो । नवांैमा सिमान्तोनयन पुंसवन आदि संस्कारका निमित्त गरिने कमांग श्राद्ध हो । दसौँ देवताहरूको उद्देश्यले गरिने दैविक श्राद्ध ११ देशान्तरमा जाँदा घिउले गरिने यात्रा श्राद्ध हो ।

र बाह्राैँमा शरीर स्वस्थ होस् भनी गरिने पुष्टिश्राद्ध हो । त्यस्तैगरी, अर्को पाँच प्रकारको श्रद्धा रहेको छ । यो श्राद्ध भने आजकाल धेरै आएको देखिन्छ । यसमा प्रथम नित्य हो भने दोस्रो नैमितिक, तेस्रो काम्य, चौथो वृद्धि र पाँचाँै पार्वण श्रद्धा हो । यी सबैमध्ये हाम्रो समाजमा एकोदिष्ट श्राद्धको विशेष महत्व छ ।

आफ्ना पितृहरूको वार्षिक रूपमा मृत तिथिमा गरिने श्राद्धलाई एकोदिष्ट श्राद्ध भनिन्छ । त्यस्तैगरी, सालको एकपटक पार्वण श्राद्ध गरिन्छ यो खासगरीकन सोह्र श्राद्ध भन्नाले प्रत्येक पक्षमा गरिने श्राद्धलाई बुझ्नुपर्छ । शास्त्रमा यसलाई पार्वण श्राद्धको नामबाट बुझिन्छ । आफ्ना पितृहरूको जुन तिथि हो त्यही तिथिमा श्राद्ध गर्नुपर्छ ।

एक पार्वण श्राद्ध औँशी तिथिमा र आश्विन कृष्ण पक्षमा मृत्यु भएकाको तिथि श्राद्धलाई एक पार्वण श्राद्ध पनि भनिन्छ । हिन्दू समाजमा सोह्र श्राद्धको आफ्नै महत्व छ । श्राद्ध भनेको भक्तिभावपूर्ण पितृहरूको उदार गर्ने कार्य हो । हाम्रो समाजको सबैभन्दा ठूलो पर्व दसैँ तिहार हो यो पर्व मनाउनुभन्दा पहिले आआफ्नो पितृहरूलाई आदसाथ श्राद्धपूर्वक सम्झना गर्नाले सबैको कल्याण हुन्छ ।

यसकारणले गर्दा परापूर्वकालदेखि नै यो संस्कार चलिरहेको छ । यसरी पितृ पक्षमा आफ्नो बाबुको जुन तिथि हो, त्यही तिथिमा श्राद्ध गर्नुपर्छ । आफ्नो गच्छेअनुसार सकिन्छ भने सोह्र दिनसम्म गर्ने विधान छ तर सकिँदैन भने कम्तीमा पनि आफ्नो बुबाको तिथिका दिन अनिवार्य रूपमा श्राद्ध गर्नुपर्छ ।

श्राद्ध कसरी गर्ने सन्दर्भमा भने ‘श्राद्ध गर्ने अघिल्लो दिनमा कपाल खौरने लुगा तथा घरको सरसफाई गर्ने एक भक्त रही ब्रह्मचर्य आदिको नियमको पालना गर्ने यसै दिनलाई नै एक छाके अर्थात् हबिसे पनि भनिन्छ । एक छाकी भनेको यस दिन अपराह्नपछि मात्र एक छाक खानुपर्छ र श्राद्धका दिन अर्थात् भोलिका लागि ब्राह्मणलाई निमन्त्रणा दिने गर्नुपर्छ ।

दोस्रो दिन अर्थात् श्रद्धाका दिनमा शौच स्नान नित्यकर्मादि गरी ब्राह्मणलाई बोलाइ नियमअनुसार श्राद्ध आरम्भ गर्नुपर्छ र श्राद्धपछि ब्राह्मण, बन्धु, बान्धब, भान्जा, भान्जी र छोरी ज्वाइँलाई खाना ख्वाए पश्चात् दान दक्षिणा गर्ने गरिन्छ । यदि, यी सबै कुरा सम्भव हुने स्थिति नरहेमा तर्पण र सिधा दान मात्र गरे पनि हुन्छ ।

तर, तिथि बिर्सने र यो क्रम तोडिनु चाहिँ कदापि हुँदैन । यसर्थ, हाम्रो सनातन धर्म र संस्कृतिको जगेर्ना तथा संरक्षण गर्नु सबैको परम् कर्तव्य हो ।

प्रतिक्रिया